Skip This
पुनर्जन्मको डिलमा नेपाली वाम आन्दोलन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
दामोदर अर्याल
Invalid date format o८:४७:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पुनर्जन्मको डिलमा नेपाली वाम आन्दोलन

अहिले चलिरहेको वाम आन्दोलन र यसका घटकहरूको सान्दर्भिकता बिस्तारै सकिँदै छ, अथवा विसर्जनको तहमा पुग्दै छ

Read Time : > 4 मिनेट
दामोदर अर्याल
नयाँ पत्रिका
Invalid date format o८:४७:oo

शीर्षकमा उल्लेख गरिएको ‘पुनर्जन्म’ शब्द धेरैलाई मन नपर्न सक्छ । किनभने यतिखेरको नेपालमा आफूलाई वामपन्थी भन्ने पार्टी बगे्रल्ती भएको वेलामा पुनर्जन्मको कुरा कहाँबाट आयो भनेर प्रश्न गर्न नसकिने होइन । विभिन्न रङका वामबाट आममान्छेसमेत दिक्क भइरहेको सन्दर्भ त छँदै छ, त्यसबाहेक आफूलाई वाम भन्नेहरूका मुखियाबाट त झनै यो शब्दको प्रतिकार नै नहोला पनि भन्न सकिन्न । जे होस्, शीर्षकको यो ‘पुनर्जन्म’ भन्ने शब्द विवादास्पद छ र हुन्छ । 

माथि मैले उल्लेख गरेँ, विभिन्न रंगका वामहरू । यो सत्य हो, किनकि सत्तामा पनि आफूलाई असली वाम भन्नेहरू छन्, विपक्षमा पनि आफूलाई खाँट्टी वाम भन्नेहरू नै देखिन्छन् । त्यति मात्र होइन, संसदीय चुनावमा भाग लिनेहरू र नलिनेहरू पनि आफूलाई वाम भन्नेहरू नै हुन् । यतिले मात्र पुग्दैन, वर्तमान संविधान मान्ने वामहरू र संविधान नै नमान्ने वामहरू पनि भेटिन्छन् यहाँ । संघीयताको विकल्प नदेख्ने र यसका जनकहरू पनि वाम नै हुन् । त्यसवाहेक संघीयताविरुद्ध तीन हात उफ्रने वामहरू पनि हामी सबैले व्यहोरेकै छौँ । यस्ता हरफ धेरै लेख्न सकिन्छ ।

कांग्रेससँग मिलेर संसदीय चुनाव लड्ने वामहरू पनि छन् यहाँ र राजावादीसँग मिलेर चुनाव लड्ने वामहरूको पनि कमी छैन यहाँ । कांग्रेसलाई दलाल भन्ने वामहरू पनि यहीँ छन् र कांग्रेससँग मिलेर संयुक्त सरकार चलाउने वामहरू पनि देखिएकै छन् । पाठकहरूलाई दिक्क लाग्दैन भने एक दुई हरफ अरू थपाैँ । भारतलाई खुसी पार्न आफ्नै पूर्वउपाध्यक्षलाई सदस्यता च्युत गर्ने राष्ट्रवादी वाम, अमेरिकालाई खुसी पार्न व्याख्यात्मक टिप्पणी गरेर नै भए पनि एमसिसी पास गर्ने अर्को साम्राज्यवादविरोधी वाम, पहाडका दुर्गम कुनाकन्दरामा विश्व पुँजीवादका प्रतिनिधिलाई सफाया गर्ने क्रान्तिकारी वाम, पुँजीवादी समाजमा निरन्तर सामन्तवाद खोज्ने जबजवादी वाम ! के–के मात्र र कहाँ–कहाँ मात्र छैनन्, यहाँ वाम ?

आफूसँग ५० वर्ष सँगै सहकार्य गरेको एउटा कमरेडले अर्को कमरेडको नाम लिँदा ‘कुल्ला गर्नुपर्छ’ भन्नु र एउटा कमरेडले आफैँसरहको अर्को कमरेडलाई ‘पार्टी छोडेर जा’ भन्नुले वाम आन्दोलनलाई बल देला त ? 

अनेकौँ रूपरंग, आनीबानी, व्यहोरा र हर्कतका बाम पार्टीहरू बोक्न अभिशप्त भएका नेपाली जनतासामु फेरि एकचोटि प्रश्न गर्नैपर्ने भयो, आखिर वाम विचारधारा भनेको के हो ? यसको व्याख्या साधारण छ । यसले भन्छ, ‘जीवन र जगत् निरन्तर परिवर्तनशील छ ।’ आज हामीले हाम्रो जीवनमा जे व्यहोरिरहेका छौँ, त्योभन्दा अगाडि हाम्रो समाज अवश्य बढ्छ भन्ने सत्य आत्मसात् गर्नु र बढ्न खोज्ने प्रयत्न गर्नु नै वामपन्थता हो ।

