
जर्ज ओर्वेलको एनिमल फार्म (१९४५) अगस्ट १७, २०२५ मा ८० वर्ष पुग्यो । इतिहास वा राजनीतिका हरेक विद्यार्थीलाई थाहा भएको कुरा हो कि उपन्यासको नामअनुरूप यो खासमा जनावरको कथा होइन । प्रमुख पात्र सुँगुर र घोडा भए पनि उपन्यासले सोभियत संघको प्रारम्भिक काल र जोसेफ स्टालिनको भ्रष्ट नेतृत्वमा साम्यवादको आदर्शमाथि के भयो भन्ने कथा भन्छ । रोला वार्थको ‘लेखकको मृत्यु’ भन्ने अवधारणाअघिका पुस्ताका अर्वेल आफैँले उपन्यासको कथालाई इतिहासको त्यही परिपे्रक्ष्यमा बुझ्न आग्रह गरेका थिए ।
तर, हामीले यस प्रसिद्ध कृतिका जनावरलाई थप गम्भीरतापूर्वक लिन पनि प्रयोग गर्न सक्छौँ । ओर्वेलले यो छोटो, रोचक उपन्यास त्यस्तो समयमा लेखेका थिए, जब जनावरमा विचार वा भावना हुन्छन् भन्ने वैज्ञानिक नै अस्वीकार गर्थे । हुन त सन् १८५९ मै चाल्र्स डार्विनले ‘ओरिजिन अफ स्पेसिस’ कृतिमार्फत मानिसहरू अन्य सबै जनावर प्रजातिसँग कुनै न कुनै रूपमा सम्बन्धित रहेको बताइसकेका थिए । तर, मनोविज्ञानले भने मानवोचित गुण अन्य जीवजन्तुमा पनि उपस्थित हुन सक्छन् भनेर सोचिसकेको थियो । बरु, पशु मनोवैज्ञानिकले मानव ‘हामी’ र पशु ‘अन्य’बिच ठुलो संज्ञानात्मक खाडल रहेको तथ्य पहिलेभन्दा बढी जोड दिइरहेको वेला थियो, ओर्बेलको समय । र, समकालीन सामाजिक विज्ञान र मानविकी क्षेत्रका विज्ञले यही भिन्नतालाई अनुमोदन गरिदिए ।
फ्रान्सेली मानवशास्त्री ‘क्लाउड लेभी–स्ट्रोस’को सन् १९६२ को एक चर्चित उक्ति धेरै दोहोरिने गरेको छ, जसमा उनले ‘जनावरहरू चिन्तनमननका सामग्री हुन्’ भनेका थिए । खासमा हामीले जनावरलाई लिएर मानव विश्वासमाथि प्रश्न गर्यौं भने हाम्रो आफ्नै भित्री मूल्य–मान्यता र सामाजिक ढाँचा प्रकट हुन्छ । आजको मापदण्डअनुसार र जीवहरूको छैटौँ महा–विलोप(मास एक्टिंगसन)को सन्दर्भमा लेभी–स्ट्रोसको कथन खेदजनक देखिन्छ । अहिलेको बहुप्रजाति अध्ययनले जनावर मानिसको उपभोग्य वस्तु वा चिन्तनका वस्तुबाहेक अरू केही होइनन् भन्ने धारणालाई अस्वीकार गर्छ ।
विश्वका धेरै संस्कृतिमा जनावरसँग अलग ‘व्यक्तित्व’ हुन्छ भनेर स्विकार्दै उनीहरूसँग अन्तत्र्रिmया गर्ने परम्परा छन् । फरक प्रजाति उठबस गर्ने वा जीवजन्तुको सिकारमा संलग्न मानिसले नै प्राय: तिनको व्यवहार र ‘व्यक्तित्व’लाई नजिकबाट बुझेका हुन्छन् । बेलायतमा एक प्रमुख शैक्षिक परियोजनाले यो सम्बन्ध जनावरसम्बन्धी दन्त्य कथामा कसरी प्रतिबिम्बित हुन्छन् भनेर अनुसन्धान गरिरहेको छ । ‘वातावरणीय संकटको युगमा दन्त्यकथामाथि पुनर्विचार’ विषय परियोजनाले आजको द्रुत परिवर्तनशील र अनिश्चित वातावरणमा विभिन्न प्रजातिका जीवको अद्वितीय संसारको कल्पना गर्न विद्वान्, कलाकार र लेखकबिचको सहकार्यको संयोजन गरिरहेको छ ।
