१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मनीष खड्का रुकुम (पूर्व)
२०७६ असार ५ बिहीबार ११:५६:००
Read Time : > 1 मिनेट
प्रदेश

संस्कृति जोगाउन प्रतियोगिता 

Read Time : > 1 मिनेट
मनीष खड्का रुकुम (पूर्व)
२०७६ असार ५ बिहीबार ११:५६:००

जिल्लाको भुमे गाउँपालिकामा परम्परागत संस्कृतिको जगेर्नाका लागि प्रतियोगिता आयोजना भएको छ । लोपोन्मुख अवस्थामा रहेका परम्परागत सांस्कृतिक सम्पदाको संरक्षणका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेर सोमबारदेखि प्रतियोगिता सञ्चालन गरेको हो । पहिचानका रूपमा रहेका भुमेनाच, झाँक्रीनाच, नचारुनाच, मयूरनाच, पैसेरीनाच, फाँकनाच, झोरेल्नीनाचजस्ता संस्कृति आवश्यक संरक्षण अभावमा लोप हुने अवस्थामा पुग्न थालेको गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताए । 

‘गाउँपालिकाको नामकरण नै भुमेनाचबाट भएको छ,’ उनले भने, ‘गाउँपालिकाको पहिचानका रूपमा रहेका परम्परागत सांस्कृतिक सम्पदाहरू लोप हुने चिन्ता बढेको छ, यिनको संरक्षणमा टेवा पुगोस् भनेर प्रतियोगिताको आयोजना गरेका हौँ ।’ चाडपर्व, मेला, विवाह, पूजाजस्ता सामाजिक संस्कारमा मात्र उक्त नाचहरू सीमित हुन थालेको उनको भनाइ छ । 

‘पुरस्कार तोकेर वर्षमा एकपटक भए पनि प्रतियोगिता आयोजना गर्ने हो भने कम्तीमा प्रतियोगिताका लागि त तयारी गर्छन्,’ उनले भने, ‘यसले पनि युवापुस्तालाई परम्परागत नाचबारे अवगत हुन्छ र बिस्तारै यसमा लाग्न प्रेरित गर्छ ।’ गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल आयोजक तथा मौलिक सांस्कृतिक कला केन्द्र र खाम मिल्टसोसल अर्गनाइजेसन सह–आयोजक बनेर प्रतियोगिता आयोजना गरेका हुन् ।  

६ विधामा प्रतिस्पर्धा 
‘स्थानीय परम्परागत कला–संस्कृति हाम्रो पहिचान, मौलिक संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो सान’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा विभिन्न ६ विधामा प्रतिस्पर्धा भइरहेका छन् । गाउँपालिकाका अनुसार भुमेनाच, नचारुनाच, मयूरनाच, पैसेरीनाच, फाँकनाच र झोरेल्नीनाचका प्रतिस्पर्धा भइरहेका छन् । 
प्रतियोगिताका ६ वटै विधामा भुमेसहित अन्य ठाउँका गरी २२ वटा टिमले सहभागिता जनाएका छन् । भुमेनाचमा सात, पैसेरीनाचमा पाँच, फाँकनाचमा चार, झोरेल्नीनाचमा एक, नचारुनाचमा दुई र मयूरनाचमा तीन समूहले प्रतिस्पर्धा गरिरहेका छन् । गाउँपालिकाको वडा नंम्बर २ खावाङ बगरमा प्रतियोगिता चलिरहेको छ ।

एक लाख पुरस्कार 
गाउँपालिकाले प्रतियोगितामा समाविष्ट विधामा उत्कृष्ट स्थान हासिल गर्ने टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरेको छ । भुमेनाचमा प्रथम हुनेले नगद एक लाख पुरस्कार पाउनेछ । दोस्रो हुने टिमले ७५ हजार पुरस्कार पाउँदा तृतीय र सान्त्वनाले क्रमशः ५० हजार र २० हजार पाउनेछन् ।  नचारुनाचमा भने प्रथमले ७५, द्वितीयले ५०, तृतीयले ३० र सान्त्वनाले १५ हजार, मयूरनाचमा प्रथमले ५०, द्वितीयले ३०, तृतीयले २० र सान्त्वना हुने टिमले १० हजार पुरस्कार पाउनेछन् । पैसेरी, फाँक र झोरेल्नी नाचमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३०, २०, १० र ५ हजार पुरस्कार पाउनेछन् ।