यही निरन्तर परिवर्तनका कारणले नै ७० हजार वर्षअगाडि पृथ्वीमा विकशित भएका सेपियन्सहरू आजका आधुनिक मान्छेमा रूपान्तरित भएका हुन् । जीवन र जगत्को यो परिवर्तनशील चरित्रलाई सिद्धान्ततः स्वीकार गर्ने, यसको पक्षपोषण गर्ने, यसका लागि निरन्तर क्रियाशील रहने र सोच्ने यो तरिकालाई हाम्रो जीवन, राजनीति, समाज र अर्थतन्त्रमा अथवा क्रान्ति र समाजवादको चाहनामा प्रयोग गर्ने मनसाय राखियो भने वाम आन्दोलन एउटै कलरमा रूपान्तरित हुन धेरै दिन पर्खनुपर्दैन । तर, समस्या चाहनामा छ । त्यसकारण वस्तुस्थिति पनि फरक छ ।

मज्जाले मार्क्सवाद पढ्ने एउटा नेता वा कार्यकर्तालाई तपाईंको जिन्दगीको अन्तिम चाहना केहो भनेर सोध्ने हो भने आ–आफ्नो पार्टीको हैसियतअनुुसार ऊ लाजै नमानी वडाध्यक्षदेखि राष्ट्रपतिसम्म बन्ने चाहना व्यक्त गर्छ । सत्तालिप्साको भयानक र डरलाग्दो सामाजिक तथा राजनीतिक क्यान्सरबाट वाम हाम्रो आन्दोलन पूरै आक्रान्त भएको छ ।

हाम्रो वाम आन्दोलन सत्तालिप्सामा यति धेरै दुर्गन्धित हिलोमा फस्यो कि यसका ‘सुप्रिमो’हरू जीवन र मृत्युको शाश्वत सत्यलाई समेत अस्वीकार गर्दै छन् । उदाहरण यत्रतत्र भए पनि अहिले कमरेड केपी ओलीलाई मात्रै उद्धरण गरे पुग्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले म ७४ वर्षको भएँ, बिस्तारै मेरो कपाल कालो हुँदै छ, अब म कम्तीमा २५ वर्ष एमाले अध्यक्ष हुन्छु, कुनै साथीलाई अध्यक्ष हुन मन भए अब २५ वर्ष मात्र कुरे पुग्छ, त्यसपछि त म छोडिदिहाल्छु ।’

अबको वाम एकता अहिले भनिएका वाम पार्टीहरूबिच होइन, वामपन्थीबिच हुनुपर्छ । त्यस्ता एकता वार्ता आलिसान होटेल या व्यापारीका बैठक कोठाहरूमा होइन, माइतीघर मन्डला र शान्तिवाटिकाका खुला सडकमा हुनुपर्छ 

अब २५ वर्षपछि एमाले अध्यक्षवाट राजीनामा दिने कमरेड ओलीको यो हार्दिकता र सदाशयतालाई हार्दिक धन्यवाद दिनैपर्छ । कम्तीमा उहाँले २५ वर्षपछि भए पनि छोड्छु त भन्नुभयो । अरूले त समयसीमा नतोकीकनै रजगज गरिरहेका छन् । फेरि पनि यसबाट उत्पन्न हुने एमाले कन्तबिजोगको हिसाब कसले गर्ला ? यस सन्दर्भमा यतिखेर हामी यति मात्रै भन्न सक्छौँ, एमालेको कन्तबिजोग अन्ततः नेपाली वाम आन्दोलनकै पतनोन्मुख दिशा हो । 

हाम्रो वाम आन्दोलनको प्रमुख समस्या सत्तालिप्सा मात्र होइन, यसबाट उत्पन्न भएको भयानक सांस्कृतिक पतन अर्थात् अधोगति पनि हो । आफूसँग ५० वर्षसँगै सहकार्य गरेको एउटा कमरेडले अर्को कमरेडको नाम लिँदा ‘कुल्ला गर्नुपर्छ’ भन्नुले कसरी वाम आन्दोलनलाई गति दिन सक्ला ? एउटा कमरेडले आफैँसरहको अर्को कमरेडलाई ‘पार्टी छोडेर जा’ भन्नुले त्यो पार्टीको भविष्य कता जाला ? हाम्रो आन्दोलन विश्व आन्दोलनकै एउटा हिस्सा हो भन्ने सत्यलाई बुझपचाएर पार्टीलाई प्रालिमा रूपान्तरण गरिरहेको देख्दादेख्दै पनि कार्यकर्ता चुक्क बोल्दैनन् । किनकी ती कार्यकर्ता पनि पार्टीको कामका नाममा समग्र मानवजातिको कल्याणका लागि मैले काम गरिरहेको छु भनेर गौरव गर्दैनन्, बरु उनीहरू वडाध्यक्ष हुने लालसामा सुप्रिमोहरूको जयजयकार गर्दै दासताको र्‍याल काडिरहेका देखिन्छन् ।

