मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

किसानलाई मलको यथाशीघ्र व्यवस्था गर्न सांसदको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:१७:oo

संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले किसानलाई यथाशीघ्र मलखादको व्यवस्था गर्न माग गरेका छन् । बैठकको शून्य समयमा मल र खादको व्यवस्था नहुँदा किसान मार्कामा परिरहेको उनीहरूको भनाइ छ ।

सांसद देवप्रसाद तिमिल्सिनाले नेपाललाई कृषिप्रधान देश भनिए पनि मल नपाएर देशभरिका किसान समस्यामा परेको उल्लेख गर्दै यथाशीघ्र समस्या समाधानमा जोड दिए ।

सांसद प्रभु हजाराले दुई दिनयता मधेशमा पानी परेसँगै किसानले धान रोप्न सुरु गरे पनि मलखाद नपाउँदा समस्यामा परिरहेको बताए ।

सांसद वासुदेव घिमिरेले मलखादको वितरण समान हुन नसक्दा अभावको सामना खेप्नु परिरहेको उल्लेख गरे । उनले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ लाई संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘कार्यविधि संशोधन नहुँदा सहुलियतको रासायनिक मल वितरण समन्यायिक भएको छैन, वैज्ञानिक आधार र क्षेत्रीय भौगोलिक विविधताको उचित मूल्यांकन नगरी मलखाद वितरण भएको छ ।’

उनले यसरी मलखाद वितरण गर्दा पहाडी क्षेत्रमा मल थन्किने र तराईमा अभाव हुने देखिएकाले तराईका किसान अत्यन्त मार्कामा परिरहेको दाबी गरे ।

सांसद तारा लामा तामाङले शुक्लाफाँटा वन्यजन्तु आरक्षणको विस्तारको क्रममा विस्थापित भएका नागरिकको पुनःस्थापना र व्यवस्थापनको दिगो समाधन नहुँदा समस्यामा परेको बताए ।

‘पुनर्स्थपना र व्यवस्थापनका लागि सरकारले हालसम्म ३२ वटा आयोग गठन गर्दा पनि समस्या समाधान हुन नसक्दा विस्थापित परिवारहरू निराश छन् । शिविरहरूमा कष्टकर जीवन बिताउन बाध्य छन् । दीर्घकालीन समाधानका लागि अनुरोध गर्दछु,’ उनले भने ।

सांसदहरू दुर्गा राई र नारायणी शर्माले मुलुकी अपराध संहिताले पूर्णतः निषेध गरेको बहुविवाहलाई छुट दिने कानुन ल्याउन लागिएको सुनिएको उल्लेख गर्दै त्यसको विरोध गरिन् ।

सांसद राईले महिलामाथि हिंसा हुने र पुरुष छाडा हुने यो कानुन किन ल्याउन लागिएको भनेर विधेयकको घोर निन्दा र भर्त्सना गरिन् । सांसद शर्माले यो विधेयकलाई तत्काल नष्ट गर्नुपर्ने बताइन्।

सांसद प्रकाश ज्वालाले पनि बहुविवाहको बाटो खोल्ने गरी कानुनमा गर्न लागेको संशोधन रोकिनुपर्ने माग गरे । उनले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने र प्रेसलाई नियन्त्रण गर्ने गरी ल्याउन लागिएको मिडिया काउन्सिल विधेयकलाई मिडियामैत्री हुने गरी अघि बढाउन आग्रह गरे । उनले संघीय निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाउन छलछाम र षड्यन्त्र गर्न व्यक्तिको नाम र कारबाही किटान गरेर प्रतिवेदन आओस् भन्ने मागसमेत गरे ।

सांसद प्रतिमा गौतमले ललितपुरको गोदावरी क्षेत्रको ६० प्रतिशत जारको पानीमा ढलजन्य कीटाणुको मात्रा भेटिएको तथ्य सार्वजनिक गर्दै यस्तो दूषित पानीका कारण झाडापखाला, टाइफाइडजस्ता रोगको महामारी फैलन सक्ने खतरा रहेको बताइन् । उनले पानी आपूर्ति गर्ने कम्पनीहरूको परीक्षणलाई कडाइ गर्न सरकारसँग माग गरिन् ।

सांसद विमला सुवेदीले प्रतिनिधिसभाको नियमावलीअनुसार गठन हुनुपर्ने महिला समन्वय समिति अझै गठन नभएकोप्रति आपत्ति जनाउँदै तत्काल गठन गर्न माग गरिन् । सांसदहरू दीपक गिरी, दिलेन्द्रप्रसाद बडू, नैनकला थापा, पुष्पबहादुर शाह र प्रतीक्षा तिवारीले जनचासोका सरोकारहरूबारे धारणा राखे ।