
सिराहाको लहानस्थित डिभिजन वन कार्यालयले पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत पर्ने औरही र बरियारपट्टि गाउँपालिका क्षेत्रको क्षेत्रमा किनारमा पछिल्लो दुई आर्थिक वर्षमा आधा करोडभन्दा बढी रकम खर्चिएर रोपेका बिरुवा आधाभन्दा बढी सुकेका छन् ।
डिभिजन वनले आ.व. ०८१/८२ को बजेटअन्तर्गत बरियारपट्टि गाउँपालिका क्षेत्रमा पर्ने हुलाकी सडक किनारमा ३९ लाख रुपैयाँ खर्चिएर रोपेको आँप, गुलमोहरलगायतका चार हजार ६५० बिरुवा रोपिएको भए पनि आधाभन्दा बढी सुकेका छन् । वनले २५ लाख रुपैयाँ बजेटमा ट्रिगार्डसहित र १४ लाख रुपैयाँ बजेटमा ट्रिगार्ड नहाली रोपिएका बिरुवा आधाभन्दा बढी सुकेका हुन् । बाँचेका बिरुवा पनि ओइलाउने अवस्थामा पुगेका छन् ।
त्यस्तै, आर्थिक वर्ष ०८०/८१ मा ‘सडक किनार वृक्षरोपण कार्यक्रम’अन्तर्गत हुलाकी सडकमा पर्ने औरही गाउँपालिका क्षेत्रको साढे ६ किलोमिटर खण्डको दुवै किनारमा साढे १२ लाख रुपैयाँ खर्चिएर रोपिएका बिरुवाहरू पनि धेरै सुकेका छन्।
औरही गाउँपालिका– ४ इँटाटारका वडाध्यक्ष सुरेन्द्रप्रसाद यादव भन्छन्, ‘वडा कार्यालयअन्तर्गत सञ्चालित कोचिङ सेन्टरमार्फत गणेशपुर चोक क्षेत्रका सडक किनारमा रोपिएका करिब पाँच सय बिरुवामध्ये करिब ८०–९० वटा बिरुवा मात्र बाँचेका छन्, बाँकी सुके ।’ वनले वृक्षरोपण गर्ने, तर संरक्षणका लागि कुनै बजेट र कार्यक्रम नराख्ने हुँदा बिरुवा रोप्ने काम मात्र गरेर लाखौँ रुपैयाँ सिध्याउने काम मात्र भइरहेको उनको गुनासो छ ।
औरही गाउँपालिका र अर्नमा गाउँपालिकाको सीमामा पर्ने सहजा जरुवा खोलाको पूर्वदक्षिण किनारमा डिभिजन वन कार्यालयले टाँगेको होर्डिङ बोर्डमा ०८०/८१ मा गरिएको वृक्षरोपणसम्बन्धी विवरण मात्र देखिन्छ, बोर्डको अगाडि–पछाडि एकाध बिरुवा पनि छैनन् ।
हुलाकी सडक खण्डमा पर्ने नवराजपुर गाउँपालिका– ४ का चन्द्रदेव यादवले भने, ‘लाखौँ खर्च गरेर बिरुवा रोप्छन्, त्यसपछि हेर्ने कोही हुँदैन, नियमित संरक्षण नहुँदा रोपिएको बिरुवा वनको प्रगति विवरणमा त पर्छ, तर रोपिएको ठाउँमा हुँदैन ।’ स्थानीय सुनील यादवले जनचेतना अभावले पनि जनताले तिरेको करबाट आएको बजेटअनुरूपको योजना सफल हुन नसकेको बताए । ‘रोपिएका बिरुवा संरक्षणका लागि चेतना बढाउन जरुरी छ,’ उनले भने, ‘बिरुवा हुर्किएर रुख भएपछि त्यसले अन्ततः स्थानीय समुदायलाई नै फाइदा पुग्छ भन्ने कुरा समुदायलाई बुझाउन जरुरी छ ।’
‘स्थानीय बासिन्दाको असहयोग’
डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले रोपिएका बिरुवाको संरक्षणका लागि स्थानीय बासिन्दाको सहयोग नहुँदा समस्या देखिएको दाबी गरे । रोपिएका बिरुवा उखेलेर अन्यत्र रोप्ने, भाँचिदिने, ट्रिगार्ड चोर्ने, हेरचाह नगर्नेलगायतका कारणले रोपिएकामध्ये आधाभन्दा बढी बिरुवा सुकेको उनले बताए ।
‘भर्खर रोपिएका बिरुवालाई पानी चाहिन्छ, सडक किनारमा माटो पनि गेग्रान र बलौटे हुने भएकाले झन् बढी पानी हाल्नुपर्थ्याे, तर पानी हाल्ने बजेट थिएन,’ उनले भने, ‘रोपिएको ठाउँमा जुनसुकै कारणले बिरुवा सुकेको, उखेलिएको भए पनि पानी परेपछि त्यहाँ अर्को बिरुवा रोप्छौँ ।’
सडक किनारको माटो, चरिचरण, मानिसको आवतजावतजस्ता कारणले बिरुवा हुर्काउन ठुलो चुनौती रहेको चर्चा गर्दै उनले भने, ‘चुनौती हुँदाहुँदै पनि सडकमा आवतजावत गर्ने बटुवाका लागि छहारी, सडक क्षेत्रमा हरियालीका लागि वृक्षरोपण अनिवार्य भएकाले अब बिरुवा रोपेपछि सम्बन्धित स्थानीय तहका वडा कार्यालयसँग समन्वय गरी बिरुवाको संरक्षण र हेरचाहका लागि बजेट छुट्याउँछौँ ।’