
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि जारी स्थायी समिति बैठकमा जनवादी ढंगले छलफल चलिरहेको बताएका छन् ।
किसान विद्रोहका नेता भीमदत्त पन्तको ३२औँ स्मृति दिवसका अवसरका पार्टीसम्बद्ध किसान संगठनले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले बैठकले पार्टीलाई एकताबद्ध गरेर जाने बताए ।
अर्का उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वबारे सार्वजनिक रूपमा दिएका अभिव्यक्तिलाई लिएर माओवादी स्थायी समितिमा छलफल भइरहेका वेला पुनको यो भनाइ आएको हो ।
पुनले माओवादी नेताहरूले व्यवस्था परिवर्तनका लागि भएको १०औँ हजारको बलिदान, लाखौँ योद्धा र जनताको त्याग तथा समर्पणको जिम्मा लिनुपर्ने भन्दै पुनले कोही पनि भाग्न नपाउने उल्लेख गरे । युद्धमा बाँचेकाहरूले इतिहासको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।
नेताहरूलाई जति रिस उठे पनि दायाँबायाँ गर्न र भाग्न नपाउने भन्दै पुनले इतिहासको जिम्मेवारी नलिने व्यक्ति नेता हुन नसक्ने तर्क गरे । ‘पार्टी स्थायी समितिको बैठक चलिरहेको छ । हामी मर्यादित र जनवादी वातावणमा छलफल गर्छौं । पार्टीलाई एकताबद्ध गर्ने कोसिस गर्छौं । हामी आन्दोलनबाट आएका जिम्मेवार नेताहरू छौँ। जति रिस उठे पनि दायाँबायाँ अघिपछि जे गरे पनि हामी बाँचेकाहरूले आन्दोलनमा भएको त्याग, बलिदान, समर्पण र सबै योद्धाहरूका सपनाको जिम्मा लिनुपर्छ। यसभन्दा दायाँबायाँ गर्न कसैले पनि पाउँदैन,’ पुनले भने, ‘मुलुकप्रति, परिवर्तनप्रति, जनताप्रति र इतिहासप्रति हाम्रो दायित्व छ।
हामी अरु पार्टीका नेताहरूजस्तो हिँड्छु भनेर हिंड्न पाउने, बोल्छु भनेर बोल्न पाउने र गर्दिनँ भनेर गर्न नपाउने ठाउँमा छैनौँ। किनकि हामी व्यवस्था बदल्ने संघर्षबाट आएका नेताहरू हौँ।’ उनले जारी बैठकले पार्टीलाई एकताबद्ध गरेर विधिसम्मत ढंगले अघि बढाउने बताए। पुनले अध्यक्षसहित नेताहरू कमजोरी र आलोचनाभन्दा माथि नभए पनि आलोचना मैत्रीपूर्ण र फ्रेन्ड्ली वातावरणमा नभए त्यसले रूपान्तरणमा सहयोग नगर्ने बताए। सत्तासीन दल र माओवादीका दुश्मन शक्तिहरूले टुटफुट र विभाजनमा लैजान कोसिस गर्न सक्नेतर्फ सचेत हुन पार्टी नेतृत्व र कार्यकर्तापंक्तिलाई आग्रह गरे । ‘कसैले पनि हाम्रो त्याग, तपस्या र समर्पणप्रति चलखेल नगरोस्। पार्टीलाई कमजोर पार्ने प्रवृत्ति पार्टीबाहिरबाट नहोस्। त्यस प्रकारका प्रवृत्तिप्रति सबै सतर्क हुन जरुरी छ,’ उनले भने। यस्तै, उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड युगनायक भएको दाबी गरे।
पुनले प्रचण्ड युगले जन्माएको नेता भएको बताउन हिच्किचाउन जरुरी नरहेको बताए। अनौपचारिक रूपमा विरोधी पार्टीका नेता र समाजले गणतन्त्र स्थापना र समावेशिता प्रचण्ड र माओवादीको नेतृत्वमा आएको स्वीकार गर्ने गरे पनि वर्गीय स्वार्थका कारण सार्वजनिक रूपमा भने स्विकार्न नगर्ने अवस्था रहेको उल्लेख गरे।
‘३ सय वर्ष पुरानो इतिहास भएको सामन्ती राजतन्त्र अन्त्य गर्ने युगान्तकारी आन्दोलनको नेतृत्व गर्नुभएको हाम्रो अध्यक्ष कमरेड प्रचण्ड युग परिवर्तनको नायक हो। कांग्रेस–एमालेजस्ता दलका नेता वर्गीय स्वार्थ र भोटको राजनीतिले गर्दा यो सत्य भन्न सक्दैनन्, तर भोलि इतिहासले यो कुरा साबित गर्नेछ,’ पुनले भने, ‘महिलाका, जनजातिका, मधेसका सुदूरपश्चिमका, कर्णालीलाई अधिकार सम्पन्न गराउने र ती समुदाय र क्षेत्रमा जागरण आएको कुरा गर्दा यो त माओवादीले गरेको हो भन्ने मानिसहरू धेरै छन्। राज्यका सबै संरचना हेरफेर कसले गरेको हो भन्दा माओवादीले भन्ने स्विकार्छन्। यो उपलब्धिको फाइदा खान पनि तयार छन्। तर, माओवादीलाई नेतृत्व स्वीकार गर्दैनन् । किनकि यसमा सबैको आफ्नो वर्ग स्वार्थ छ।’
फरक प्रसंगमा पुनले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताबारे सघन छलफल चलिरहेको खुलाए।