Skip This
मधेशीलाई ठान्दैनथे मान्छे
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 09 August, 2025
पवन बराइली काठमाडाैं
Invalid date format १o:५६:oo
Read Time : > 6 मिनेट
फिचर प्रिन्ट संस्करण

मधेशीलाई ठान्दैनथे मान्छे

मधेश आन्दोलनपछि हामी ‘धोती’ र ‘भैया’बाट ‘फोरम’मा बढुवा भयौँ

Read Time : > 6 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५६:oo
  • नेपाली सिने जगतमा राम्रा सिनेमा निर्देशन गर्ने थोरै निर्देशकमध्येका एक हुन्, दीपक रौनियार । उनका ‘हाइवे’, ‘सेतो सूर्य’, ‘राजागंज’ जस्ता सिनेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा निकै रुचाइए । पछिल्लो समय अमेरिकाको वोस्टन युनिभर्सिटीमा सिनेमा अध्यापन गराइरहेका उनीसँग पवन बराइलीले सहरका भोगाइबारे कुराकानी गरेका छन् : 

सप्तरीमा जन्मिएँ, उदयपुरमा हुर्किएँ । पढाइ पनि उदयपुरमा नै भयो । बुबाको उदयपुरमा पसल थियो, त्यसैले सप्तरीमा भन्दा उदयपुरमा धेरै बसिन्थ्यो । हामी बसेको गाउँमा पहाडका क्षेत्री–ब्राह्मण र जनजाति थिए । म स्कुल पढ्ने वेलासम्म हरेक गाउँमा मुखिया हुन्थे । त्यहाँ उनीहरूकै शासन हुन्थ्यो । मधेशी एक–दुई घरमा मात्रै थिए । पहाडेहरूको दबदबामा दलित, मधेशी समुदाय बाँच्नु पर्थ्यो । उनीहरूले कुटे पनि पनि हामी खपेरै बस्थ्यौँ ।

हाम्रो पसलमा पहाडे मूलका गाउँले आउँथे । उनीहरूले जे माग्यो, त्यही दिनुपर्थ्यो । जो मुखिया थिए, उनीहरूले सामान किनेको पैसा दिँदैनथे । उनीहरूकै स्वर ठुलो हुन्थ्यो । सामानको पैसा माग्यो भने ‘धोती, भैया’जस्ता शब्दले गाली गर्थे । उनीहरू बाटोमा भेट्दा पनि कुट्न आइलाग्थे । मधेशीलाई मान्छे नै ठान्दैनथे । तर, अहिले त्यहाँका नयाँ पुस्तासँग मेरो राम्रो सम्बन्ध छ ।

मलाई बाल्यकालको एउटा घटना अझै ताजा छ, म त्यतिवेला कक्षा ५ मा पढ्थेँ । आफूभन्दा जुनियर क्लासलाई पनि पढाउँथेँ । गाउँकै रमण भट्टराई भन्ने भाइलाई म पढाउन उसको घर जान्थेँ । कहिलेकाहीँ उसैको घरमा खाना खाइन्थ्यो पनि । एक दिन खाना खाएर रमण र मैले भाँडा माझ्दै थियौँ । त्यति नै वेला एकजना पहाडे छिमेकी बाजे आएर ‘मदेसीले खाएको भाँडा बाहुनले माझ्ने ? यो मदिसेलाई मार्छु...’ भन्दै मलाई लात्ताले बजाइहाले । म त्यहीँ पल्टिएँ । रमण भाइ त भागिहाल्यो । लात्ताले हानेपछि झपार्नु झपारे । अर्काे, गाउँमै जनजाति समुदायका मान्छेले मेरो आँखै अगाडि बुबालाई पटक–पटक कुटे । त्यसले मलाई लामो समयसम्म मानसिक आघात पार्‍यो । केही घटना यस्ता छन्, जसलाई चाहेर पनि मैले अहिलेसम्म बिर्सन सकेको छैन । मधेशी भएकै कारण शारीरिक र मानसिक याताना सहनुपर्‍यो ।

