
सरकारले फेसबुक, ट्विटर (एक्स), युट्युबलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सो निर्णय गरेको हो ।
सरकारले आजदेखि नै ती सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिसकेको छ । मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्चको परमादेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि तत्काल प्रभावबाट २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार, दर्ता प्रक्रिया अगाडि बढाएमा ती सामाजिक सञ्जाललाई क्रमशः खोलिँदै लैजाने निर्णय भएको छ ।
यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटिटी) एप्सलगायत इन्टरनेट ब्राउजरमार्फत विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन र नियमनका लागि कानुन बनाउन सरकारलाई परमादेश जारी गरेको थियो ।
न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले बुधबार सरकारका नाममा परमादेश जारी गरेको थियो । सर्वोच्चले विदेशी प्रसारण संस्थाले नेपालमा प्रसारण गर्न अनुमतिपत्र लिनुपर्ने र आवश्यक कानुन निर्माण गर्न सरकारलाई निर्देशन दिएको हो ।
प्रसारण नियमावलीअनुसार कुनै विदेशी प्रसारण संस्था वा डिजिटल कार्यक्रम उत्पादकले आफ्नो मुलुकबाट प्रसारण गर्ने कार्यक्रम नेपालमा डाउनलिंक गरी प्रसारण गर्न चाहने व्यक्ति वा संस्थाले अनुमति लिनुपर्ने व्यवस्था छ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेकै वेला सर्वोच्चले परमादेश जारी गरेको हो ।