Skip This
कुलिङ पिरियड छलछाम प्रकरण : रामहरि पदमै रहँदा कांग्रेसमाथि पनि प्रश्न, समिति सभापतिबाट राजीनामा दिन पार्टीभित्रै दबाब 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 07 August, 2025
शुरोजंग पाण्डे काठमाडाैं
Invalid date format o५:५६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कुलिङ पिरियड छलछाम प्रकरण : रामहरि पदमै रहँदा कांग्रेसमाथि पनि प्रश्न, समिति सभापतिबाट राजीनामा दिन पार्टीभित्रै दबाब 

सभापति रामहरि खतिवडा भन्छन्–पार्टी सभापतिसँग समन्वय गरेपछि निर्णय लिन्छु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५६:oo

संघीय निजामती विधेयकमा दुई वर्ष कुलिङ पिरियड राख्ने व्यवस्थामा गरिएको छलछाममा मुछिएका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडामाथि पदबाट राजीनामा गर्न दबाब बढेको छ । संसदीय छानबिन समितिले सभापतिको हैसियतमा रहेकाले उनलाई नैतिक जिम्मेवार ठहर गरेपछि राजीनामाको दबाब बढेको हो ।

खतिवडाले राजीनामा नदिए पार्टीमाथि नै प्रश्न उठ्ने  भन्दै कांग्रेसभित्रैबाट पनि पद छाड्न दबाब बढेको छ । इतर पक्षका नेता गुरुराज घिमिरेले खतिवडाले नैतिकता नदेखाए पार्टीले निर्देशन दिएर भए पनि राजीनामा गराउनुपर्ने बताए । ‘राजनीतिमा नैतिकताको ठुलो महत्व हुन्छ । सर्वत्र प्रश्न उठेको र छानबिन समितिले पनि प्रश्न उठाइसकेपछि उहाँले सभापति पदबाट तत्काल राजीनामा दिनुपर्छ । पार्टीले पनि तपाईं अब सभापति छोड्नुस् भन्नुपर्छ,’ घिमिरेले नयाँ पत्रिकासँग भने, ‘उहाँको गल्ती कुन प्रकृतिको हो, त्यो कानुनले बोल्ने विषय हो, कानुनमा के व्यवस्था छ, त्यसबारे मलाई जानकारी नभएकाले थप कुनै प्रतिक्रिया छैन ।’ 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जिम्मेवार व्यक्तिहरूलाई प्रचलित कानुनबमोजिम कारबाही हुनुपर्ने विषयबारे प्रतिवेदनले नै बोलिसकेपछि सम्बन्धित व्यक्ति आफैँले नैतिक जिम्मेवारी लिनुपर्ने बताए । ‘छानबिन समितिले प्रतिवेदनमा जिम्मेवार व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने सुझाव दिएको छ । जस–जसले हस्ताक्षर गर्नुभएको छ, उहाँहरू कानुनको दायरामा आउनुपर्छ । पदमा रहने कि नरहने दोषी देखिनुभएको सम्बन्धित व्यक्तिको नैतिक जिम्मेवारी पनि भएकाले उहाँहरूले पनि आफैँ सोच्नुहोला भन्ने लागेको छ,’ उनले भने । 

सभापति रामहरि खतिवडा भन्छन्–पार्टी सभापतिसँग समन्वय गरेपछि निर्णय लिन्छु 
प्रतिवेदन अध्ययन गरिसकेपछि पार्टी नेतृत्वसँग कुरा गर्छु । साथीहरूसँग पनि समन्वय गर्छु, त्यसपछि मात्र के गर्ने निर्णय लिन्छु । सुरुदेखि नै मैले सबैभन्दा बढी कुलिङ पिरियड राख्नुपर्छ भनेर भन्दै आएँ, तर कुलिङ पिरियड राखिएको दफा नै खण्डित हुने गरी, निष्क्रिय बनाउने गरी त्यो बिचमा कसले राख्यो ? समितिले त्यो कुरा प्रतिवेदनमा निक्र्योल गर्‍यो कि गरेन ? प्रतिवेदनमा मेरो हस्ताक्षर छ, मैले स्विकारेकै छु । ममाथि प्रश्न उठाएको कुरालाई मैले स्वाभाविकै लिएको छु । तर, जसले मलाई प्रश्न उठाउनुहुन्छ, उहाँहरू (सातजना साथीहरू)ले पनि संसद्मा प्रतिनिधिसभाको बैठकबाट पास गरेर आउनुभएको होइन ? उहाँहरूले त्यो नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? २७५ सदस्यीय संसद्ले त्यो त्रुटि हेर्‍यो कि हेरेन ?

रास्वपा र राप्रपाले पनि मागे राजीनामा
प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपा र राप्रपाले पनि खतिवडाको राजीनामा माग गरे । कांग्रेसमै पनि संस्थापन र इतर दुवै खेमाले उनलाई राजीनामाको दबाब बढाएका छन् । छानबिन समितिले खतिवडालाई राजनीतिक र नैतिक रूपले दोषी ठहर्‍याएर मंगलबार सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको थियो ।

संसद् बैठकमा रास्वपा सांसद मनीष झाले नाम किटान छैन भनेर उम्किन खोजेको आरोप लगाउँदै तत्काल राजीनामा दिएर नैतिकता देखाउन खतिवडाको ध्यानाकर्षण गराए । ‘हामीलाई पटकपटक नैतिकताको प्रश्न सोध्ने गरिन्थ्यो । अब कुलिङ अफ पिरियडबारे राज्य व्यवस्था समिति सभापतिमाथि नैतिक प्रश्न उठेको छ । अब उहाँलाई नैतिक प्रश्न छ, यो नालायकीपनको जवाफ कसले दिने ? मेरो नाम लेखिएको छैन भन्दैमा उम्किन पाइन्छ ?’ झाले प्रश्नसहित राजीनामा माग्दै भने, ‘पदको नाम लेखिएको छ, सभापति भनेको रामहरि खतिवडा हो । मेरो नाम छैन भनेर पन्छिन मिल्दैन । जिम्मेवारीपन बोध गर्नुपर्छ । थपक्क राजीनामा दिनुपर्छ । बैठक बोलाउन खोज्नु राम्रो हुँदैन ।’

राप्रपाकी सांसद रोशन कार्कीले पनि खतिवडाले सभापति पदबाट राजीनामा दिनुपर्ने बताइन् । समितिले सत्ताको दम्भ र बहुमतसँग ठुलो संघर्ष गरेर राजनीतिक व्यक्तिलाई नैतिक रूपमा जिम्मेवार ठहराएको भन्दै उनले नैतिक जिम्मेवारी लिँदै खतिवडाले राजीनामा दिनुपर्ने माग गरिन् ।