हरिया भन्दै टुप्पी तान्थे
स्कुलमा पनि जनजाति र ब्राह्मण समुदायको विद्यार्थी नै धेरै हुन्थे । मधेशी समुदायका एक–दुईजना मात्रै हुन्थे । तर, स्कुलमा केही शिक्षक मधेशी मूलकै हुन्थे । उनीहरूले अरू समुदायका विद्यार्थीलाई केही भन्न सक्दैनथे । अरूको रिस उनीहरूले मलाई पोख्थे ।

स्कुलमा नाम मेरो ‘हरिनारायणप्रसाद गुप्ता’ थियो । त्यसैले मलाई शिक्षकहरूले स्कुलमा ‘हरिया’ भनेर बोलाउँथे । पछि हरिलाई दीपकमा परिवर्तन गर्न खोजेँ । तर, हेडमास्टरले परिवर्तन गर्न दिएनन् । अरू कक्षाका साथीले पनि हरिया भन्दै कुट्थे । मधेशी ‘धोती’ भन्दै पटक–पटक कक्षाकोठामै कुटेका छन् । हरिया शब्दले मलाई धेरै नै मानसिक पीडा दियो । ३–४ कक्षामा हुँदासम्म बुबाले कपाल काट्दा टुप्पी राखिदिनुहुन्थ्यो । सबैले हरिया भन्दै टुप्पी तान्दिथे । त्यो टुप्पी उनीहरूका लागि मजाक बन्यो । मलाई टुप्पी जोगाउँनै मुस्किल हुन्थ्यो । कहिलेकाहीँ टुप्पीमा तानेर लडाइदिन्थे ।

‘हरिया’ भनेपछि मलाई आफ्नो नामप्रति घृणा जाग्यो । यो नामले कसैले नबोलाइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । तर, स्कुलभरि हरिया भनेर बोलाउँथे । घरमा दीपक भनेर बोलाइन्थ्यो । बुबाको थर रौनियार नै थियो । तर, मेरो थरचाहिँ किन गुप्ता बनाइदिनुभयो भन्ने बुझिनँ । पछि बुझेँ, गुप्ता लेख्यो भने समाजमा इज्जत बढ्छ भनेर राखिदिए सायद ।

घरबाट स्कुल पुग्न ४५ मिनेट लाग्थ्यो । तर, स्कुल जान पनि कसैको साथ लागेर जानुपर्थ्यो । बाटो एक्लै हिँड्दा धोती भनेर कुट्न आइहाल्थे । 

त्यतिवेला भैया, धोती, मदिसे भन्ने शब्द सामान्य थिए । यस्ता चरम विभेद र अपमान सहँदै मेरो बालापन बित्यो । स्कुले जीवनमा भोग्नुपरेका यस्ता घटना कहिल्यै नबिर्सने गरी मेरो मस्तिष्कमा बसेका छन् । त्यस्तो समाजमा कसरी पढेँ हुँला, अहिले सम्झिँदा अचम्म लाग्छ ।

आलो छ सम्झना 
एसएलसी पछि ०५० मा विराटनगर गएँ । विराटनगर जाँदासम्म हेपाइ पचाइसकेको थिएँ । विराटनगर र उदयपुर मेरा लागि फरक थिएन । विराटनगरमा पनि मजस्तो मान्छेलाई पढ्न, काम गर्न निकै गाह्रो थियो । तर, मैले पढाइसँगै पत्रकारिता गर्ने सोच बनाएँ । मैले केही पत्रकार साथीभाइसँग संगत बढाएँ । बिस्तारै अरू समुदायका साथी पनि बनाएँ । त्यसपछि आफूलाई सुरक्षित भएको महसुस गर्न थालेँ ।

बाहिर आफूलाई पत्रकारका रूपमा चिनाउँदा सुरक्षित ठान्थेँ । त्यतिवेला अमर निरौला, शम्भु भट्टराईलगायत साथी थिए । उनीहरूको साथ लागेर हिड्थेँ । उनीहरूसँग हिँडेपछि एक किसिमिले सुरक्षित महसुस गर्न थालेँ ।

