मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
विकासकुमार गुप्ता
२o८२ श्रावण १८ आइतबार o८:१२:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चुरेको दोहनले मरुभूमि बन्दै मधेश

Read Time : > 4 मिनेट
विकासकुमार गुप्ता
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार o८:१२:oo
  • चुरेको अनियन्त्रित दोहनले पहिले अन्नको भण्डार मधेश बन्जर भूमिमा परिणत हुँदै गएकाले समयमै नचेत्ने हो भने परिणाम भयावह हुन सक्छ

अंके हो चुरे ? : चुरे क्षेत्र भनेको हिमालय पर्वत शृंखलाको सबभन्दा दक्षिणमा रहेको माथिबाट बगेर आएका सामग्रीले बनेको सबभन्दा कान्छो, सबभन्दा कमलो र सबभन्दा कमजोर पर्वत शृंखला रहेको क्षेत्र हो । हिन्दकुश क्षेत्रअन्तर्गत पर्ने अफगानिस्तानदेखि बर्मासम्म फैलिएको हिमाली र पहाडी शृंखलाको दक्षिणतिरको तल्लो बेल्ट र नेपालको इलामदेखि कञ्चनपुरसम्म ‘ग्रिन बेल्ट’का रूपमा यो फैलिएको छ । चितवन र दाङमा चुरेले नेपाल र भारतबिच सीमाको काम पनि गरेको छ । यसले देशको करिब १३ प्रतिशत भूभाग ओगटेको छ भने पूर्वमा इलामदेखि पश्चिममा डडेल्धुरासम्म ३६ जिल्लामा यो क्षेत्र फैलिएको छ । करिब चार करोड वर्षपहिले हिमालयको उत्पत्तिका क्रममा नदीजन्य पदार्थ थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे शृंखला हो ।

विभिन्न स्थान मुख्यत: पश्चिमी भागमा दुन र भित्री मधेशको निर्माण चुरे पहाडमा भएको छ, जसले यस पहाडलाई महाभारत शृंखलाबाट स्पष्ट छुट्याउँछ । कोमल चट्टान सेल, सिल्टस्टोन, स्यान्डस्टोन तथा मडस्टोनजस्ता पदार्थबाट सिर्जित र छरिएका अन्य खुकुला पदार्थबाट निर्मित चुरे पहाड भौगर्भिक हिसाबमा विशिष्ट पर्वत हो ।

नेपालमा हिमाल छ, महाभारत छ र अर्को शिवालिक छ, त्यसलाई नेपालीमा चुरे भनिन्छ । हामी मधेशी यसलाई चुरियामाई भन्छौँ । चुरियालाई देवता मानेर पूजा गर्छौं । यो क्षेत्रको १७ प्रतिशत भूमि तराई र १३ प्रतिशत भूमि चुरेमा रहेको छ । यसरी, लगभग ३० प्रतिशत भूमिमा नेपालको कुल जनसंख्याको ५५ प्रतिशतभन्दा बढी बसोवास गर्दै आएका छौँ । यस क्षेत्रमा सबै जातजाति, वर्ग र समुदायका मानिस बसोवास गरिरहेका छन् । समयमै यस क्षेत्रको संरक्षण गरिएन भने नेपालको जनसंख्याको ठुलो हिस्सा गम्भीर रूपमा प्रभावित हुनेछ ।

जैविक विविधताको खानी : चुरे पहाड मात्र नभएर ‘हरियो वन नेपालको धन’ भनिने उखानको पर्याय पनि हो । चुरेका काखमा सदावहार जंगल हुर्किएर बसेको छ । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष मुख्य रूपमा र बर्दिया राष्ट्रिय निकुञ्ज तथा शुक्लाफाँटा सिकार आरक्षका केही क्षेत्रसँगै १३ फरक किसिमका ‘इकोसिस्टम’सहित महत्वपूर्ण जैविक विविधताले सम्पन्न छ यो क्षेत्र । पाटेबाघ, डल्फिन र विश्वकै सम्पदाका रूपमा रहेको एकसिंगे गैँडालगायत जीव तथा वनस्पति यहाँ पाइन्छन् । चुरे क्षेत्रभित्र विभिन्न एक हजार ५०० प्रजातिका महत्वपूर्ण वनस्पति पहिचान भएका छन् । मधेशको माटो र पानी संरक्षणमा चुरेको महत्वपूर्ण भूमिका छ । चुरे जैविक विविधताको करिडोर हो । यो पानी र प्राकृतिक साधनस्रोतको भकारी पनि हो । चुरे नष्ट भएमा मधेश सोझै मरुभूमि बन्न पुग्छ ।

चुरे विनाशका कारण र असरहरू : चुरे क्षेत्र विनाशका विविध कारणमध्ये एउटा ढुंगा, गिट्टी, बालुवाको अव्यवस्थित उत्खनन पनि हो, साथै काठदाउरा र गिट्टी–बालुवाको चोरी–निकासी बढिरहेको कारणले गर्दा पहिले घना देखिएको वन पातलो बन्दै गएको छ, रुखबिरुवा र गिट्टीबालुवाको चोरी निकासीले रातारात वन विनाश भइरहेको छ । पहिरोको जोखिम बढेको छ । दुर्लभ वन्यजन्तु सालक, निलगाई, हरिण, जरायो, घोरल, बँदेललगायत जन्तु संकटमा छन् ।

