मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 30 August, 2025
मुगुम कार्मारोङ गाउँपालिका पर्ने छायानाथ भूपरिधि क्षेत्र । अब छायानाथ निकुञ्जमा पर्ने यो क्षेत्र यसअघि से–फोक्सुन्डो निकुञ्जको डोल्फु सेक्टर थियो
यम बम काठमाडाैं
Invalid date format o६:३४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

से–फोक्सुन्डो टुक्रिएर जन्मियो छायानाथ राष्ट्रिय निकुञ्ज

छायानाथ नेपालको १३औँ निकुञ्ज, ८४३.३६ वर्गकिमिमा रहेको छायानाथमा धार्मिक पर्यटनको समेत सम्भावना 

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:३४:oo

सरकारले डोल्पा र मुगु समेटिएको से–फोक्सुन्डोलाई टुक्र्याएर छायानाथ राष्ट्रिय निकुञ्ज बनाएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले से–फोक्सुन्डो निकुञ्जको मुगुतर्फको ८४३.३६ वर्गकिलोमिटरलाई समेटेर नयाँ निकुञ्ज बनाउने निर्णय गरेको हो । यससँगै नेपालमा निकुञ्जको संख्या १३ पुगेको छ ।

वनमन्त्री ऐनबहादुर शाही ठकुरीले स्थानीय समुदायको सेवा प्रवाह र चोरी–सिकार नियन्त्रणलाई ध्यानमा राखेर नयाँ निकुञ्ज बनाउने निर्णय लिइएको बताए । ‘मध्यवर्ती क्षेत्रका नागरिकले निकुञ्जको सेवा–सुविधा पाउन आउजाउमै सात दिन पैदल हिँड्नुपर्ने बाध्यता थियो । सेवा–प्रवाह नजिकबाट होस् र निकुञ्जको उपस्थितिले चोरी–सिकार नियन्त्रणमा पनि मद्दत पुगोस् भनेर मुगुम कार्मारोङ गाउँपालिकाका १, ३ र ४ नम्बर वडा समेट्ने गरी छायानाथ राष्ट्रिय निकुञ्ज बनाइएको हो,’ मन्त्री ठकुरीले भने ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले नयाँ निकुञ्ज स्थापनाले वन्यजन्तु संरक्षण, चोरी–सिकार नियन्त्रण, स्थानीयलाई 
सेवा–प्रवाह सहज हुने बताए । ‘से–फोक्सुन्डोको क्षेत्रफल ठुलो हुँदा मुगुमा हाम्रोे उपस्थिति नगन्य थियो,’ उनले भने, 

‘व्यवस्थापकीय दृष्टिकोणलाई समेत हरेर मुगुतर्फको भाग समेटेर नयाँ निकुञ्ज बनाइएको हो ।’ तीन हजार ५५५ वर्गकिलोमिटरमा फैलिएको शे–फोक्सुन्डो टुक्र्याएपछि अब दुई हजार ७११.६१ वर्गकिलोमिटरमा सीमित हुनेछ । त्यसबिच पनि यो नेपालको सबैभन्दा ठुलो निकुञ्ज कायमै छ । छायाँनाथले मध्यवर्ती क्षेत्र १७७.३७ वर्गकिलोमिटर पाउँदा शे–फोक्सुन्डोसँग एक हजार १७०.१ वर्गकिलोमिटर छ । नयाँ निकुञ्ज घोषणा भए पनि संरक्षण क्षेत्रको क्षेत्रफल भने बढेको छैन । 

शे–फोक्सुन्डो निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्याल नेतृत्वको कार्यदलले शे–फोक्सुन्डो निकुञ्जको मुगुतर्फको भागलाई छुट्याई छुट्टै निकुञ्ज घोषणा गर्न सकिने रायसहितको सम्भाव्यता अध्ययन प्रतिवेदन गत २ वैशाखमा निकुञ्ज विभागलाई बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा सरकारले छायाँनाथ निकुञ्जलाई पूर्वमा कान्जिरोवा हिमालको शिरदेखि उत्तरतर्फ हिमालको टुप्पैटुप्पो हुँदै निसिपन ला, नामलान नदी र जबुला खोलाको दोभान, मरुम डाँडा हुँदै यांगला लेक, यालाकान, याला भञ्ज्याङ पलाचुङ हाम्गा हिमाल हुँदै चीनसँगको अन्तर्राष्ट्रिय सीमासम्म (पतारासी हिमालदेखि उत्तरतर्फ डोल्पा र मुगु जिल्लाको सिमाना हुँदै नेपाल र चीनबिचको अन्तर्राष्ट्रिय सीमासम्म) कायम गरेको छ । 

त्यस्तै, पश्चिममा दाभसल्ला डाँडादेखि उत्तरतर्फ टुप्पैटुप्पा हुँदै नाम्लाङ खोला समाती पश्चिमतर्फ नाम्लाङर बेलुङ खोलासम्म, बेलुङ खोलालाई समाती छायाँनाथ ठाकुरजी नाथको चुचुरोको शिर समाती सो चुलीको टुप्पैटुप्पो कुलदम डाँडा, नागपी डाँडाछायरगोला भञ्ज्याङ छिमीमारु डाँडा हुँदै नेपाल–चीनबिचको अन्तर्राष्ट्रिय सिमानासम्म निर्धारण गरिएको छ ।