पत्रकारिता गरेपछि लेख्न सक्ने भएँ । दबिएर बस्नु हुँदैन भन्ने लाग्यो । पत्रिकामा लेख्न थालेपछि मलाई हेर्ने व्यवहारमा पनि परिवर्तन भयो । तर, केही सीमित ठाउँमा मात्रै मलाई चिन्थे । उनीहरूले राम्रै व्यवहार गर्थे । नचिनेको ठाउँमा ‘भैया’ ‘धोती’ भनिहाल्थे । सार्वजनिक गाडीका चालकले समेत राम्रो व्यवहार गर्दैनथे । विराटनगरमा हुँदासम्म कहिल्यै धरान र काँकरभिट्टाको बस चढिनँ । ती बसमा चढ्दा ‘मदिसे’ भन्दै हेप्थे । प्रतिवाद गर्‍यो कि कुटाइ खाइन्थ्यो ।

२०५४ सालमा पूर्णकालीन पत्रकार हुँदै काठमाडौं आएँ । मेरा लागि काठमाडौं झन् सहज थिएन । पत्रकारिताले मलाई काठमाडौंमा चिनाएको थिएन । यहाँको भूगोल र समाज मेरा लागि अपरिचित थियो । त्यसमा पनि म मधेशी समुदायको मान्छे । मेरो अनुहार देख्नेबित्तिकै अर्कै नजरले हेर्थे । कतै नामले परिचय गर्दा कहाँको रौनियार हो ? भनेर प्रश्न गर्थे । तर, म काठमाडौंमा टिक्नु थियो । विराटनगरमा पत्रकारिता गर्दा केही साथीसँग चिनजान भइसकेको थियो । जसले गर्दा काठमाडौंमा बस्न सजिलो भयो । पत्रकार आश्विनी कोइराला र अच्युत कोइरालासँगै कोठा सेयर गरेर बसेँ । म आफैँले कोठा खोजेर बस्ने सम्भावनै थिएन ।

काठमाडौं आउने नाइट बस चढ्न डर लाग्थ्यो । गाडीवालाले कुटिहाल्ने पो हो कि भन्ने त्रास हुन्थ्यो । गाडीमा कसैले ठुलो स्वरमा बोल्यो कि चुपचाप बस्थेँ । काठमाडौंमा एक्लै बाहिर किनमेल गर्न जाँदा अर्कै नजरले हेर्थे । ‘कहाँबाट आयो भैया, धोती,’ जस्ता शब्द प्रयोग गर्थे । त्यसैले आफू नहेपिनका लागि पहाडे समुदायका साथी बनाइहाल्थेँ । आशा मगराती (श्रीमती) सँग संगत भयो । म जहिल्यै अरूको प्रोटेक्ट खोज्थेँ । उनीसँग हिँडेपछि आफूलाई ‘प्रोटेक्ट’ भएको महसुस हुन्थ्यो ।

पुलिसले ल्यापटपको बिल माग्यो
२०५७ सालतिर म बिबिसी नेपाली सेवामा काम गर्थेँ । त्यसवेला ‘कथा मिठो सारंगीको’ नाटक निर्देशन गर्थेँ । डकुमेन्ट्रीको काम पनि गर्न थालेको थिएँ । मसँग आशा मगराती थिइन् । म उनको स्कुटर पछाडि बसेको थिएँ । रातको ८/९ बजेको थियो होला । त्यतिवेला हामी सानेपा बस्थ्यौँ । कुपन्डोल पुलमा पुलिसले रोक्यो । पुलिसले मेरो अनुहार हेर्‍यो, अनि केरकार गर्न थाल्यो । मेरो झोला खोतालेर हेर्‍यो । पुलिसले एकदमै अपशब्द बोल्यो । ‘यो ल्यापटप कहाँबाट आयो ? कसको ल्यापटक चोरेर ल्याइस् ? यसको बिल तुरुन्त झिक् ‘धोती’, भन्दै गाली गर्न थाल्यो । मैले राम्रोसँग भनेँ, ‘बिबिसीमा काम गर्छु । डकुमेन्ट्री र नाटकमा निर्देशन गर्छु,’ भनेँ । पुलिसले पत्याउँदै पत्याएन । निकैबेर पुलिसले रोकिरह्यो । मेरो केही सीप नचलेपछि आशाले पुलिससँग प्रतिवाद गरिन् । त्यसपछि पुलिसले मलाई छोड्यो । हामी कोठातिर गयौँ । यो एउटा प्रतिनिधि घटना मात्रै हो ।