कृषि उत्पादनमा रासायनिक मलको व्यापक प्रयोगअघि हुर्केबढेका अर्वेल औद्योगिक युग सुरु हुनुअघिको खेती र जनावरको घनिष्ठ ज्ञानबाट अनजान थिएनन् । बर्मामा हात्ती सिकारका विषयमा लेखिएको उनको सन् १९३६ को निबन्धमा वास्तविक जनावरको पीडा महसुस हुन्छ । ‘एनिमल फार्म’ पनि जनावरको पीडाबाट सुरु हुन्छ, जहाँ मानव किसानको क्रूरताले जनावरलाई एक गराउँछ । एउटा बुद्धिमान र वृद्ध सुँगुर ‘ओल्ड मेजर’ले अन्य जवान जनावरलाई चेतावनी दिँदै मानवीय क्रूरताका कारण केही समयमै जीवन बाँच्नलायक नलाग्ने बताउँछन् । यदि हामीले यस कथन र वास्तविकतालाई पुस्तक अध्ययनको अवधिभर ख्याल गरिरह्यौँ भने एनिफल फार्मको कथा फरक रूपमा बुझ्न सकिन्छ ।
‘पिन्चफिल्ड फार्म’को क्रूरता जनावरहरूलाई रिपोर्ट गरिँदा अर्वेलले यो कथालाई फेरि दोहोर्याएका छन् । मानव अत्याचारलाई जनावरले प्रमुख शत्रु मानेका छन् । जनावरको आशामाथि नेपोलियन नामको सुँगुरले विश्वासघात गर्दासमेत तिनले बोकेको क्रूरता अन्त्यको उद्देश्यप्रतिको विश्वास कहिल्यै धर्मराउँदैन ।
जनावरहरूको सपना
‘एनिमल फार्म’मा हुने पशु क्रान्ति, किसानको क्रूरताको पतन सबै एउटा सुँगुरको सपनाबाट प्रेरित हुन्छ । ‘ओल्ड मेजर’ नामको सो सुँगुरले फार्मका अन्य जनावरलाई भेला गरेर ‘मानिस लोप भएपछि पृथ्वी कस्तो हुनेछ’ भन्ने आफ्नो दृष्टिकोण बताउँछ । मानव शोषणको अन्त्य चाहने पशुको सपना २०औँ शताब्दीका पशु मनोवैज्ञानिकलाई अविश्वसनीय लाग्न सक्थ्यो । आखिर जनावरमा भावना हुने कुरा नै ती हास्यास्पद मान्थे ।
कुनै कुकुर मालिकलाई सोध्नुहोला । तिनले आफ्नो चारखुट्टे साथीको पनि सपना हुने कुरा विनाधक बताइदिन्छन् । तर, दशकौँसम्म, वैज्ञानिकले भने त्यसलाई वाहियात बताइरहे । मानवशास्त्री एडुआर्डो कोहनद्वारा सिर्जना गरिएको वन जीवनको विवरणमा भने कुकुरका सपना हुने कुरामा जोड दिइएको छ । आफ्नो पुस्तक ‘हाउ फरेस्ट्स थिंक (२०१३)’मा कोहनले कुकुर मात्र होइन, सबै जनावरले आफ्नो भविष्यबारे सोच्ने र कल्पना गर्ने तर्क गरेका छन् । तिनको अस्तित्व नै यही क्षमतामा टिकेको उनको मत छ ।