सत्तालिप्सा र सांस्कृतिक पतनले निम्त्याउने के हो ? निःसन्देह वैचारिक विचलन । वैचारिक विचलनले आन्दोलन बरालिन्छ । हो, यतिखेर हामी यही बरालिएको वाम आन्दोलनका सदस्य हाैँ । हामी सबै बरालिएको यो वेलामा हाम्रो मुख्य काम के हुन सक्छ त ? यसको पनि उत्तर छ । सबभन्दा पहिला त हामीले हाम्रो धरतीमा विश्व पुँजीवादले थोपरेको शिक्षा नीति, स्वास्थ नीति, कृषि नीति र उद्योग नीतिको भन्डाफोर गर्दै विकल्पमा हाम्रा वामनीतिहरू सार्वजनिक गर्न सक्नुपर्छ ।

मान्छेहरू गोलबन्द हुने नीति र कार्यक्रममा नै हो । यो नीति र कार्यक्रम निर्माणमा ठुलो शास्त्रार्थको आवश्यकता छ, अर्थात् निर्मम विचारधारात्मक संघर्ष । विचारधारात्मक संघर्षले हाम्रा सबै वाम घटकलाई निश्चित रूपमा प्रभाव पार्छ । यसबाट हरेक घटकमा विद्रोहका स्वर मुखर रूपमा सुनिन थाल्छन् । त्यसका केही संकेत देखापर्न थालेका पनि छन् । ती संकेतको निरन्तर विकासले निर्माण हुने समान धारणाबाट उनिहरूलाई एक ठाउँमा आउन बाध्य पार्नेछ । त्यो परिस्थितिलाई वाम ध्रुवीकरण भन्न सकिएला र चलनचल्तीको भाषामा ‘वाम एकता’ । हो ! हामी त्यही वाम एकताको पर्खाइमा छौँ ।

यो लेखका माथिल्ला हरफ पढ्दा यसको शिर्षक मृत्युको मुखमा नेपाली बाम आन्दोलन हुनुपर्ने थियो । तर, पंक्तिकार बरालिएकै भए पनि वाम आन्दोलनकै सदस्य हो । वाम आन्दोलनको सदस्यले जन्म र मृत्यको शाश्वत सत्यमा विश्वास राख्छ । त्यसैले, यसको शीर्षक पुनर्जन्मको डिलमा नेपाली वाम आन्दोलन राखिएको हो ।

यो भनेको के हो ? नडराईकन र निर्धक्क के भन्न खोजिएको हो भने अहिले चलिरहेको तथाकथित वाम आन्दोलन र यसका घटकहरूको सान्दर्भिकता बिस्तारै सकिँदै छ, अथवा विर्सजनको तहमा छ । तर, यो विर्सजनले नेपाली वाम आन्दोलन रोकिँदैन । यसैको जगमा यसका कमजोर पक्षलाई पराजित गर्दै नयाँ, झनै परिष्कृत र एकताबद्ध आन्दोलन जन्मिनेछ । यसको गर्भाधान विभिन्न वाम पार्टीमा भइसकेको छ । त्यसैले त त्यहाँ विद्रोहका स्वर सुनिन थालेको पाइन्छ । यसबाट के भन्न सकिन्छ भने, हामीले आजभन्दा केही वर्षअगाडि एमालेबाट गरेको विद्रोह झनै पुष्टि भएको छ । त्यो विद्रोहले थप विद्रोहको आधारशिला निर्माण भएको तथ्यमा कुनै शंका छैन ।

अन्तिम हरफमा यतिचाहिँ भनूँ, अबको वाम एकता अहिले भनिएका वाम पार्टीहरूबिच होइन, वामपन्थीबिच हुनुपर्छ । त्यस्ता एकता वार्ता आलिसान होटेल र व्यापारीका बैठक कोठामा होइन, माइतीघर मण्डला र शान्तिवाटिकाका सडकमा हुनुपर्छ । आन्दोलनको मैदानमा भुइँमै पलेँटी कसेर र भुइँ मान्छेहरूकै रोहवरमा गरिने वाम एकताले नै सामाजिक परिवर्तनमा भूमिका खेल्ने हो । अन्यथा, एकथान ओली र अर्को थान दहाल जन्माउने एकता कामदारवर्गका लागि ‘हात्ती आयो–आयो फुस्सा’ भन्नेबाहेक केही हुनेछैन ।

तसर्थ, हामी एउटा बृहत् वाम आन्दोलनको जन्मका लागि काम गराैँ । त्यो काम गराइको प्रारम्भ विन्दु फेरि पनि हाम्रा आफ्नै पार्टीहरू नै हुन् । त्यसका लागि आफ्नै पार्टीलाई विचारधारात्मक र सांगठनिक हिसाबले एकताबद्ध बनाउन सक्नुपर्छ । त्यसका लागि पनि वाम विचारधाराले बोल्छ– ‘संघर्ष अनिवार्य छ, त्यो पनि निर्मम’ ।
(अर्याल नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा प्रचार विभाग उपप्रमुख हुन्)