काठमाडौंका चोक/गल्लीमा केटाहरूको ग्याङ बसेको हुन्थ्यो । मलाई विनाकारण उनीहरूले ‘धोती’ भन्दै थर्काउँथे । एकपटक बानेश्वर चोकमा विनाकारण कुटाइ खाएँ । त्यतिवेला म समाचार पत्रमा काम गर्थेँ । त्यस दिन अफिसबाट फर्किन अलि ढिला भएको थियो । चोकमा केटाहरूको एउटा समूह बसिरहेको रहेछ । अकस्मात् उनीहरूले आएर मलाई कुट्न थाले । ‘कहाँ हिँडिस् धोती’ भन्दै कुटे । म चुपचाप सहेर बसेँ । हामीलाई किन यसो गर्छन् होला भन्ने प्रश्न मनमा उब्जिन्थ्यो ।

काठमाडौंमा मधेशी अनुहार देख्नेबित्तिकै बस रोकिँदैनथ्यो । बस रोक्न हात देखायो भने ‘खुट्टा भाँच्दिऊँ धोती ?’ भन्दै गाली गर्थे । झगडा गर्नुहुँदैन, खपेर बस्नुपर्छ भन्ने लाग्थ्यो । बस नरोकेपछि कोठासम्म हिँड्दै जान्थेँ । तर, सडकमा हिँडेको देख्यो कि पुलिसले रोकिहाल्थ्यो ।

काठमाडौंका घरवालाले कालो छाला देखेपछि कोठा खाली भए पनि देखाउन मान्दैनथे । काठमाडौंका गल्लीमा साँझ–बिहान एक्लै हिँड्न डर लाग्थ्यो । भोक लाग्दा होटेलमा जान सक्दिनथेँ । हिम्मत गरेर होटेलमा पस्दा खाजा/खाना केही पाइँदैन भन्थे । मलाई धोती, मदिसेजस्ता शब्द सामान्य लागिसकेको थियो । मधेश आन्दोलनपछि मधेशीलाई गाली गर्ने अर्को शब्द आयो,‘फोरम’ । मधेश आन्दोलनपछि हामी ‘धोती’ र ‘भैया’बाट ‘फोरम’मा बढुवा भयौँ ।

सरकारी निकायमा केही काम गर्न जाँदा कहिल्यै काम बन्दैनथ्यो । हामीजस्ताका लागि एकदमै ढिलासुस्ती गर्थे । नियतवश विभिन्न वहानामा अल्झाइदिन्थे । 

०६६ तिरको कुरा हो । नागरिकताको प्रतिलिपि पाउन चार महिना लाग्यो । राजविराज क्याम्पसको विद्यार्थी समूहको दबाबपछि मात्रै मैले नागरिकता पाएँ । किनभने, त्यहाँको जिल्ला प्रशासन अधिकारी पहाडे समुदायको थियो । सरकारी निकायको काम म एक्लै गएर बन्दैनथ्यो । पासपोर्ट बनाउन केदार शर्मा दाइलाई लिएर जानुपर्‍यो । किनभने, मैले नागरिकता बनाउन पनि निकै हन्डर खाइसकेको थिएँ । केदार शर्मा दाइसँग गएपछि आधा घण्टामा मेरो पासपोर्ट बन्यो । चलचित्र विकास बोर्ड वा सेन्सर बोर्ड जानुपर्‍यो भने पनि अरूकै सहारा लिनुपर्थ्यो ।

२०५८ सालतिर हुनुपर्छ । संयोगले ‘पर्‍यो नि माया जालैमा’ फिल्ममा काम गर्न पुगेँ । त्यो फिल्ममा प्रोडक्सन म्यानेजरले साह्रै हेप्थ्यो । मलाई अपशब्द बोल्थ्यो । त्यहाँ सिंगो टिमले नै फरक नजरले हेरे । फिल्ममा हामीजस्तो मान्छेले काम गर्ने होइन रहेछ भन्ने लाग्यो । त्यस्तो खालको संगत छोडिदिएँ । एकताका मेरो नजिकको साथी अभिनेता निखिल उप्रेती थिए । म निखिलसँग फिल्म सुटिङ सेटमा जान्थेँ । निखिलसँग जाँदा हेर्ने नजर अर्कै हुन्थ्यो ।

