
सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलनको मिति पुनः सारेको छ। प्रदेश मन्त्रिपरिषद् बैठकले तयारी नपुगेको भन्दै आगामी असोजमा गर्ने तय भएको लगानी तथा विकास सम्मेलन १ र २ मंसिरमा सार्ने निर्णय गरेको हो।
यसअघि आगामी असोज १ र २ मा लगानी सम्मेलन गर्ने निर्णयसहित सरकारले तयारी गरेको थियो। सम्मेलनको तयारीस्वरूप सरकारले गत जेठमा तयारी सम्मेलनसमेत सम्पन्न गरिसकेको छ। नेपाल सरकारका मन्त्रीहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, दातृ निकाय, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागितामा धनगढीमा पूर्वतयारी सम्मेलन भएको थियो।
सुदूरपश्चिममा लगानी र लगानीकर्ता भित्र्याउने उद्देश्यले २३ –२४ फागुन २०८० मै लगानी सम्मेलन गर्ने सरकारको तयारी तथा निर्णय थियो। तर, आवश्यक सबै तयारी नपुगेको कारण देखाएर सम्मेलनको मिति २१–२२ असोज २०८१ लाई सारियो। उक्त मितिमा पनि सम्मेलन हुन सकेन। एक वर्षपछि सारिएको सम्मेलनको मिति तयारी नपुगेको भन्दै अहिले पुनः सारिएको हो।
मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई लगानीको आकर्षक गन्तव्यका रूपमा विकास गरी प्रदेशको आर्थिक र सामाजिक रूपान्तरणमा टेवा पुर्याउने उद्देश्यले लगानी सम्मेलन गर्ने तयारी रहेको बताए। केही समयअघि भारतको औपचारिक भ्रमणमा गएका मुख्यमन्त्री शाहले उक्त भ्रमणले लगानी तथा विकास सम्मेलनलाई समेत टेवा पुर्याउने दाबी गरे।
लगानी सम्मेलनलाई लक्षित गरेर नयाँ नीति तथा कानुन निर्माण एवं मौजुदा कानुनको संशोधनको तयारी भइरहेको उनले बताए। यसबाट लगानीमैत्री वातावरण निर्माण हुने शाहको भनाइ छ। त्यस्तै, परियोजना पहिचान गर्ने र सम्मेलनको प्रचारप्रसारका कामहरू भइरहेका मुख्यमन्त्री शाहले जानकारी दिए।
एसियाली विकास बैंकले सुदूरपश्चिम प्रदेशको एकीकृत आर्थिक तथा पर्यटन विकास सम्बन्धमा अध्ययन गरी प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ। प्रतिवेदनमा उल्लेखित पूर्वसम्भाव्यता तथा सम्भाव्यता अध्ययनसमेत गरिएका सुदूरपश्चिम प्रदेशको विकासका लागि महत्त्वपूर्ण पाँचवटा परियोजनालाई प्रदेशले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनमा लगानीकर्तासमक्ष प्रस्तुत गर्ने सरकारको तयारी छ।
एसियाली विकास बैंकले लगानी तथा विकास सम्मेलन सफल बनाउन आयोजनामा लागत साझेदारी तथा अन्य सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको मुख्यमन्त्री शाहले जानकारी दिए। सरकारले विभिन्न समिति र उपसमिति गठन गरेर लगानी सम्मेलनको तयारीका कामहरू गरिरहेको छ।