
पूर्व–पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपुरको दाउन्ने खण्ड दुई दिनदेखि लगातार अवरुद्ध भएको छ। सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको हो । सोमबारको तुलनामा आज मंगलबार सडक झन् बिग्रिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले जानकारी दिए ।
नवलपुरको दाउन्ने विश्वकर्मा मन्दिरनजिकै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा मन्दिरनजिकै बाटो अवरुद्ध भएको हो । तीन दिनदेखि लगातार परेको पानीले बाटो हिलो र चिप्लो भएको छ भने पानीले बाटोका माटो र गेगर बगाएर खाल्डाखुल्डी पनि भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले उकालोमा सवारीसाधनहरू बाटो चिप्लोका कारण उक्लन नसकेर लामो लाइन लाग्न थालेको छ । दाउन्नेमा बाटो बिग्रिएपछि सवारीसाधनलाई अहिले दुम्कीबास र बर्दघाटमा रोकेर राखिएको छ । हिजो र चिप्लोले उकालोमा सवारीसाधन पास नै हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि पानी नरोकिएसम्म बाटो खुलाउन सकिने सम्भावना निकै कम रहेको प्रहरीले जनाएको छ । दाउन्नेको १४ किलोमिटर सडकखण्डमध्ये दाउन्नेकेन्द्रित रहेर अहिले सडक विस्तारको काम भए पनि यहाँ सडक ढलान तथा कालोपत्रे हुन नसक्दा सामान्य पानीमा बाटो हिलो हुने र घाम लाग्दा बाटो धुलाम्य हुने गरेको छ । १४ किलोमिटर सडकखण्डमध्ये पश्चिमतर्फ तीन किलोमिटर बाटो कालोपत्रे भएको छ भने पूर्व र पश्चिमखण्डमा गरी करिब दुई किलोमिटर सडक एकतर्फी ढलान भएको छ ।
अहिले सबैभन्दा बढी दाउन्नेको विश्वकर्मा मन्दिरआसपासको क्षेत्रमा समस्या देखिने गरेको छ । यहाँ कल्भर्ड निर्माणको काम नसकिएको कारण बाटो एकतर्फी मात्र रहेको छ भने कतिपय ठाउँमा ढालनको काम भइरहेको क्षेत्रमा पनि बाटो एकतर्फी रहेको छ । यस क्षेत्रमा अहिले पनि चार ठाउँमा सडक एकतर्फी रहेको प्रहरी उपरीक्षक ढकालले बताए । उनका अनुसार एउटा सवारीसाधन उकालोमा पास हुन १५–२० मिनेटसम्म लाग्ने गरेको छ ।