बिस्तारै निर्देशक नवीन सुब्बा दाइको संगत गर्न थालेँ । नवीन दाइ र पदम सुब्बासँग हिँड्न थालेँ । निर्देशक छिरिङ रितार शेर्पासँग पनि काम गर्न थालेँ । बिस्तारै राम्रा मान्छेको संगत बढ्दै गयो । म फिल्ममा काम गर्न सक्ने भएँ । नत्र मजस्तो मान्छेले यो फिल्म उद्योगमा काम पाउन निकै कठिन हुन्थ्यो । पत्रकारिता र फिल्मले राम्रा मान्छेसँग चिनजान गरायो । फिल्मले मलाई विश्व घुमायो ।

म कहिलेकाहीँ पशुपति, बौद्ध, पाटन वा स्वयम्भू जाँदा मानिसहरू मसँग हिन्दीमै बोल्न आउँछन् । रेस्टुरेन्टमा हिन्दीमै सोध्छन्, ‘क्या चाहिए भैया...?’ मैले नेपाली बोल्न थालेपछि अप्ठ्यारो मान्दै उनीहरू पनि नेपालीमा बोल्न थाल्छन् ।

फिल्म मेकिङमा आइसकेपछि मलाई गर्ने व्यवहारमा फरक पाउँछु । फिल्म वा थिएटरका नयाँ पुस्ताले सम्मान पनि गर्छन् । कतिपयले मैले गरेको कामलाई ‘अप्रिसियट’ गर्छन् । सीमित र चिनेजानेको ठाउँमा पहिलेजस्तो धोती र भैया भन्दैनन् । तर, अझै पनि एक्लै काठमाडौंका सार्वजनिक यातायातमा चढ्न डर लाग्छ । 

मैले प्रस्ट नेपाली भाषा बोल्दा पनि शंका गरिन्छ । कतिपय चिनजानकै साथीभाइले भारतीय भएर पनि कस्तो राम्रो नेपाली बोलेको भन्दै हाँस्छन् । कतिपयले सोध्छन्, ‘तपाईँ कहाँको रौनियार हो ? यताको रौनियार कि उताको ?’ यस्ता प्रश्नको सामना पटक–पटक गर्नुपर्छ । मैले नेपालमा मात्रै होइन, अमेरिकाको न्युयोर्कमा पनि यस्ता प्रश्नको सामना गर्नुपर्छ । मैले नेपाली प्रस्ट बोल्दा पनि शंका गरिन्छ । कहिलेकाहीँ साथीभाइसँगको भेटघाटमा श्रीमतीले जिस्क्याएर, ‘मेरो श्रीमान् मधेशी हो’ भनिदिन्छिन् । उनीहरूले छक्क परेर मधेशीजस्तो देखिनुहुन्न भन्छन् । अहिले मलाई विभेद गर्ने स्वरूपमा परिवर्तन भएको छ । अमेरिका पुगे पनि भोगाइ उस्तै छ । न्युयोर्क वा वासिंटन डिसीमा नेपाली काउन्सुलरमा एक्लै गई काम गर्न सक्दिनँ । कुनै काम गर्नु परे आशा (श्रीमती) लाई अघि बढाउनुपर्छ ।

अझै पनि मधेशी समुदायलाई हेर्ने दृष्टिकोण बदलिएको छैन । मधेशीलाई अझै पनि काठमाडौँमा ‘भैया’, ‘धोती’, ‘मदिसे’ भन्दै हेप्छन् । यस्तो अमानवीय व्यवहार गरेको देख्दा मन कुँडिन्छ । हामीचाहिँ कुन देशका नागरिक हौँ ? मधेशका चाहिँ मान्छे होइनन् र ? मधेशका मानिसलाई अर्कै ग्रहको मान्छेजस्तो किन ठानिन्छ ? कालो छाला र बोल्ने लवज फरक हुँदैमा गैरनेपाली ठान्न मिल्छ र ?