मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Tuesday, 05 August, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण २० मंगलबार १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विपत् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन उपप्रधानमन्त्री सिंहले दिए निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार १२:४८:oo

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपत् जोखिमलाई मध्यनजर गरी सरकारका सम्पूर्ण निकायलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

सहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले देशका विभिन्न भू-भागमा देखिएको मनसुनजन्य जोखिमको जानकारी लिएका थिए ।

बैठकमा उनले हाल देशका विभिन्न स्थानको मौसम र सम्भावित जोखिमबारे जानकारी लिँदै पूर्व तयारीमा रहन, घटना घटिहालेमा क्षति हुन नदिन, खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’ मा रहन निर्देशन दिएका छन् ।

त्यसैगरी, उनले सम्भावित जोखिमको क्षेत्रमा एसएमएस अलर्ट, स्थानीय सञ्चारमाध्यम र सुरक्षा निकायमार्फत पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पनि निर्देशन दिए ।

बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख भट्टले लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दियामा पानी पार्ने प्रणाली सक्रिय रहेको जानकारी गराए । भारी वर्षा हुँदा बबई नदी र राप्ती नदीको पश्चिम भागमा खतराको तह पार गरेकाले बर्दिया क्षेत्रमा अबको चारदेखि पाँच घण्टामा डुबान हुन सक्ने सम्भावना रहेको बताए ।

त्यसैगरी मधेश प्रदेशमा देखिएको खडेरीको अवस्थाबारे पनि कार्यवाहक प्रधानमन्त्री सिंहले चासो राखेका थिए । सो क्रममा प्राधिकरणका प्रमुख भट्टले मधेशमा हल्का वर्षा भइरहेको र ८० प्रतिशत रोपाइँ भएको जानकारी गराए । आज राति कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेकोबारे बैठकमा जानकारी गराइएको छ ।

मकवानपुरमा पनि मनसुन सक्रिय हुने आकलन गरिएको छ । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपतलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई अति आवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको जानकारी गराए ।