
आइभिएफ (इन भिट्रो फर्टिलाइजेसन) सेन्टरहरूमा हुँदै आएको अवैध कारोबार र बदमासी रोक्न सरकारले पहिलोपटक निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ मापदण्ड तयार पारेको छ । डिम्ब तथा शुक्रकीट दान व्यवस्थित गर्न मन्त्रालयबाट तयार पारिएको मापदण्डलाई शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शुक्रबार स्वीकृत गरेका हुन् ।
पछिल्लो समय आइभिएफ सेन्टरहरूले युवतीहरूबाट नियमविपरीत डिम्ब झिक्ने र खुलेआम बिक्री–वितरण गर्ने गर्दै आइरहेका थिए । यसलाई रोक्ने गरी आएको मापदण्ड लागू भैसकेको मन्त्रालयले जनाएको छ । मापदण्डको अनुसूची ९ को दफा ८ को (क) मा डिम्ब र वीर्य दानसम्बन्धी व्यवस्था छ, जसमा डिम्ब र वीर्य दान गर्ने व्यक्तिले पूरा गर्नुपर्ने मापदण्ड तोकिएको छ ।
नयाँ मापदण्डअनुसार २० देखि ३५ वर्ष उमेर समूहकाले मात्रै डिम्ब र शुक्रकीट दान गर्न पाउनेछन् ।एक महिनाअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानमा आर्थिक प्रलोभनमा पारी १८ वर्षमुनिका किशोरीहरूको डिम्ब झिक्ने र बिक्री–वितरण गर्ने खुलेको थियो । निःसन्तान दम्पतीलाई सेवा दिने नाममा छ्याप्छ्याप्ती खोलिएका आइभिएफ सेन्टरहरूमा हुने गरेको ठगीधन्दा र कारोबार सार्वजनिक भएपछि मन्त्रालय यसलाई व्यवस्थित बनाउन मापदण्ड तयार पार्ने काममा लागेको थियो ।
स्वीकृति भएसँगै उक्त मापदण्ड कार्यान्वयनमा आएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । उनका अनुसार सबै पक्षका विज्ञसहित बसेर मापदण्ड तयार पारिएको तथा मापदण्ड तयार पार्दा अन्य देशको अभ्यासलाई समेत आधार मानिएको छ । ‘मापदण्ड बन्नु भनेको ‘निःसन्तान उपचार आइभिएफ’ सेवालाई व्यवस्थित गर्नु र यसको सञ्चालनका लागि ल्याब, जनशक्तिलगायत व्यवस्थापन गर्ने बाटो पनि खुल्नु हो,’ प्रवक्ता डा. बुढाथोकीले भने, ‘अब यो सेवा दिन सहयोग गर्ने स्वास्थ्य संस्था, दाता र लिनेलाई सहज हुनेछ ।’
मन्त्रालयले जारी गरेको मापदण्डले शुक्रकीट र डिम्ब दान तथा यसको सेवाबापतको शुल्कसम्बन्धी विषयसमेत समेटेको छ । मन्त्रालयले मापदण्डमा डिम्ब दान गर्न योग्य उमेर समूह २० देखि ३५ वर्षसम्मलाई तोकिएको छ । सोही उमेर समूहका पुरुषले पनि शुक्रकीट दान गर्न सक्नेछन् ।
हाल सरकारीमध्ये प्रसूतिगृह र त्रिवि शिक्षण अस्पतालले मात्र आइभिएफ सेवा दिँदै आएका छन् । तर, सरकारीमा पुग्दो सेवा नभएपछि दम्पती निजी स्वास्थ्य संस्थाहरूमा पुग्ने गरेका छन् । तर, निजीले आइभिएफ सेवा लिँदा चर्को शुल्क लिने गरेका छन् । मापदण्ड तय भइसकेपछि भने निजीको धन्दा रोकिने मन्त्रालयले जनाएको छ ।
मापदण्ड स्वीकृत भएसँगै अब आइभिएफ सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरूको शुल्क मन्त्रालयले तोक्ने भएको छ । अन्तर्राष्ट्रिय अभ्यास र अवस्था हेरेर मन्त्रालयले आइभिएफ सेन्टरहरूको मूल्य तोक्ने बताएको छ । सिआइबी अनुसन्धानमा आइभिएफहरूले किशोरीहरूलाई थोरै शुल्क दिएर लाखौँमा बेचेको पाइएको थियो ।
‘आइभिएफहरूले हाल सेवाग्राहीलाई चर्को शुल्क लिने र डिम्ब दिनेलाई पनि निकै कम शुुल्क दिने गरेका छन् । अब मापदण्डअनुसार आइभिएफ सेन्टरहरूको शुल्क मन्त्रालयले नै तोक्नेछ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले भने, ‘आइभिएफहरूको निगरानी पनि बढाउँछौँ ।’
डिम्ब दानसम्बन्धी मापदण्ड
वीर्य दानसम्बन्धी मापदण्ड
डा. प्रकाश बुढाथोकी, प्रवक्ता स्वास्थ्य मन्त्रालय
मापदण्ड बन्नु भनेको ‘निःसन्तान उपचार आइभिएफ’ सेवालाई व्यवस्थित गर्नु र यसको सञ्चालनका लागि ल्याब, जनशक्तिलगायत व्यवस्थापन गर्ने बाटो पनि खुल्नु हो । अब यो सेवा दिन सहयोग गर्ने स्वास्थ्य संस्था, दाता र लिनेलाई सहज हुनेछ ।