
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको विद्युत् व्यापार अध्ययन तथा सुझाव समितिले प्रचलित विद्युत् ऐन, २०४९ लाई नै व्याख्या गरी निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिन प्रस्ताव गरिएको छ । पूर्वऊर्जा सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा गठित १० सदस्यीय समितिले सोमबार मन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएको छ । त्यसमा निजी क्षेत्रलाई प्रचलित ऐनको व्याख्या गरी विद्युत् नियमावली, २०५० संशोधन गरेर निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिन प्रस्ताव गरेको हो ।
प्रचलित विद्युत् ऐनले निजी क्षेत्रलाई विद्युत् उत्पादन गर्न दिने व्यवस्था गरेको छ, तर विद्युत् व्यापारको परिकल्पना गरेको छैन । अहिले संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० मा पनि निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने प्रस्ताव छ । तर, त्यसले पूर्णता पाइसकेको छैन । यस्तो अवस्थामा अध्ययन समितिले प्रचलित ऐनकै व्याख्या गरी विद्युत् नियमावली संशोधन गरेर निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न सुझाव दिएको हो । नियमावलीमा नयाँ नियम थपेर निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिन प्रस्ताव गरिएको हो ।
ऐनको दफा २१ मा ‘कसैले यस ऐनबमोजिम उत्पादन गरेको विद्युत् एकमुस्ट बिक्री गर्न चाहेमा राष्ट्रिय ग्रिडमा समावेश हुने गरी नेपाल सरकारले खरिद गर्न–गराउन सक्नेछ,’ भनिएको छ । त्यसमा ‘गराउन सक्नेछ’ भन्ने शब्दको व्याख्या गरी नियमावली संशोधन गर्न प्रस्ताव गरिएको छ ।
यस्तै, दफा २२ को उपदफा २ मा ‘अनुमतिपत्रप्राप्त व्यक्तिले आफूले उत्पादन गरेको विद्युत् विदेशमा निर्यात गर्न चाहेमा सो सम्बन्धमा नेपाल सरकारसँग सम्झौता गरी निर्यात गर्न सक्नेछ,’ भनिएको छ । यसैगरी, दफा ४० मा ‘यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ,’ भनिएको छ । त्यसलाई समेत टेकेर नियमावली संशोधन गर्न प्रस्ताव गरिएको छ । प्रतिवेदनअनुसार विद्युत् व्यापारको लाइसेन्सका लागि विद्युत् विकास विभागमा आवेदन दिनुपर्नेछ । तर, लाइसेन्स वितरण गर्न अधिकार भने ऊर्जा सचिवलाई दिइएको छ ।
समितिले विद्युत् व्यापारलाई व्यवस्थित र दीर्घकालीन रणनीतिसँग जोड्न आन्तरिक तथा अन्तरदेशीय व्यापारमा छुट्टै कम्पनीमार्फत कार्य सञ्चालन गर्नुपर्ने, आवश्यक नीति तथा प्रचलित कानुन परिमार्जन गर्ने, प्रसारण पूर्वाधारको सुदृढीकरण र क्षेत्रीय बजार पहुँच सुनिश्चित गर्नेजस्ता विषयमा सुझाव दिएको छ ।
प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशकसमेत रहेको समितिका सदस्य प्रबल अधिकारीले निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिन प्रस्ताव गरेको बताए । नयाँ ऐन नआउने वेलासम्मका लागि अन्तरिम व्यवस्थास्वरूप यस्तो प्रस्ताव गरेको उनको भनाइ छ । ‘मूलत: कानुनबाटै विद्युत् व्यापारलाई व्यवस्थित गर्न प्रस्ताव गरेका छौँ । तर, नयाँ ऐन नआउने वेलासम्मका लागि प्रचलित ऐनमै टेकेर विद्युत् व्यापारको लाइसेन्स निजी क्षेत्रलाई पनि दिन प्रस्ताव गरेका छौँ,’ उनले भने, ‘तर, यसलाई कसरी कार्यान्वयन गर्ने, त्यो सरकारको हातमा छ ।’
अहिलेको अवस्थामा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको उनले बताए । ‘सरकारले सन् ०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसमा साढे १३ हजार मेगावाट आन्तरिक खपत र १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिइएको छ । अहिले नेपालमा विद्युत्का जडित क्षमता ३६ सय मेगावाट हुँदा आन्तरिक उच्च माग २३ सय मेगावाट हाराहारी छ ।
समितिका सदस्यसमेत रहेका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का उपाध्यक्ष आनन्द चौधरीले निजी क्षेत्रलाई विद्युत् व्यापारमा निजी क्षेत्रको आवश्यकता बढ्दै गएको बताए । ‘समितिले निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिन प्रस्ताव गरेको छ । यो यथाशीघ्र छिटो कार्यान्वयन हुनुपर्छ,’ उनले भने, ‘निजी क्षेत्र आएपछि यसको नतिजा पनि राम्रो आएको छ । अहिले विद्युत् उत्पादनमा निजी क्षेत्रकै योगदान उच्च छ । व्यापारको लाइसेन्स पायौँ भने आन्तरिक खपतसँगै निर्यात पनि बढाउन सक्छौँ ।’
ऊर्जामन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी क्षेत्रको समेत सहभागिता सुनिश्चित हुने बताए । नेपालको जलविद्युत् क्षमता सदुपयोग गर्न निजी क्षेत्रलाई पनि आन्तरिक तथा अन्तरदेशीय विद्युत् व्यापारमा समान अवसर दिनुपर्ने उनको भनाइ छ । विद्युत् निर्यात र आयातमा निजी क्षेत्रको सहभागिताले प्रतिस्पर्धा, दक्षता र लगानी बढाउनेछ ।
६ प्रकारका लाइसेन्स दिन प्रस्ताव, कुनलाई कस्तो मापदण्ड ?
प्रस्तावअनुसार निजी क्षेत्रले पनि आन्तरिक तथा बाह्य दुवै बजारमा विद्युत् व्यापार गर्न पाउने गरी प्रस्ताव गरिएको छ । साथै, निजी क्षेत्रलाई क, ख, ग, घ, ङ र च गरेर ६ वर्गको लाइसेन्स दिन प्रस्ताव गरिएको छ ।
त्यसमा ‘क’ वर्गकोे लाइसेन्स पाएका कम्पनीले वार्षिक न्यूनतम तीन अर्ब युनिटबराबरको विद्युत् व्यापार गर्नुपर्छ । उनीहरूको नेटवर्थ भने दुई अर्ब रुपैयाँको हुनुपर्नेछ । ‘ख’ वर्गका कम्पनीले भने वार्षिक एक अर्ब ८० करोड युनिटदेखि तीन अर्ब युनिटसम्मको विद्युत् व्यापार गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ ।
‘ग’ वर्गका कम्पनीले वार्षिक ६० करोड युनिटदेखि एक अर्ब ८० करोड युनिटसम्मको विद्युत् व्यापार गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ ।
यस्तै, ‘घ’ वर्गका कम्पनीले वार्षिक ३० करोड युनिटदेखि ६० करोड, ‘ङ’ वर्गका कम्पनीले वार्षिक १५ करोड युनिटदेखि ३० करोड युनिटसम्म र ‘च’ वर्गका कम्पनीले वार्षिक १५ करोड युनिटसम्मको विद्युत् व्यापार गर्न पाउने प्रस्ताव गरिएको छ ।