
सिंहदरबारस्थित वैद्यखानाबाट कोशी प्रदेश सरकारले आयुर्वेदिक औषधि खरिद गर्ने भएको छ । कोशी सरकारले पहिलोपल्ट नेपाल सरकारअन्तर्गतको सिंहदरबारस्थित वैद्यखानाबाट जिटुजी (सरकार टु सरकार) प्रक्रियाबाट आयुर्वेदिक औषधि खरिद गर्न लागेको हो ।
चालू वर्षको पहिलो चौमासिकभित्रै औषधि खरिद गरेर सम्बन्धित जिल्लाका आयुर्वेदिक अस्पताल र प्रदेशस्थित आपूर्ति केन्द्रमा भण्डारण गराइसक्ने गरी सोमबार कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय र वैैद्यखानाबिच सम्झौता भएको छ । कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईको उपस्थितिमा मन्त्रालयकी सचिव राधिका थपलिया र वैैद्यखानाका कार्यकारी निर्देशक प्रदीप केसीले औषधि खरिदका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार कोशी सरकारको स्वास्थ्य मन्त्रालयले चालू वर्षमा कुल दुई करोड २० लाखको २३ प्रकारका आयुर्वेदिक औषधिखरिद गर्नेछ । जसमा एक करोड ३० लाख सोझै जिल्लास्थित आयुर्वेदिक अस्पतालहरूले र ९० लाखबराबरको औषधि प्रदेश आपूर्ति केन्द्रले पहिलो चौमासिकभित्रै खरिद गरेर स्टोरमा दाखिला गरिसक्नेछन् ।
सम्झौता सफल भएमा क्रमश: वैद्यखानाले उत्पादन गर्दै आएका ५१ प्रकारका औषधि खरिद गर्ने कोशी सरकारको लक्ष्य छ । औषधि खरिद गर्दा कोशी सरकारले वैद्यखानाबाट १८ प्रतिशत कमिसनबापत प्राप्त भएको रकमबाट पनि थप औषधि नै खरिद गर्नेछ ।
औषधि खरिद प्रक्रियालाई पारदर्शी र बिरामीलाई समयमै सहज रूपमा नि:शुल्क आयुर्वेदिक औषधि प्रदान गर्न पहिलो चौमासिकमै औषधि खरिद गरेर स्टोरमा दाखिला गराइसक्ने गरी वैद्यखानासँग सम्झौता गरेको कोशीका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बताए । उनले भने, ‘अझै पनि आर्थिक वर्षको अन्तिम समयमा औषधि खरिद गर्ने र वर्षभरि अभाव बनाइराख्ने गलत परम्परा तोडेर सुशासनमुखी उपचार सेवा प्रदान गर्न मन्त्रालयले सोझै जिटुजी प्रक्रियाबाट आयुर्र्वेदिक औषधि खरिद गरेका हौँ, यसलाई आगामी दिनमा अझै बढाएर लैजानेछौँ ।’
मन्त्रालयकी सचिव राधिका थपलियाले जिल्ला आयुर्वेद अस्पतालहरूले आवश्यकताका आधारमा औषधि खरिदका लागि सिफारिस गर्ने बताइन् ।