खोला, नदी भएका स्थानीय सरकारको प्रमुख आयस्रोत नै ढुंगा, गिट्टी र बालुवाको ठेक्का हो । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नाम मात्रको तयार पार्ने र ठेक्का लगाएर रकम उठाउने गरिएको छ । उनीहरूले कसरी काम गरिरहेका छन्, त्यसको प्रभावकारी अनुगमन र नियन्त्रण भइरहेको छैन ।वातावरणविद् बताउँछन्– ढुंगा, गिट्टी, बालुवा भारत निकासी गर्ने निर्णयले चुरेमै आक्रमण भएकाले अहिले अमलेखगञ्ज, निजगढ, चन्द्रनिगाहपुरलगायत चुरेसँग जोडिएका बस्तीमा खानेपानीको समस्या छ । पानीको हाहाकार भइरहेको छ । उनीहरूका अनुसार मधेशमा सय, सवा सय, अढाइ सय फिट खन्दा पनि पानी भेट्टाउन मुस्किल हुन थालेको छ अहिले । चुरेको मुहान सुक्दै छ, ढुंगा, गिट्टी, बालुवाको भारततर्फ निकासी हुँदा नदीनालाको पानी होल्डिङ गर्ने क्षमता कमजोर हुन्छ । सरकारको योजना तराईलाई मरुभूमि बनाउनेतर्फ उन्मुख छ । यसले देशकै अन्नको भण्डारमा ठुलो नकारात्मक प्रभाव पार्छ । केही व्यक्तिलाई फाइदा होला, जनता अकालमा मर्ने निश्चित । हामी आफैँ प्रभावित छौँ, हाम्रा गाउँघर प्रभावित छन् । गाउँ–गाउँका खोलानाला जीवनहीन भएका छन् ।

पहिला चुरे क्षेत्र पत्रै–पत्र भएका विकट भूखण्ड र घना जंगलले ढाकिएका थिए । दुनहरूमा समेत मानिसको बसोवास थिएन । सन् १९५० को दशकमा नेपालमा औलो उन्मूलन कार्यक्रम सुरु भएपछि निर्जन दुन र आसपासका चुरे क्षेत्रमा पहाडबाट बसाइँ सरेर जंगल फँडानी गरी खेतबारी, खरबारी एवं चरन क्षेत्रमा परिणत गर्ने क्रम बढेको विज्ञहरू बताउँछन् । गरिबीका कारण जीविकाको विकल्प खोज्दै मानिस चुरे आइपुगे । पछि पूर्व–पश्चिम राजमार्ग बनेपछि झनै त्यसमा बढोत्तरी भयो ।

वन फँडानी, वन पैदावारको अत्यधिक प्रयोग, खुला चरिचरन, अवैज्ञानिक भूउपयोग आदिले चुरेको जैविक विविधतामा ह्रास आएको विज्ञहरूको भनाइ छ । त्यसले समग्र प्रणालीमा नकारात्मक प्रभाव पारेको छ । चुरे पहाड तथा भावर क्षेत्रमा जलाधारको अवस्था क्रमश: क्षयीकरण हुँदै गएको छ ।

यसबाट तराई–मधेशमा थुप्रै वातावरणीय समस्या देखा परिरहेका छन् । पानीका स्रोत सुक्दै गएका छन् । बाढीको प्रकोपले तराई मधेशका खेतीयोग्य जग्गामा बालुवा र पाँगो माटो थुपार्ने तथा गाउँबस्तीसमेत कटान र डुबानले गर्दा प्रभावित भइरहेका छन् । नेपाल सरकारले आर्थिक वर्ष ०६६/६७ देखि चुरे संरक्षणलाई अभियानका रूपमा सञ्चालन गर्न ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ लागू गरेको भए पनि त्यो कार्यक्रम त्यति सफल हुन सकिरहेको देखिन्न । 

चुरेको दोहन र बढ्दो जलसंकटबारे जनप्रतिनिधिले गम्भीरता देखाउन सकेका छैनन् । तलदेखि प्रदेश र केन्द्रीयस्तरसम्म जनप्रतिनिधि रहेका छन् । तर, उनीहरूलाई यस विषयमा कुनै पीडा छैन । उनीहरूले किन चिन्ता नलिएका हुन्, यहाँ भन्न कठिन छ । देशमा तीन तहका स्थानीय, प्रदेश र संघीय सरकार अस्तित्वमा छन् ।

प्रदेश तथा संघीय संसद्मा यस्ता गम्भीर विषयमा हप्तौँसम्म गहन छलफल हुनुपर्ने भए पनि हुन सकेको छैन । तराई पहिले अन्नको भण्डार थियो, अहिले त्यो बन्जर भूमिमा परिणत हुँदै छ भन्ने वैज्ञानिकहरूको चेतावनी छ । तर, यो चेतावनी सुन्ने फुर्सद सायद सत्तामा हुनेहरूलाई छैन कि ?

