मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्दै भारतीय विदेशसचिव विक्रम मिश्री । उनले प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरे ।
२o८२ भदौ २ सोमबार o८:oo:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतीय विदेशसचिव मिश्रीको शीर्ष नेतासँग भेटवार्ता : सरकार गठनको एक वर्षपछि ओलीलाई मोदीको निमन्त्रणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार o८:oo:oo

सरकार गठनको एक वर्षपछि भारतले प्रधानमन्त्री केपी ओलीलाई औपचारिक निमन्त्रणापत्र दिएको छ । पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारत भ्रमण जाने ओलीको पटक–पटकको प्रयासपछि समकक्षी नरेन्द्र मोदीले औपचारिक निमन्त्रणा दिएका हुन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणमा ढिलाइ हुँदा ओली–मोदी सम्बन्धलाई लिएर अनेकौँ अड्कलबाजी हुँदै आएका छन् । 

नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीले पठाएको औपचारिक निमन्त्रणापत्र आइतबार हस्तान्तरण गरेका हुन् । विदेशसचिव मिश्रीले बालुवाटारमा गरेको भेटवार्तामा प्रधानमन्त्री ओलीलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए । ३१ भदौमा प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तयारी भए पनि औपचारिक रूपमा घोषणा हुन बाँकी छ ।

आइतबार नै मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा परराष्ट्रमन्त्री डा. आरजु राणासँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । साथै, उनले समकक्षी परराष्ट्रसचिव अमृतबहादुर राईसँग द्विपक्षीय वार्ता गरेका छन् । 

गत वर्ष मिश्री काठमाडौं आउँदा भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका ओलीले यसपटक उनै मिश्रीमार्फत मोदीबाट आएको निम्तापत्र बुझेका छन् । गत वर्ष परराष्ट्रमन्त्री राणाले मोदीलाई नेपाल भ्रमणका लागि प्रधानमन्त्री ओलीको निमन्त्रणापत्र बुझाएकी थिइन् ।

भारतीय प्रधानमन्त्री मोदी नआउँदै ओली ३१ भदामा दिल्ली भ्रमण जाने तयारी कूटनीतिक च्यानलमार्फत तय भइसकेको छ । यद्यपि, भारतीय प्रधानमन्त्रीले हस्ताक्षर गरेर पठाएको निमन्त्रणापत्र ओलीले आइतबार प्राप्त गरेका हुन् । ‘भारतीय विदेशसचिव विक्रम मिश्रीले भारतका प्रधानमन्त्री मोदीका तर्फबाट औपचारिक भारत भ्रमणको निमन्त्रणा दिनुुभएको छ । प्रधानमन्त्री ओलीले निमन्त्रणाका लागि धन्यवाद दिनुुभएको छ,’ भेटपछि प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले भने ।

भेटमा प्रधानमन्त्री ओलीले पनि भारतसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै आफू दुई देशको सम्बन्ध पारस्परिक हितमा अघि बढाउन चाहेको बताएका थिए । विदेशसचिवका रूपमा दोस्रोपटक नेपाल आएका मिश्रीले भारतको छिमेक प्रथम नीतिमा नेपालको स्थान विशिष्ट रहेको सन्देश दिए ।