
प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवले विपत् संकटग्रस्त क्षेत्र घोषण भएको मधेशमा अझै राहतका प्याकेज नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा यादवले भने, ‘डिप बोरिङ, स्यालोट्युबेलका कार्यक्रमहरू अहिलेसम्म मधेशमा गएको छैन। दुई–तीन दिन पानी परेको हुँदा किसान दाजुभाइले राहत त पाउनुभएको छ, तर त्यतिले पुग्दैन।’
स्यालोट्युबेलका लागि आवेदन दिन दुई बिघा जग्गाको लालपुर्जा पेस गर्नुपर्ने व्यवस्था गरिएको भन्दै सांसद यादवले त्योभन्दा कम जमिन हुने किसान होइनन् भन्दै प्रश्न गरे।
‘स्यालोट्युबेलका लागि फर्महरू भराइरहेको छ, तर मापदण्ड बनाइएको छ– २ बिघा जग्गाको लालपुर्जा । दुई बिघाभन्दा कम जग्गा भएकाहरूले फर्म भर्न पाउने कि नपाउने ? तिनीहरु किसान हुन् कि होइनन् ? त्यसका मापदण्ड तोकियोस्,’ उनले भने ।
सरकारले आठ जिल्ला भएको मधेश प्रदेशभरका लागि पाँच सय डिप बोरिङ निर्माणको घोषणा गरे पनि कुन जिल्लामा कतिवटा पर्छ भन्ने नतोकेको उल्लेख गर्दै उनले तोक्न आग्रह गरे।