
नेपाल विद्युत् प्राधिकरणको खुद नाफा (कर अघिको) ३७.३२ प्रतिशतले घटेको छ । आव ०८१/८२ मा प्राधिकरणले नौ अर्ब ६ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । आइतबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ४०औँ वार्षिक उत्सवमा पेस गरेको विवरणले प्राधिकरणको नाफा अघिल्लो आवको तुलनामा घटेको देखाएको हो । ०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड ५० लाख खुद नाफा कमाएको थियो । तर, ०८१/८२ मा त्योभन्दा पाँच अर्ब ३९ करोड ८० लाख कम नाफा आर्जन गरेको तथ्यांक छ ।
गत आवको पहिलो त्रैमाससम्म नौ अर्ब ११ करोड ३२ लाख र दोस्रो त्रैमाससम्म ११ अर्ब ३५ करोड ९२ लाख पुगेको प्राधिकरणको तथ्यांक छ । तर, प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्रअनुसार फागुनमा नाफा घटेर नौ अर्ब ४८ करोडमा सीमित भएको थियो । त्यस्तै, चैत मसान्तसम्म नाफा झन् घटेर नौ अर्ब १९ करोड ८० लाख पुगेको भयो । वैशाख यता विद्युत् आयात घटेको र जेठको मध्यबाटै उत्पादन बढेर निर्यात गर्दा पनि प्राधिकरणको नाफा चौथो त्रैमासमा थप घटेर नौ अर्ब ६ करोड ७० लाखमा सीमित भएको तथ्यांक छ ।
हरेक वर्ष प्राधिकरणको नाफा पहिलो र चौथो त्रैमासमा बढ्ने तथा दोस्रो र तेस्रो त्रैमासमा घट्ने हुन्छ । हिउँदमा विद्युत् उत्पादन कम भई आयातसमेत गर्नुपर्छ । पिपिएको रेट पनि बर्खाका लागि ४.८० र हिउँदका लागि ८.४० रुपैयाँ तोकिएको छ । त्योअनुसार हिउँदको समयमा प्राधिकरणको नाफा घट्ने गर्छ । तर, चौथो त्रैमासमा बढ्ने गर्छ । वैशाख–जेठमा हिउँ पग्लेर खोलामा पानीको सतह बढ्न गई विद्युत् उत्पादन बढ्छ । जेठ–असारमा विद्युत् निर्यातसमेत गरिन्छ ।
जुन वेला प्राधिकरणको नाफा बढ्ने गर्छ । अघिल्लो आव ०८०/८१ को असोजसम्म १२ अर्ब ४७ करोड २७ लाख र पुस मसान्तसम्म १५ अर्ब ३६ करोड ६ लाख रहेको नाफा चैतसम्म आउँदा ११ अर्ब ६ करोड ३३ लाखमा सीमित भएको थियो । असारसम्म आउँदा त्यो साढे १४ अर्ब पुगेको थियो । तर, गत आवमा चौथो त्रैमासमा प्राधिकरणको नाफा उल्टै घटेको देखिएको हो ।
गत आवमा प्राधिकरणको कुल आम्दानी एक खर्ब ३८ अर्ब ८७ करोड रहेको छ । सो वर्ष आन्तरिक विद्युत् बिक्रीबाट एक खर्ब सात अर्ब ८० करोड ६० लाख र निर्यातबाट १७ अर्ब ४७ करोड १० लाख आम्दानी भएको छ । अन्य आम्दानीबाट १० अर्ब तीन करोड कमाइ भएको छ ।
तर, खर्च भने एक खर्ब २९ अर्ब ८१ करोड रहेको छ । सञ्चालन खर्च, ब्याज खर्च, विद्युत् खरिदलगायतका शीर्षकमा सोबराबरको खर्च भएको हो । निजी क्षेत्रबाट मात्रै ५३ अर्ब ३२ करोड ६० लाखको विद्युत् खरिद गरिएको छ । यसैगरी १२ अर्ब ९२ करोड ३० लाखबराबरको विद्युत् भारतबाट आयात गरिएको छ । गत आवमा प्राधिकरणको आम्दानी बढ्दा पनि नाफा घटेको तथ्यांक छ । अघिल्लो आव ०८०/८१ मा प्राधिकरणले एक खर्ब ३० अर्ब आम्दानी गरेको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नाफा घट्नुमा बहुआयामिक कारण भएको बताए । ‘बक्यौताबापत प्रोभिजनिङ गरिएको छ । तलब–भत्ता पनि केही बढेको छ । सञ्चालन तथा प्रशासनिक खर्च पनि बढ्यो,’ उनले भने, ‘औसत विद्युत् बिक्रीदर पनि घट्दा आम्दानी प्रभावित भएको छ । त्यसमाथि चार सय ५६ मेगावाटको तामाकोशी जलविद्युत् परियोजना बाढीले क्षतिग्रस्त भएपछि केही महिना बन्द हुन गयो । यी यस्ता कारण नाफा घट्न गएको छ ।’
