
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सन् २०२८ मा अमेरिकाको लस एन्जलस ओलम्पिकमा क्रिकेटका लगि महादेशीय छनोट प्रणाली प्रस्ताव राखेको छ । गत महिना अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले लस एन्जलस ओलम्पिकमा क्रिकेट विधा समावेश गर्ने निर्णय गरेको थियो । आइओसीले पुरुष र महिला दुवै विधामा समान ६ टोली सहभागी हुने जनाएको थियो । सन् १९९० पछि ओलम्पिकमा क्रिकेट विधा फर्किएको हो । एक सय २८ वर्षअघि अन्तिमपटक पेरिस ओलम्पिकमा क्रिकेट समावेश हुँदा बेलायतले स्वर्ण जितेको छ ।
दुई वर्ष आयोजना हुने संस्करणमा आइओसीले ओलम्पिकमा राष्ट्रहरूको सहभागिता र छनोट प्रक्रिया सबै अधिकार आइसिसीलाई दिएको थियो । जसअनुसार आइसिसीले पुरुष तथा महिलातर्फ महादेशीय प्रणालीअनुसार टोली निर्धारण हुने जनाएको छ । उसले आइसिसीको वरीयताअनुरूप नभएर महादेशमा शीर्ष स्थानमा रहने राष्ट्र मात्र ओलम्पिकमा सहभागी हुने जनाएको छ । यसअनुसार प्रत्येक महादेशबाट शीर्ष वरीयतामा रहेका पुरुष र महिलामा समान एक टोलीले ओलम्पिकमा स्थान बनाउनेछ ।
यो निर्णय ओलम्पिकको भावनाअनुसार विश्वभरका राष्ट्रहरूको प्रतिनिधित्व सुनिश्चित गर्न लिइएको आइसिसीले जनाएको छ । यही नियम लागू भए विश्व क्रिकेटका पाकिस्तान, न्युजिल्यान्ड र श्रीलंकाजस्ता बलिया राष्ट्रहरूले ओलम्पिक गुमाउने पक्का छ । ओलम्पिकमा क्रिकेट विधा टी–२० फर्म्याटमा हुनेछ । पछिल्लो आइसिसी टी–२० वरीयतामा एसियामा भारत छनोट हुनेछ । यसले पाकिस्तान बाहिरिने सुनिश्चित छ । त्यसैगरी, ओसियानाबाट अस्ट्रेलिया, युरोपबाट इंग्ल्यान्ड, अफ्रिका महादेशबाट दक्षिण अफ्रिका र अमेरिका महादेशबाट आयोजक अमेरिका वा क्यारेबियन राष्ट्रमध्ये एकले स्थान बनाउनेछ ।
छैटौँ राष्ट्रका लागि ग्लोबल छनोट पनि हुने
पाँच महादेशबाट पाँच टोली वरीयताअनुसार सीधै छनोट हुनेछन् । आइसिसीले छैटौँ टोलीका रूपमा ग्लोबल क्वालिफायर आयोजना गर्ने सम्बन्धमा आइसिसीले छलफल गरिरहेको छ । आयोजक राष्ट्र अमेरिकालाई सीधै प्रवेश दिनेबारे छलफल भएको छ । तर, अमेरिकाको पुरुष टोलीका खेलाडीको नागरिकता र महिला टोली शीर्ष २० वरीयतामा पनि नरहेकाले आइसिसीले निर्णय गरेको छैन ।
इंग्ल्यान्ड, स्कटल्यान्ड र आयरल्यान्डले मिलेर ‘ग्रेट ब्रिटेन क्रिकेट’ नामक टोली गठन गरेका छन् । तीनवटै राष्ट्रका एकै संयुक्त टोली हुनेछन् । वेस्ट इन्डिजले पनि आफ्ना सदस्य राष्ट्रबिच छनोट प्रतियोगिता गराएर विजेतालाई पठाउने प्रस्ताव आइसिसीलाई पठाएको छ । सन् २०२८ पछि २०३२ को ब्रिसबेन र सन् २०३६ को ओलम्पिकमा आठदेखि १२ टोलीसम्म पुर्याउने आइसिसीको योजना छ ।
‘हामीलाई आशा छ, अर्कोपटकको ओलम्पिकमा थप राष्ट्रहरूबिच प्रतिस्पर्धा हुनेछ,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसपटक महादेशीय वरीयताका आधारमा छनोट प्रावधान अगाडि बढाइएको छ ।’ सन् २०३६ को ओलम्पिकका लागि कतार, साउदी अरेबिया र भारतले दाबी प्रस्तुत गर्नेे तयारी गरेका छन् ।