उत्तरतर्फ नेपाल–चीनबिचको अन्तर्राष्ट्रिय सिमानामा पर्ने कान्ती हिमालको शिर हुँदै पूर्वतिर चाँदी हुँदै पालचुनहम्गा हिमाल हुँदै मुगु र डोल्पा जिल्लाको सिमानासम्म समेटिएको छ । दक्षिणमा दाभसल्ला डाँडाबाट दक्षिण जुम्ला र मुगु जिल्लाको सिमाना हुँदै काँडे चुली हुँदै पातारासी हिमालको टुप्पैटुप्पा कान्जिरोवा हिमालको शिरसम्म कायम भएको छ । 

राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका सूचना अधिकारी आचार्यका अनुसार मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भइसकेपछि विभागले निकुञ्ज स्थापनाको काम अगाडि बढाउनेछ । तर, निकुञ्जको कार्यालय स्थापनादेखि कर्मचारी खटनपटन गरेर कार्यान्वयन तिहारपछि हुने उनले बताए । 

शाखा अधिकृतको नेतृत्वमा ४१ जना कर्मचारी आवश्यक पर्ने कार्यदलले औँल्याएको छ । तर, अब शे–फोक्सुन्डो निकुञ्जको दरबन्दी कटौती हुनेछ भने चितवन, रारा र मकालु वरुण निकुञ्ज तथा अपिनाप्पा संरक्षण क्षेत्रबाट पनि कर्मचारी ल्याएर पदपूर्ति गर्न कार्यदलले सुझाएको छ । 

सुरक्षामा भने नेपाली सेना नै रहनेछ । कार्यदलले प्रारम्भिक चरणको कार्यालय स्थापनाका लागि २० लाख लागत अनुमान गरिएको छ भने मुख्य कार्यालय भवनका लागि एक करोड बजेट प्रस्ताव गरिएको छ ।

नयाँ निकुञ्जमा के छ ?
शे–फोक्सुन्डो निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार नयाँ घोषणा भएको निकुञ्जमा छायाँनाथ र पातारसी हिमाल छन् । छायाँनाथ धार्मिक पर्यटकीय क्षेत्र पनि हो ।

नयाँ निकुञ्जको मुख्य राजस्वको स्रोत यार्सागुम्बा संकलन प्रवेश अनुमति र पर्यटन शुल्क हो । मुगुम कर्मारोङ गाउँपालिकाले संकलन शुल्कबापत गत आव ०८०/८१ मा ७० लाख उठाएको थियो ।

‘निकुञ्जको माथिल्लो क्षेत्र भएर जाने ग्रेट हिमालयन ट्रेल, अर्थात् याला भञ्ज्याङ–तिहार–नाम्लाङ–भिजेर हुँदै शे–फोक्सुन्डो निकुञ्जलाई जोड्ने पर्यटक पदमार्गले नयाँ निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि प्रचुर सम्भावना बोकेको छ,’ कार्यदलको प्रतिवेदनमा भनिएको छ, ‘साथै, छायाँनाथ हिमाल बौद्ध र हिन्दु धर्मको आस्थाको केन्द्र रहेकाले धार्मिक पर्यटनको समेत सम्भावना छ ।’

कार्यदलले नयाँ निकुञ्जमा थप पदमार्ग पनि प्रस्ताव गरेको छ । जसमा तिहार–कुमाइथान–डोल्फु–पलाङयान–इटिङ–रुगासुम्ना–साइसा खोला–जफा लेक–के क्याम्प–डोल्पाको सिमानासम्म एउटा छ भने तिहार–परलोक–छायाँनाथ दोस्रो हो । त्यस्तै, तिहार– चिताइकुना–चिताई गाउँ हुँदै छायाँनाथ तेस्रो पदमार्ग हो । तिहार–सिरानचौर–थाङजाब– चार्गुलेख–ताक्लासुङ्वा– मार्जुङ थाङ–पासा क्याम्प–फोवगाउँ (भिजेर) अर्काे पदमार्ग हो ।

‘शे–फोक्सुन्डो र छायाँनाथ निकुञ्जको वन, वन्यजन्तु र पारिस्थिकीय प्रणाली मिल्दोजुल्दो नै छ,’ अर्यालले भने, ‘दुवै क्षेत्रमा हिउँचितुवा र यसका आहार प्रजाति नाउर, झारललगायत वन्यजन्तु छन् । यार्सागुम्बा पाइने यस क्षेत्रमा सानो कोइकी, ठुलो कोइकी, चारकु, हाङदाङ, चेप्टु, रोमन पाटन, केले लेक, चुल्दुर, तेङदिङ, यमजामा, ताक्ले, सुन्दोवान, तुरावान, सकेरीवान, छ्यार्पु, रफुक, इस्तिङ, ताक्लुङ, रुका, जाफालेक, गोकोङमा पाटन क्षेत्र मुख्य हुन् ।