मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
२o८२ श्रावण २७ मंगलबार १९:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केपी ओलीको विकल्प खोज्ने वेला भएको छैन : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १९:४६:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीको विकल्प खोज्ने वेला अहिले नभएको बताएका छन्। एमाले कोशी प्रदेश कमिटीको धनकुटामा सुरु भएको सातौँ बैठकको आज उद्घाटन गर्दै महासचिव पोखरेलले अहिले पार्टी बनाउने वेला भएको बताए।

पार्टी राम्रोसँग चलाउन सक्छु भन्नेहरूको आधारविना नेतृत्वको विकल्प खोज्न नसकिने उनले प्रस्ट्याए। संविधानसभाको निर्वाचनपछि नेपाली जनतामा आशा जगाउने काम ओली नेतृत्वकै सरकारले गरेको दाबी गर्दै उनले एमाले र ओलीमाथि चौतर्फी प्रहार भइरहेको बताए।

नेपालको आर्थिक वृद्धि तीन वर्ष लगातार ४ प्रतिशतले बढाउन ओली सफल भएकाले सरकारबाट बाहिरिएको माओवादी र जनताबाट अस्वीकृत दलहरू ओलीविरुद्ध लागेको पोखरेलको आरोप छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा फर्कने घोषणाबारे पोखरेलले भने, ‘पार्टीले मिल्दैन भनिसक्यो। यस्ता बहसको विषयले पूर्वराष्ट्रपतिको गरिमा र मर्यादामा असर गर्छ। यो कुरा उहाँले बुझ्नुपर्छ।’ भण्डारी पूर्वराष्ट्रपति भए पनि अहिलेसम्म नेपाली सेनाले सुरक्षा दिइरहेको उनको तर्क छ। पार्टी सदस्यताको विषय सार्वजनिक गरेर भण्डारीले एमालेको विधान महाधिवेशनलाई विवादित बनाउन खोजेको उनको बताए।

दुई दिनसम्म चल्ने एमाले कोशी प्रदेश कमिटीको सातौँ बैठकमा कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्यहरू, जिल्ला इन्चार्ज, जिल्ला अध्यक्षहरूलगायतको सहभागिता रहेको एमाले कोशी प्रदेश कमिटीका प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले बताए।