
आफ्नो शौर्यको बलमा सिंगो भारतमा मौर्य साम्राज्यको ध्वजा फहराउन सफल चन्द्रगुप्त मौर्यले राज्याभिषेकपूर्व आफू राजा बन्न अनिच्छुक भएको बताए । यो सुनेपछि उनका मुख्यमन्त्री तथा गुरु चाणक्य उनीसामु उपस्थित भए र प्रश्न गरे— चन्द्रगुप्त, तिमी मगधका सम्राट् बन्न अनिच्छुक छौ भन्ने सुन्दै छु । के यो सत्य हो ?
चन्द्रगुप्तले शिर झुकाएर जवाफ दिए– हजुरले ठिक सुन्नुभयो गुरुदेव ! चाणक्यले प्रश्न गरे– आखिर किन ? के समस्या भयो सम्राट् बन्नमा ? चन्द्रगुप्तले जवाफ दिए– जहिलेदेखि म यहाँ आएँ, आफ्नो इच्छाले साससमेत लिन सकेको छैन । हजुरले त मलाई एउटा चक्रवर्ती साम्राज्यको सम्राट् बन्ने सपना देखाउनुभएको थियो । तर, अहिले आएर मैले सम्राट् बन्नु भनेको तलब लिने दासभन्दा बढी केही होइनरहेछ भन्ने बुझेँ । त्यसैले, म यो पद छाड्न चाहन्छु । चन्द्रगुप्तको गुनासो सुनेपछि चाणक्यले भने– तिमीले ठिक बुझेछौ ।
सम्राट् भनेको तलबी कर्मचारीबाहेक केही होइन । चन्द्रगुप्तले जवाफ दिए– त्यसोभए यो साम्राज्य तपाईं आफैँसित राख्नुहोस्, मलाई कुनै सम्राट् बन्नु छैन । चाणक्यले प्रश्न गरे– त्यसो भए तिमीलाई सुखी बन्नु छ, होइन त चन्द्रगुप्त ? चन्द्रगुप्तले चाणक्यसित सोधे– के सम्राट् सुखी हुनुहुँदैन हो ? चाणक्यले गम्भीर हुँदै भने– चन्द्रगुप्त, जबसम्म तिम्रो राज्यमा एकजना व्यक्ति मात्रै पनि भोकै रहन्छ, के त्यतिखेर तिमी सुखी रहन सक्छौ ? शिक्षक र सम्राट्को भाग्यमा सुख हुँदैहुँदैन ।
के तिमीलाई सम्झना छैन, मैले तिमीलाई साम्राज्य दिने वचन दिएको थिएँ, सुख होइन । के जनताको हितमै राजाको हित हुन्छ भन्ने तिमीले भुल्यौ ? तिमी आफू सुखी बन्न चाहन्छौ भने जनतालाई सुखी बनाऊ । तिमीले साम्राज्य त आर्जन गर्यौ, अब सुख आर्जन गर्ने मार्ग तिम्रै हातमा छ । त्यसलाई कसरी आर्जन गर्ने, यसबारे गम्भीर भएर अहिल्यैदेखि सोच्न थाल ।