मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 26 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:४४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपसभामुखविरुद्ध आचरणको प्रस्ताव अगाडि नबढाउने कांग्रेसमा समझदारी

आन्तरिक असहमति र उपनिर्वाचनको डरले कांग्रेस एक कदम पछाडि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:४४:oo

उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूलको आचरण नगरेको प्रस्ताव अगाडि बढाउने गृहकार्यबाट प्रमुख सत्तारूढ कांग्रेस पछि हटेको छ । पार्टीभित्रकै विरोध, रूपन्देही– ३ को उपनिर्वाचन र सरकारविरोधी असन्तुष्टि चर्किएको भन्दै कांग्रेस शीर्ष नेताहरू प्रस्ताव ‘स्थगन’ गर्ने निष्कर्षमा पुगेका हुन् ।

सोमबार सभापति शेरबहादुर देउवानिवासमा बसेको संसदीय दल कार्यसमिति बैठकमा उपसभामुख रानाविरुद्ध प्रस्ताव अगाडि नबढाउने समझदारी भएको प्रमुख सचेतक श्याम घिमिरेले बताए । ‘उपसभामुखको विषयमा अहिले केही पनि प्रक्रिया अगाडि बढ्दैन । अहिले आचरणसम्बन्धी केही पनि हुँदैन,’ उनले भने, ‘बैठकमा सामान्य छलफल गर्‍यौँ र अहिले केही पनि नगर्ने भनेर स्पष्ट पार्‍यौँ ।’

स्रोतका अनुसार बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उपसभामुखविरुद्ध आचरणको प्रस्ताव अगाडि बढाउन अहिले उपयुक्त समय नभएको बताएका थिए । यस्तो कदम चाले त्यसले रूपन्देही– ३ को उपनिर्वाचनमा प्रभाव पार्ने भन्दै सभापति देउवाको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा रूपन्देहीबाट फर्केका महामन्त्री शर्माले चुनावी परिवेशको ब्रिफिङ गरेका थिए । शर्मा उपनिर्वाचनमा पार्टीको अवस्था बुझ्न भन्दै रूपन्देही–३ गएका थिए । प्रमुख सचेतक घिमिरेले बैठकमा रूपन्देही– ३ को उनिर्वाचनबारे छलफल भएको, तर केही निर्णय नभएको बताए ।

रानाविरुद्ध पदअनुकूलको आचरण नगरेको प्रस्ताव अगाडि बढाउन केही दिनअघि कांग्रेस–एमालेबिच सहमति भएको थियो । त्यसैअनुसार दुवै पार्टीले आफ्ना सांसदको खाली कागजमा हस्ताक्षर संकलन थालेका थिए । तर, कांग्रेस महामन्त्रीद्वय शर्मा र थापाले हस्ताक्षर गरेका थिएनन् । इतर समूहका नेता डा. शेखर कोइरालाले भने हस्ताक्षर अभियानमै असहमति जनाएका थिए । दुवै महामन्त्रीले उपसभामुखविरुद्धको प्रस्तावमा सार्वजनिक रूपमै पनि असहमति जनाएका छन् ।

यसैबिच सभापति देउवा र कोइरालाले केही दिन अगाडि वान टु वान छलफल गरेका छन् । कांग्रेस–एमालेले ३ भदौमा उपसभामुख रानालाई हटाउन खाली कागजमा हस्ताक्षर गरेपछि सुरुमा डा. कोइरालाले विरोध गरेका थिए । त्यसपछि सभापति देउवाले बोलाएको पदाधिकारी बैठकमा पनि उनी गएका थिएनन् । ६ भदौमा देउवाले बोलाएपछि कोइराला बुढानीलकण्ठ पुगेका थिए ।

देउवा र कोइरालाबिच एक घण्टा वान टु वान कुरा भएको, तर के विषयमा भयो भनेर जानकारी नभएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए । देउवा भेटेपछि कोइरालाले ८ भदौमा आफ्नो सम्पर्क कार्यालयमा आफूनिकट नेता र सांसदहरूलाई ब्रिफिङ गरेका थिए । ब्रिफिङमा सहभागी एक सांसदका अनुसार कोइरालाले देउवालाई अहिले उपसभामुखविरुद्ध प्रस्ताव ल्याउने र हटाउने उपयुक्त समय नभएको जवाफ दिएका थिए ।

देउवाले उपसभामुखविरुद्ध हस्ताक्षर गराउँदा किन असन्तुष्टि भनेर सोधेपछि कोइरालाले रूपन्देही– ३ मा हुन लागेको उपनिर्वाचन, सरकारका कामकारबाहीप्रति नागरिकको असन्तुष्टिलगायत विषयहरू देखाएर समय उपयुक्त नभएको भन्दै ध्यानाकर्षण गराएका थिए । यसअघि विद्युत् प्राधिकरणबाट कुलमान घिसिङ हटाएको, कान्छाराम तामाङलाई विधिविपरीत मन्त्रीबाट बर्खास्त गरेको, बागमती प्रदेशमा बहादुरसिंह लामालाई मुख्यमन्त्रीबाट हटाएको घटनाले जनजातिहरूमाझ कांग्रेसको छवि कस्तो बनेको छ भनेर ख्याल गर्न सुझाव दिँदै कोइरालाले अब उपसभामुख रानालाई हटाउँदा व्यहोर्नुपर्ने क्षतिको हेक्का राख्न भनेका थिए । 

‘चुनावभन्दा अगाडि उपसभामुखलाई हटाउन खोज्दा परिस्थिति के होला ? कुलमान हटाएपछि जनजाति समुदायले कसरी हेरेको छ भन्ने ख्याल गर्नुस्,’ कोइरालाले देउवालाई भनेका थिए । देउवाले पदाधिकारीसँग सल्लाह गर्छु भनेर जवाफ दिएको ती सांसदले बताए । ‘शेखरदाले यो (उपसभामुखविरुद्ध प्रस्ताव) चाहनुभएको छैन । अब सिधै नो गर्दा मान्छे भड्किन्छन् । त्यसैले घुमाएर उपयुक्त समय होइन । सन्दर्भ ठिक होइन भनिरहनुभएको छ,’ ती सांसदले नयाँ पत्रिकासँग भने ।