
कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुलाई निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको छ। सरकारी चिकित्सकहरु कार्यालय समयमासमेत निजी अस्पताल तथा मेडिकलमा काम गर्ने गरेको जनगुनासो आएपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
सरकारी अस्पताल मातहतका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कार्यालय समयमा सरकारी अस्पतालमा सेवा दिन निर्देशन दिँदै त्यसो नगरे प्रचलित कानुनअनुसार कारवाही गरिने मन्त्रालयका सचिव धोलकराज ढकालले बताए।
‘मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा अस्पतालमा सेवा नदिई निजी स्वास्थ्य संस्थामा काम गर्ने र विज्ञापनसमेत गर्ने कार्य कानुनविपरित भएको हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेशागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइएको छ,’ उनले भने।
सरकारी चिकित्सकहरुले कार्यालय समयमा अस्पतालहरुमा सेवा नदिएर निजी क्लिनिकहरुमा काम गरेको गुनासो आएपछि निर्देशन जारी गरिएको मन्त्रालय अन्तरगत स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए।
‘कर्णाली प्रदेशमा कार्यरत कर्मचारी÷चिकित्सकहरूको सेवा सुविधासम्बन्धी व्यवस्था, २०७६ अनुसार निजामती कर्मचारी वा चिकित्सकले निजी स्वास्थ्य संस्थामा काम नगरेको स्वघोषणापश्चात मात्र सुविधा पाउने व्यवस्था रहेको मन्त्रालयले स्पष्ट पारेको छ,’ उनले भने, ‘तर, पछिल्लो समय विभिन्न सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले स्वघोषणा नगरी निजी स्वास्थ्य संस्थामा काम गर्दै प्रदेश सरकारबाट सेवा सुविधासमेत लिने गरेको गुनासो बढेको छ।’
मन्त्रालयले अबदेखि कुनै चिकित्सक वा स्वास्थ्यकर्मीले यस्तो गतिविधि गरेको पाइएमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ तथा कर्णाली प्रदेश निजामती सेवा ऐन, नियमावली २०८० बमोजिम कारबाही हुने चेतावनी दिएको छ।