एउटा अंशमा, कोहनले बाँदरले जंगलमा उठ्ने आवाजबारे (जसको स्रोत सामान्य ठक्कर वा सिकारीको आगमन हुन सक्छ) विश्लेषणलाई भविष्यवाणी गर्न प्रयोग गर्ने बताएका छन् । योे जीवन अस्तित्वसँग जोडिएको उनको ठहर छ । कोहनका लागि जनावरको संसार अर्थले भरिएको छ । अमूर्त भाषामार्फत अर्थ निकाल्ने मानव शक्ति जीवन यही जनावरको आमविशेषताको एउटा उदाहरण मात्र हो भन्ने उनको भनाइ छ ।
एनिमल फार्मभरि सपनाहरू दोहोरिन्छन्, ती समयक्रममा शब्दद्वारा अभिव्यक्त गरिन्छ । अन्नभण्डारका भित्तामा लेखिएका जनावरको नियम वा आज्ञा सुँगुरहरूको भ्रष्ट अचारणलाई अनुमोदन गर्ने गरी परिमार्जन गरिन्छ । जब अर्थलाई अभिव्यक्त गरेर लेख्य रूपमा ‘वस्तुनिष्ठ’ बनाइन्छ, यसमा परिमार्जनको सम्भावना रहन्छ । शब्दहरू पुन: लेख्न सकिन्छ र योसँगै विगत पनि परिमार्जन गर्न सकिन्छ । जनावरहरू त्यसपछि तिनको पूर्व–मौखिक सम्झनालाई लिएर नै ढुक्क हुन सक्दैनन् । अनि, कथ्यबाट सपना गायब हुन्छन् ।
सञ्चार–विज्ञानमा भएका अनुसन्धानले प्रकृतिसम्बन्धी पछिल्ला प्रवृत्तिले कोहन र अरूले वर्णन गरेजस्तो मानवभन्दा बृहत्तर विश्वमा समाहित हुने पाठकको इच्छालाई सम्बोधन गर्न थालेको देखाउँछ । यस्ता पाठकका लागि एनिमल फार्मले पशुको ‘व्यक्तित्व’ र मानव अपवादवादको भ्रमको अन्वेषण गर्न सक्छ ।
एनिमल फार्मजस्तै वयस्कका लागि पशु–आवाजमा कथा भन्ने नयाँ कृति पछिल्लो समय पश्चिममा फेला पर्न गाह्रो छ । सायद लेखकलाई बालकजस्तो देखिएला भन्ने डरले बढी नै प्रभावित बनाएको हो कि ? तर, विश्वभरका आदिवासी साहित्य भने पशुको आवाजमा भनिने कथामा धनी छन् । जोसेफ ब्रुच्याकद्वारा लिखित आदिवासी अमेरिकीमाझ रहेको पशुकथाहरू समेटेको पुस्तक सन् १९९२ मा प्रकाशित भएको थियो । यो यस विधाको पछिल्लो उत्कृष्ट पुस्तक हो ।
समकालीन गैरआख्यान बरु पशुकेन्द्रित कथ्य अन्वेषणमा बलियो देखिन्छ । आधुनिक क्लासिकमा दरिएको हेलेन म्याकडोनाल्डको संस्मरण ‘एच इज फर हक (२०१४)’ यसकै एक उदाहरण हो । कविहरूले जनावरको आवाजसँग समेत खेल्ने प्रयास गरेका छन् । यसमा सुसन रिचर्डसनको वर्डस् द टर्टल टट मी (२०१८) एक उदाहरण हो । दृश्य कलामा, ‘फेरल प्राक्टिस’ परियोजनाकी फियोना म्याकडोनाल्डले अन्य पशु–केन्द्रित प्रश्नका अतिरिक्त ‘कमिलाहरूले ग्यालरी बनाए’ भने के हुन्छ भनेर सोध्ने गर्छिन् ।
(युनिभर्सिटी कलेजकी विज्ञान तथा प्रविधि अध्ययन विभागकी सहप्राध्यापक स्लेको आलेख द कन्भर्सेसनबाट श्रवण उप्रेतीले अनुवाद गरेका हुन्)