मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
Invalid date format १७:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गोडमेलपछि धानबालीमा हाल्न मल पाएनन् किसानले

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२५:oo

कैलालीको भजनी नगरपालिका–१, चकुलियाका किसान मनोज कुमालले रोपेको धान गोडमेल गरेपछि रासायनिक मल हाल्न पाएका छैनन्। भजनीमा रहेको साना किसान सहकारीबाट मल किन्न उनी आइतबार बिहानभर लाइनमा बसे, तर उनको पालो आउनुअघि नै मल सिद्धियो।

मल हाल्न नपाएपछि उत्पादन घट्ने चिन्ता उनले जनाए। मलका लागि धेरै ठाउँमा भौँतारिँदा पनि धान रोपेको चार बिघामध्ये डेढ बिघा जमिनमा मल हाल्न नपाएको कुमालको गुनासो छ। ‘यहाँ मल पाइएन, बौनिया र जोशीपुर गएर मुस्किलले दुई बोरा मल पाएको थिएँ, साढे दुई बिघा जमिनमा ठिक्क भयो,’ कुमालले भने, ‘डेढ बिघाका लागि कहाँबाट मल ल्याउने चिन्तामा छु।’ बर्सेनि मल हाल्दा माटो बिग्रिसकेकाले मल नहाले धान उत्पादन घट्ने किसानको चिन्ता छ।

भजनी–३ की प्रियंका साउद पनि सहकारीमा मल नपाएर फर्किइन्। डेढ बिघा जमिनमा रोपेको धानबालीमा कहाँबाट ल्याएर मल हाल्ने भन्ने चिन्तामा उनी छिन्। ‘सहकारीमा मल सकियो, थप आउने हो कि होइन थाहा छैन,’ उनले भनिन्, ‘रोपाइँका वेला पनि मल जुटाउन यस्तै समस्या भएको थियो।’

साना किसान सहकारीमा मलका लागि आइतबार दुई सय जनाभन्दा बढी किसान पुगेका थिए। अधिकांश मल नपाएर फर्कनु परेको स्थानीय अगुवा कृषक जय बुढाले बताए। किसानले हरेक सिजनमा मलको समस्या भोग्नुपरेको उल्लेख गर्दै उनले भने, ‘मलका लागि लाइनमा बसेका किसान बाढीपीडित क्षेत्रका हुन्। यसरी घण्टौँ लाइनमा बसेर लिएको मल प्रयोग गरेको धान कति वेला बाढीले बगाउने हो, भगवान भरोसा छ। कम्तीमा किनेर लैजाने मलखादको व्यवस्था त गर सरकार।’

यति वेला धान गोडमेल गरेर युरिया हाल्ने समय हो। कृषकका अनुसार गोडमेल गरेर युरिया मल नहाले धान राम्ररी पसाउँदैन। साना किसान सहकारी संस्थाका व्यवस्थापक निर्मला चौधरीले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको धनगढी कार्यालयबाट सय बोरा मात्र मल पाएकाले सबै किसानलाई वितरण गर्न नसकिएको बताइन्। उनले अगाडि आएका सयजनालाई एक-एक बोराका दरले बिक्री गरेको जानकारी दिइन्।

‘धेरै किसानलाई मल दिन नसकेर फर्काउनुपरेको छ। कृषि सामग्री र साल्ट ट्रेडिङबाट आवश्यकताअनुसार मल पाइएन,’ उनले भनिन्, ‘सबै किसानलाई पुर्याउन अझै आठ सय बोरा मल चाहिन्छ।’ कृषि सामग्रीले यो महिनाभर युरिया मल नआउने जानकारी गराएको चौधरीले बताइन्।

भजनी मात्र नभई जिल्लाभरिकै किसानले सहज रूपमा मल पाउन सकेका छैनन्। रोपाइँका वेला रासायनिक मल सहज रूपमा नपाएका किसान अहिले पनि मल नपाएर समस्यामा छन्। सुदूरपश्चिममा सरकारी अनुदानको मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कार्यालयमा मौज्दात रहेको करिब साढे तीन सय टन युरिया बिक्री भइरहे पनि यो सिजनका लागि त्यो पर्याप्त नभएको जनाएको छ।

कार्यालय प्रमुख नवलसिंह बोगटीले आवश्यकताअनुसार दिन नसक्ने भएपछि सहकारीहरूलाई कोटाका आधारमा मल बिक्री गरिरहेको बताए। ‘सम्बन्धित पालिकामा सहकारी संख्या हेरेर कोटा तोकेका छौँ। गत वर्षभन्दा बढी आए पनि हामीसँग मौैज्दात मल पर्याप्त छैन,’ उनले भने, ‘थप युरिया मल भदौमा आउने जानकारी केन्द्रले दिएको छ।’