असोज ०८१ मा आएको बाढीले नेपालकै सबैभन्दा ठुलो चार सय ५६ मेगावाटको अपर तामाकोशी जलविद्युत् परियोजना क्षतिग्रस्त भई बन्द भएको थियो । १० पुस ०८१ मा उक्त परियोजना सञ्चालनमा आएको थियो । परियोजना बन्द हुँदा आम्दानी प्रभावित भएको थियो । साथै, पुनर्निर्माणमा खर्चसमेत बढेको थियो । उक्त समयमा आएको बाढीपहिरोले अन्य विद्युत् आयोजना तथा पूर्वाधार पनि क्षतिग्रस्त बनाएपछि खर्च बढेको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भन्छन्– बक्यौताबापत प्रोभिजनिङ गरिएको छ । तलब–भत्ता पनि केही बढेको छ । सञ्चालन तथा प्रशासनिक खर्च पनि बढ्यो । औसत विद्युत् बिक्रीदर पनि घट्दा आम्दानी प्रभावित भएको छ । त्यसमाथि चार सय ५६ मेगावाटको तामाकोशी जलविद्युत् परियोजना बाढीले क्षतिग्रस्त भएपछि केही महिना बन्द हुन गयो । यी यस्ता कारण नाफा घट्न गएको छ । विशेषतः भारतमा सस्तोमा विद्युत् बिक्री गर्नुपर्यो । अहिले पनि दिउँसोको समयमा प्रतियुनिट ५० पैसामा विद्युत् बिक्री गर्नुपरेको छ, यसले पनि नाफा प्रभावित बनाएको छ ।
औसत विद्युत् बिक्रीदर घट्यो
गत आवमा प्राधिकरणको औसत विद्युत् बिक्रीदर पनि घटेको छ । अघिल्लो आवमा विद्युत् बिक्रीदर प्रतियुनिट ९.४८ रुपैयाँ थियो । गत आवमा त्यो ९.१३ रुपैयाँमा सीमित भएको छ । कार्यकारी निर्देशक शाक्यले भारतमा बिक्री गरिने विद्युत्को मूल्य सस्तो भएपछि औसत बिक्रीदर घटेको उनले बताए ।
‘विशेषतः भारतमा सस्तोमा विद्युत् बिक्री गर्नुपर्यो । अहिले पनि दिउँसोको समयमा प्रतियुनिट ५० पैसामा विद्युत् बिक्री गर्नुपरेको छ,’ उनले भने, ‘यसले पनि नाफा प्रभावित बनाएको छ ।’
सञ्चालन खर्चमा उच्च वृद्धि
गत आवमा प्राधिकरणको खुद सञ्चालन खर्चमा उच्च वृद्धि देखिएको छ । अघिल्लो आवमा खुद सञ्चालन खर्च चार अर्ब ९२ करोड ४० लाख थियो । गत आवमा त्यो सात अर्ब तीन करोड पुगेको छ । यस्तो खर्च गत आवमा दुई अर्ब १० करोड रुपैयाँले बढेको देखिन्छ । यसले नाफा घटाएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
विदेशी मुद्राको मूल्य बढ्दा सवा दुई अर्ब नोक्सानी
गत आवमा विदेशी मुद्राको मूल्य बढ्दा पनि नाफा प्रभावित भएको देखिन्छ । अघिल्लो आवमा विदेशी मुद्रामा भएको घटबढका कारण ३३ करोड ४० लाख रुपैयाँ नाफा भएको थियो । तर, गत आवमा डलरको भाउ बढ्दा दुई अर्ब २५ करोड २० लाख रुपैयाँ प्राधिकणले थप भार व्यहोर्नुपरेको छ ।
विद्युत् प्रसारण खर्च पनि बढ्यो
समीक्षा वर्षमा प्राधिकरणको प्रसारण खर्च पनि ३६.६७ प्रतिशतले बढेको छ । आव ०८०/८१ मा प्रसारण खर्च दुई अर्ब ३७ करोड २० लाख थियो । गत आवमा त्यो तीन अर्ब २४ करोड २० लाख पुगेको छ । यसरी गत आवमा प्रसारण खर्च ८७ करोड बढेको देखिन्छ ।
कर्मचारी अवकाश खर्च ९२ करोड रुपैयाँले बढ्यो
गत आवमा प्राधिकरणका कर्मचारीको अवकाश उपदान खर्च १५.७७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा अवकाश उपदानमा पाँच अर्ब ८६ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो । गत आवमा त्यस्तो खर्च ६ अर्ब ७८ करोड ८० लाख रुपैयाँ पुगेको छ । यसले पनि प्राधिकरणको नाफा प्रभावित बनाएको देखिन्छ ।
सम्पत्तिको मूल्य घट्दा साढे पाँच अर्ब नोक्सानी
गत आवमा सम्पत्तिको मूल्यमा आएको कमीले पनि पाँच अर्ब ५० करोड नोक्सान व्यहोर्नुपरेको छ । अघिल्लो आवमा यस्तो नोक्सानी पाँच अर्ब १६ करोड २० लाख थियो ।