खतरामा हाम्रो भविष्य : चुरे र भावरको अनियन्त्रित दोहन यसै गतिले जारी रह्यो भने आगामी ३० वर्षभित्रै यी क्षेत्र मरुभूमिमा परिणत हुनेछन् । ढुंगा, गिट्टी र बालुवाका कारोबारीले डोजर चलाएर पहिले नै चुरेमा गम्भीर घाउ बनाइसकेका छन् । यसरी भइरहेको अवैध उत्खनन र दोहनलाई वेलैमा नरोक्ने हो भने भविष्यमा थप गम्भीर संकट निम्तने निश्चित छ । साथै, आँखैअगाडि यो सब हुँदाहुँदै पनि स्थानीय प्रशासनको शंकास्पद मौनताप्रति पनि राज्यका निकायले छानबिन अघि बढाउन जरुरी छ ।

आज राजमार्गवरपर हजारौँ क्रसर उद्योग देख्न सकिन्छ । तीमध्ये ७० प्रतिशत क्रसर अवैध रूपमा सञ्चालन भइरहेका छन् । अवैध क्रसरहरू राजनीतिक पहुँच भएकाहरूले सञ्चालन गरेका छन्, जसले वातावरणीय कानुन कार्यान्वयन गर्न कठिन बनाएको छ ।

तराई मरुभूमि बन्यो भने पहाड र हिमालमा पनि यसको प्रभाव पर्छ । तराई सुक्खा भए पहाडको तापक्रम बढ्नेछ, हिउँ पग्लने दर बढ्नेछ र अन्तत: हाम्रो सभ्यतालाई नै संकटमा पार्न सक्छ । म कानुन अध्ययन गर्ने विद्यार्थी हुँ । जल, माटो, जंगलबारे मेरो कुनै औपचारिक डिग्री छैन, तर जीवनको लामो अनुभव छ । चुरे क्षेत्रमा भइरहेको आक्रमण समयमै नियन्त्रण हुन सकेन भने आउने दिनमा मधेश मरुभूमि बन्ने निश्चित छ ।

कानुनी तथा नीतिगत उपाय : चुरे क्षेत्रमा भइरहेको ढुंगा, गिट्टी, बालुवाको अवैध उत्खननलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्छ । यसका लागि कडा कानुन र कार्यान्वयन आवश्यक छ । स्थानीय प्रशासन र सुरक्षा निकायले यसमा सक्रिय भूमिका खेल्नुपर्छ ।

वन संरक्षण र वृक्षरोपण: चुरे क्षेत्रको वन संरक्षणका लागि वन फँडानी रोक्नुपर्छ र वृक्षरोपणलाई प्रोत्साहन गर्नुपर्छ । स्थानीय समुदायलाई वन संरक्षणमा सहभागी गराउनुपर्छ । कानुन कार्यान्वयन: चुरे संरक्षणसम्बन्धी कानुनलाई कडाइसाथ कार्यान्वयन गर्नुपर्छ । कानुन उल्लंघन गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ ।

निष्कर्ष : चुरेको दोहनले हिमालको समेत सुन्दरता हराउन थालेको छ । हराभरा मधेश कुरूप बन्दै गएको छ । चुरे क्षेत्रको विनाशले नेपालका हरेक भौगोलिक क्षेत्रमा असर पर्ने निश्चित छ । हिमाल, पहाड र तराईको सन्तुलन जोगाउन चुरे संरक्षण अपरिहार्य छ । त्यसैले, यस क्षेत्रमा भइरहेको अनियन्त्रित दोहन तत्काल रोक्नुपर्छ ।

चुरे संरक्षणका सवालमा मधेशका मात्रै होइन, देशैभरका नागरिकको स्वर एक हुनुपर्छ । नेपालको उन्नति, प्रगति र समृद्धि चुरे संरक्षणविना सम्भव छैन । त्यसैले सरकार, स्थानीय तह, वातावरणविद् र हिमाल, पहाड तथा तराईवासी सबै मिलेर यसलाई बचाउनुपर्छ । सबै मिलेर चुरे जोगाउने अभियानमा जुट्नुपर्ने समय आइसकेको छ । ‘चुरे रहे पानी, पानी रहे हामी’ भन्ने सन्देशलाई आत्मसात् गर्दै भविष्यका सन्ततिका लागि चुरे संरक्षण गर्नैपर्छ । सामाजिक, सांस्कृतिक, आर्थिक र वातावरणीय हिसाबले पनि चुरेलाई हिमाल, पहाड र तराईवासी सबै मिलेर बचाउनुपर्छ । चुरे रहे मधेश रहन्छ, सगरमाथामा हिउँ रहन्छ अनि हिउँ रहे नेपालीको पहिचान विश्वमाझ रहन्छ ।

(गुप्ता कानुनका विद्यार्थी हुन्)