मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
हदिश खुद्दार जनकपुरधाम
२o८२ श्रावण ३० शुक्रबार १८:३३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ शक्ति भन्दै अराजकता फैलाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार १८:३३:oo

प्रधानमन्त्री केपी ओलीले आफूलाई ‘नयाँ शक्ति’ भन्ने केही तत्त्वहरूले मुलुकमा अराजकता फैलाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्। मुलुकमा संघीय लोकतान्त्रिक व्यवस्था सहजै नआएको उल्लेख गर्दै उनले शहादत, जेलनेल तथा अनेक कष्ट र संघर्षको परिणामस्वरूप प्राप्त भएको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘केही तत्त्वहरू फेरि विगतका अन्धकारमय दिन फर्काउन लागेका छन्। आमजनतालाई ‘नयाँ शक्ति’ हो भनेर भ्रममा पारिरहेका छन्। भर्खर खुलेका र योगदानविहीन पार्टी नयाँ होइनन्, र तिनलाई वर्तमानको व्यवस्थाप्रति माया पनि छैन।’

प्रधानमन्त्री ओलीले जेलनेल भोगेर र बलिदान दिएर ल्याइएको व्यवस्थालाई भत्काउन चाहनेहरूले देशलाई बर्बादीतर्फ धकेल्न खोजिरहेको टिप्पणी गरे। साथै, जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीहरूले आफूलाई जनताको सेवक ठानी काम गर्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशले भवन निर्माणका लागि गुठी संस्थानबाट लिजमा लिएको जग्गासम्बन्धी पत्रकार र वकिलबिचको विवादबारे पनि प्रधानमन्त्री ओलीले चासो व्यक्त गरे। नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गुठीसँग लिजमा लिएको जनकपुरधाम– ४ स्थित चार कट्ठा जग्गा तारबार गरिरहेका वेला नेपाल बार एसाेसिएसन जनकपुरधामका वकिलहरूको एक समूहले पत्रकारहरूमाथि सांघातिक आक्रमण गरेकाे थियाे।

वकिलहरूको आक्रमणबाट नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतोसहित ६ जना घाइते भएका छन्। प्रधानमन्त्री ओलीले पत्रकारलाई अंगभंग हुने गरी भएको घटनामा तत्काल चासो लिन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशनसमेत दिए। ‘यो विवाद कानुनी संवाद र वार्ताबाट समाधान गर्नुपर्छ, जोरजुलुम गरेर होइन।  अहिले राणाशासन वा राजतन्त्रको समय होइन, व्यवस्था फेरिएको छ,’ प्रधानमन्त्री ओलीले भने।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरीको अभावका कारण अपेक्षित रूपमा सुरक्षा कार्य सम्पन्न गर्न नसकिएको बताए। उनले भारतसँग सिमाना जोडिएको प्रदेशमा मातहतमा पर्याप्त प्रहरी नभएकाले सुरक्षामा चुनौती आएको उल्लेख गरे। साथै, प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरी विशेष प्याकेजको घोषणा गर्न प्रधानमन्त्रीसँग आग्रह गरे।

मुख्यमन्त्री सिंहले चुरे क्षेत्रका स–साना खोलामा ड्याम निर्माण गरी पानी संकलन गर्न सके मधेशमा पानीको समस्या समाधान हुने सुझाव दिए। 

मधेश प्रदेश सरकारले २१ करोड रुपैयाँको लागतमा निर्माण गरेको प्रशासनिक भवनमा अबदेखि कार्य सम्पादन सुरु भएको एआइजिपी दीपक थापाले जानकारी दिए। स्वागत मन्तव्य राख्दै मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीले प्रदेशमा भौतिक पूर्वाधार र दरबन्दीअनुसारको प्रहरी अभावका कारण सुरक्षा व्यवस्थापनमा कठिनाइ भइरहेको बताए।