मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
Invalid date format o७:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दुर्गममा डायलाइसिस सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस सेवा सुरु भएपछि मिर्गौला रोगीलाई काठमाडौं र नेपालगन्ज जाने बाध्यता हट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:२२:oo

माथिल्लो कर्णाली (कालिकोट, जुम्ला, मुगु, डोल्पा, हुम्ला) राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । तर भरपर्दाे छैन । विमानस्थल भए पनि नियमित हवाईजहाज सञ्चालन हुँदैन । बिजुली नियमित छैन । धेरै किसिमका समस्याले माथिल्लो कर्णाली अझै पनि दुर्गम महसुस हुन्छ । 

तर, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ सेवाप्रवाहले भने सुगमताका आभाष हुने गरेको छ ।प्रतिष्ठानले विशेषज्ञ चिकित्सकीय सेवासहित डायलाइसिस सेवा सुचारु गरेको छ । मिर्गाैला रोगीका लागि निकै महत्वपूर्ण र अत्यावश्यक मानिने डायलाइसिस सेवा जुम्लामा सुरु भएको हो । डायलाइसिस मेसिन स्थापना भएको दुई वर्षपछि सेवा पूर्णरूपमा सञ्चालनमा आएको छ । यसबाट विकट कर्णालीवासीलाई सहज भएको छ ।

तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले जुम्लामा १४ भदौ ०८० मा डायलाइसिस सेवाको शुभारम्भ गरेका थिए । तर, उपकरण अभावलगायतका प्राविधिक कारणले सेवा सञ्चालनमा आउन सकेको थिएन । जसले गर्दा कर्णालीका सयौँ बिरामी मारमा परेका थिए । 

कर्णाली प्रतिष्ठानमा डायलाइसिस सेवा नपाउँदा बिरामीहरू महँगो खर्च गरेर नेपालगन्ज वा काठमाडौं जान बाध्य थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला डायलाइसिस सेवा सुरु भएपछि कर्णालीवासीलाई राहत पुगेको प्रतिष्ठानका उपकुलपति डा. पूजन रोकायाले बताए । ‘कर्णालीका लागि डायलाइसिस सेवा सुरु हुनु महत्वपूर्ण उपलब्धि हो,’ उनले भने, ‘यसको व्यवस्थापन र निरन्तरतामा हामी गम्भीर छौँ । हाल दुईवटा मेसिनमार्फत सेवा सुरु गरेका छौँ । बिरामीको संख्या बढ्दै जाने अनुमान भएकाले थप चारवटा मेसिन तयारी अवस्थामा राखिएका छन् ।’ रोकाया केही दिनअघि मात्र उपकुलपतिमा नियुक्त भएका हुन् । 

डायलाइसिस सेवा पहिलोपटक मुगुकी एक महिलाले पाएकी छिन् । मुगु खत्याड गाउँपालिका– २ की जिरकला बियारलाई डायलाइसिस सेवा प्रदान गरिएको हो । विगतमा यही सेवाका लागि जहाज चार्टर गरेर नेपालगन्ज वा काठमाडौं पुग्ने नागरिकले अब जुम्लामै सेवा पाएपछि राहत महसुस गरेका छन् । 

विगतमा ओैषधिमुलो राम्रो नपाइने कर्णालीमा अहिले डायलाइसिसजस्ता महत्वपूर्ण सेवा सुरु हुनु खुसीको कुरा भएको जुम्लावासीको भनाइ छ । कर्णाली प्रदेशसहित पश्चिम नेपालका मिर्गौला रोगीले डायलाइसिसका लागि बाहिर जानुपर्ने छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्सिङ डाइरेक्टर सबिना थापाले डायलाइसिस सेवाले कर्णालीवासीले राहत पाउनुका साथै ठुलो धनराशि बचत हुने बताइन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अवस्थित चन्दननाथ नगरपालिकाले मिर्गौलाजस्ता दीर्घरोगीलाई औषधि उपचार प्रदान गर्ने भएको छ । विपन्न नागरिक औषधि उपचारसम्बन्धी कार्यविधि, २०७८ अनुसार नगरपालिकाले खर्च उपलब्ध गराउन थालेको हो । मिर्गौला प्रत्यारोपण, डायलाइसिस, क्यान्सर रोग र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधिउपचार खर्च प्रदान गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले बताए । ‘कार्यविधिले प्रतिव्यक्ति प्रतिमहिना पाँच हजारका दरले वार्षिक ६० हजार रुपैयाँ औषधि उपचार खर्च प्रदान गर्ने व्यवस्था गरेको छ,’ उनले भने । 

गत वर्ष मेरुदण्ड पक्षघातका एक, क्यान्सर रोगी आठ, मिर्गौला डायलाइसिस चार गरी १३ जनाले औषधि उपचार खर्च प्राप्त गरेका हुन् । उनीहरूलाई वार्षिक ६० हजार रुपैयाँका दरले सात लाख ८० हजार रुपैयाँ उपलब्ध गराइएको थियो । ‘चालू आर्थिक वर्ष ०८२/८३ का लागि निवेदन माग गरेका छौँ । सात लाख ३० हजार बजेट निकासा भएको छ,’ महतले भने, ‘अपुग रकम पछि माग गर्न सकिने अवस्था हुन्छ । कार्यविधिअनुसार नै दीर्घरोगीलाई औषधि उपचार खर्च प्रदान गरिनेछ ।’

डा. पूजन रोकाया, उपकुलपति, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
कर्णालीमा डायलाइसिस सेवा सुरु हुनु महत्वपूर्ण उपलब्धि हो । यसको व्यवस्थापन र निरन्तरतामा हामी गम्भीर छौँ । हाल दुईवटा मेसिनमार्फत सेवा सुरु गरेका छौँ । बिरामीको संख्या बढ्दै जाने अनुमान भएकाले थप चारवटा मेसिन तयारी अवस्थामा राखिएका छन् ।