मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १२:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यभोटेकोशीले अर्काे साताबाट व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १२:o३:oo

१६ भदौबाट परीक्षण उत्पादन सुरु गरेको सिन्धुपाल्चोकको सबैभन्दा ठुलो जलविद्युत् आयोजना मध्यभोटेकोशी (१०२ मेगावाट)ले भदौ अन्तिमबाट व्यापारिक उत्पादन प्रारम्भ गर्ने भएको छ । मध्यभोटेकोशीले प्राकृतिक विपत्ति, स्थानीय अवरोध, राजनीतिक हस्तक्षेप र आयोजनाभित्रकै समस्यासँग जुधेर १४ वर्षपछि विद्युत् उत्पादन गर्न सफल भएको हो। सुरुमा सोमबार पहिलो टर्वाइन सञ्चालन गरिएको थियो । अहिले दुईवटा टर्वाइनबाट परीक्षण उत्पादन भइरहेको छ । शुक्रबारदेखि तीनवटै टर्वाइनका तीनवटै युनिटबाट परीक्षण उत्पादन हुँदै छन् । 

आयोजनाका कार्यकारी अधिकृत रामगोपाल सिवाकोटी भन्छन्, ‘धेरै अवरोध र समस्यासँग जुधेर विद्युत् उत्पादन सुरु गरेका छौँ । नेपाल विद्युत् प्राधिकरणले निरीक्षण गरेर अनुमति दिएपछि व्यापारिक रूपमा उत्पादन सुरु गर्छाैँ, भदौ अन्तिमसम्म हामीले सो कार्यको थालनी गर्छाैँ ।’ शुक्रबार नेपाल विद्युत् प्राधिकरणको विज्ञटोली पावरहाउसस्थल बाह्रबिसेको जम्बु पुग्दै छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्  आयोजना मुख्य प्रवर्द्धक रहेको मध्यभोटेकोशीको काम सन् २०१२ मा थालिएको थियो । १४ वर्षमा चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रोइलेक्ट्रिक ब्युरोले निर्माण सम्पन्न गरेको हो । भोटेकोशी गाउँपालिका– ५ चाकुमा बाँध निर्माण गरी ७.५ किलोमिटर सुरुङ तयार गरेर पावरहाउसमा पानीको बहाव ल्याइएको छ । गत वर्ष परीक्षण गर्दा सुरुङ रसाएर पानी लिक भएपछि आयोजनाले थप निर्माण पूरा गर्नुपरेको थियो। अहिले बाँधदेखि पावरहाउससम्म कुनै समस्या छैन । 

बाह्रबिसेको बेतेमा निर्माणाधीन सबस्टेसन तयार नभएकाले ४० किलोमिटर प्रसारणलाइन तय गरेर मध्यभोटेकोशीको २२० केभी पावर सिधै खिम्ती सबस्टेसनको ४०० केभी पावर हाउसमा जोडिएको छ । खिम्तीबाट  ढल्केबर हुँदै राष्ट्रिय प्रसारणको ग्रिडमा जम्मा हुनेछ । ‘कम्तीमा सात वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका थियौँ । तर, विनाशकारी प्राकृतिक विपत्, राजनीतिक अतिक्रमण र विभिन्नखाले अवरोधले १४ वर्ष लाग्यो,’ सिवाकोटीले भने, ‘यिनै गम्भीर समस्यासँग जुध्नुपरेकोले प्रतिमेगावाट करिब २२ करोड लागत पर्न गयो ।’

वार्षिक ५४ करोड २० लाख युनिट विद्युत् उत्पादन हुँदा पौने तीन अर्ब आम्दानी हुने प्रारम्भिक आकलन गरिएको उनले बताए । विद्युत् उत्पादनसम्म आइपुग्दा आयोजनाले करिब २२ अर्ब ४४ करोड खर्च गरेको छ ।