
एमाले विभाजन गरेर माधव नेपाल र झलनाथ खनालहरूले एकीकृत समाजवादी गठन गरेको चार वर्ष भयो । ०७९ को आमनिर्वाचनमा सहभागी पार्टीले एउटा महाधिवेशसमेत गर्यो । यसबिचमा पटक–पटक सत्तामा पनि बस्यो । अहिले अकस्मात् अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालको कलह सतहमा देखिएको छ र मत्थर हुनेभन्दा तन्किँदै छ ।
नेता खनालले एमाले विभाजनको औचित्य पुष्टि हुन नसकेको भन्दै गत बिहीबार एक टेलिभिजन कार्यक्रममा अभिव्यक्ति दिएपछि निरन्तर वादप्रतिवाद चलिरहेको छ । ‘जतिवेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म,’ खनालले भनेका थिए, ‘एमालेमा जुन विद्रोह गरियो, त्यो पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’
झलनाथले दिएको अभिव्यक्तिबारे थाहा पाएपछि अध्यक्ष नेपाल थामिएनन् । शुक्रबार विराटनगर पुगेका उनले खनालको अभिव्यक्तिको जवाफ फर्काउँदै पार्टी छाड्न चेतावनी दिएका थिए । ‘एमाले फुटाएर गल्ती गरियो भन्ने कुरा उहाँ (खनाल)ले बोल्नुभएको हो भने उहाँलाई पार्टीमा बस्ने नैतिकता छैन, उहाँले एमालेमै फर्किएको राम्रो ।’ नेपालले खनाल पार्टीका निर्णय उल्लंघन गर्नेमा ‘नम्बर वान’ रहेको आरोप पनि लगाए ।
नेपालले एमालेमै फर्किन भनेपछि खनाल थप प्रतिवादमा उत्रिए । शनिबार केही पत्रकारमाझ उनले नेपाललाई तल्लो स्तरको चिन्तन रहेको नेताको संज्ञा दिए । ‘उहाँ (नेपाल)ले मेरो अन्तर्वार्ताको कुरालाई सुनेर पार्टी छाड् भनेर आदेश दिनुभएछ । उहाँले आदेश दिनेबित्तिकै कुनै पार्टीको सदस्यले छाड्छ ? नेताले छाड्छ ?’ खनालले भने, ‘मैले त भव्य नेताका रूपमा हेरेको थिएँ उहाँलाई । तर, यति तल्लो स्तरको चिन्तन पनि उहाँसँग अहिलेसम्म छ ।’
यति मात्रै होइन खनालले उल्टै नेपाललाई पार्टी चलाउन सक्ने क्षमता नभए पद त्याग्न पनि भने । त्यस्तै, विद्रोहको पुष्टि नगर्न नसके हामी गलत हुन्छौँ, वैचारिक, सैद्धान्तिक छलफल गरौँ भनेको प्रस्टीकरण पनि दिएका छन् ।
पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्याल भने जीवन्त पार्टीमा बहस, छलफल हुनु सामान्य भएको बताउँछन् । ‘जीवन्त पार्टीमा छलफल भइरन्छन्, यो सामान्य हो,’ उनले भने, ‘एमालेजस्तो छलफल नै नहुने पार्टी होइन, नेतादेखि कार्यकर्तासम्म आफ्नो धारणा राख्छन् । केही गम्भीर कुरा भयो भने केन्द्रीय कमिटीमा छलफल हुन्छ ।’
नेपाल–खनालको कलह सतहमा अंकुरण अहिले भए पनि बीजारोपण भने महाधिवेशनदेखि नै भएको एकीकृत समाजवादीका नेताहरू बताउँछन् । महाधिवेशनपछि गत पुसमा नेताहरूको कार्यविभाजन गर्दा विदेश विभाग प्रमुखमै आफ्नो निरन्तरता चाहेका थिए । तर, अध्यक्ष नेपालले वरिष्ठ नेता प्रमेश हमाललाई उक्त जिम्मेवारी दिएर खनाललाई स्कुल विभागमा पठाइए । त्यस्तै, संगठन विभाग चाहेका महासिचव घनश्याम भुसाललाई अनुमगनमा सीमित गरे । संगठन विभागमा वरिष्ठ नेता डा. बेदुराम भुसाललाई निरन्तरता दिए । यही वेला पार्टीमा प्रस्ट दुई लाइन देखिएको नेताहरू बताउँछन् ।
