
कञ्चनपुरको बेलडाँडी गाउँपालिका– २ सिहपाल टोलकी सम्झना भट्ट मृत्यु प्रकरणमा उनका श्रीमान् पवन भट्ट जेल चलान भएका छन्। सम्झनाका माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको दुरुत्साहनसम्बन्धी मुद्दाको बिहीबार अदालतमा भएको थुनछेक बहसबाट पवन भट्ट पुर्पक्षका लागि कारागार चलान भएका हुन् भने सासू किरण भट्ट साधारण तारेख र ससुरा हरिदत्त भट्ट र दिदीसासू पूजा भट्ट धरौटी बुझाएर रिहा भएको अदालतले जनाएको छ ।
जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले न्यायाधीश राजेन्द्र भण्डारीको एकल इजलासबाट सम्झनाका श्रीमानलाई पुर्पक्षका लागि कारागार चलान, सासू किरणलाई साधारण तारेख, ससुुरा हरि र दिदी पूजाबाट जनही एक/एक लाख धरौटी लिन आदेश भएको बताए ।
सो आदेशअनुरूप हरि र पूजा पनि रिहा भएका छन्। १९ फागुन ०८१ मा विवाहबन्धमा बाँधिएकी सम्झना १८ साउन ०८२ मा घरभित्रै झुन्डिएर मृत फेला परेकी थिइन् । बेलडाँडीका पवन र महेन्द्रनगरकी सम्झनाबिच पहिल्यैदेखि प्रेमसम्बन्ध रहेकाले सम्झनाको १७ वर्षकै उमेरमा विवाह भएको थियो । छोरीको विवाहको उमेर नपुग्दै किन विवाह गरिदिएकाे भन्दै अहिले सामाजिक स्तरमा माइती पक्षमाथि प्रश्न उठिरहेको छ। उक्त घटनाबाट उमेर नपुग्दै छोरीको विवाह गर्न नहुनेसमेत बहस भइरहेको छ ।