महाधिवेशनको मुखमा नेपाल एक पक्ष र खनाल–भुसाल अर्को पक्षमा विभाजित थिए । नेपाल पक्ष जनताको बहुदलीय जनवाद (जबज)को पक्षमा उभिएको थियो भने खनाल–भुसालले वैज्ञानिक समाजवादको कार्यक्रम सारेका थिए । अन्तत: नेपाल समाजवादी कार्यक्रममा सहमत भएपछि खनाल–भुसाल पक्ष अध्यक्षको प्रतिस्पर्धाबाट पछि हटेर सहमतिमै नेतृत्व चयन भएको थियो । नेपाल अध्यक्ष, खनाल सम्मानित नेता र भुसाल महासचिवमा सर्वसम्मत निर्वाचित भएका थिए ।
केही समय सेलाएको शीर्ष नेताहरूको विवाद अनेरास्ववियू र युवा संघमा फेरि प्रकट भयो । दुवै संगठनमा दुवै पक्षले समानान्तर गतिविधि गर्न थाले । अनेरास्ववियू र युवा संघको विवाद मिलाउन अध्यक्षले चासो नदिएको, पार्टीको विभागलाई पूर्णता नदिएको र पार्टी सचिवालयमा छलफल नै नगरी माओवादीसँग पार्टी एकता गर्दा के हुन्छ भनेर तल्ला कमिटीसँग राय लिएपछि नेपालसँग खनाल–भुसाल पक्ष रुष्ट बनेको एक नेताले बताए । ‘पार्टीको सचिवालयमा छलफल नै नगरी तल्ला कमिटीमा माओवादीसँग पार्टी एकता गर्दा के हुन्छ भन्ने राय लिएपछि नेतृत्वसँग असन्तुष्टि बढेको छ । त्यसको प्रभाव पनि खनालमा परेको हुन सक्छ,’ ती नेताले भने, ‘विभागहरू गठन भएका छैनन् । अखिल र युवासंघको विवाद मिलाउन पनि अध्यक्षले उदासीनता देखाउनुभएको छ ।’
नेपाल पक्षले भने पार्टी निर्माणभन्दा आलोचना र आरोपमा खनाल–भुसाल पक्ष रमाएको आरोप लगाएको छ । ‘पार्टीको काम गर्नु छैन । पार्टी निर्णयविपरीत अभिव्यक्ति दिँदै हिँड्दा पार्टी निर्माणमै समस्या परेको छ । सधैँ त्यसरी छुट दिन सकिँदैन,’ नेपालनिकट एक पदाधिकारीले भने ।
नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि पार्टी नेतृत्व त्याग्नुपर्ने वा नपर्ने भन्ने विषयमा पार्टीमा दुई धार पुन: सतहमा देखियो । नेपाल पक्षले राजनीतिक प्रतिशोधमा मुद्दा दायर गरेकाले प्रतिवाद गरेर जानुपर्नेमा जोड दियो भने खनाल–भुसाल पक्षले नैतिकता देखाउनुपर्ने आवाज उठायो । पतञ्जली प्रकरणमा अध्यक्ष नेपालविरुद्ध अभिव्यक्ति दिएकै कारण स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरणसमेत सोधियो । नेपाल पक्ष झाँक्रीलाई कारबाही गर्नुपर्ने पक्षमा थियो भने खनाल–भुसाल पक्षले अभिव्यक्ति दिएकै आधारमा कारबाही गर्न नहुने अडान लिएको थियो । झाँक्रीले गत १५ असारमा बुटवलमा आयोजित पार्टीनिकट युवा संघको प्रशिक्षण कार्यक्रममा भनेकी थिइन्, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’ अहिले फेरि सम्मानित नेता खनाल र अध्यक्ष नेपालबिच निरन्तर चलेको जुहारीले विवादलाई मलजल गरेको छ ।