
‘मलाई दैनिक झन्डै १८ घण्टा काम गराउँथे, न समयमा खाना दिन्थे न सुत्न नै पाइन्थ्यो । न त बिदा न त भनेजति तलब । बाहिर निस्कन खोज्दा मालिक–मालिक्नीले धम्की दिन्थे, उनीहरूबाट दुव्र्यवहार र अपमान व्यहोर्नुपथ्र्यो । ‘तैँले यदि बाँच्नु छ भने हामीले भनेको काम गर, यहाँ तँलाई कसैले चिन्दैन, मारे पनि कसैले केही गर्दैन’ यी शब्दहरू बारम्बार साहुबाट दोहोरिन्थे । मलाई लाग्थ्यो, म कहिल्यै घर फर्किन सक्दिनँ, मेरा छोराछोरी टुहुरा हुने भए, बाबुआमाका सपना यतै विलय हुने भए,’ ओमनबाट उद्धार भएर हालै नेपाल फर्किएकी बागलुङको गलकोट माइती घर भई गुल्मीको आँपचौर कर्मघर भएकी छमकुमारी (नाम परिवर्तन) भक्कानिँदै आफ्ना पीडाहरू सुनाउँछिन् ।
विदेश जानुपर्ने रहर होइन, बाध्यता थियो
टन्न पैसा कमाउने र परिवारलाई सुखसयलमा राख्ने सपना बोकेर छमकुमारी डेढ वर्ष पहिले ओमन पुगेकी थिइन् । घरमा १४ वर्षको छोरा, आठ वर्षको छोरी, बुढा भएका बाबुआमा छोडेर ओमन जानुपर्ने उनीलाई रहर होइन, त्यो बाध्यता थियो । यो बाध्यता भने आफ्नै श्रीमानका कारण आएको छमकुमारी बताउँछिन् । ‘सात वर्ष पहिले श्रीमान् कोरिया जानुभयो, उहाँ गएपछि नानी–बाबु लिएर म काठमाडौं आएँ, श्रीमान् विदेश गएपछि एक वर्षसम्म त राम्रै सहयोग गर्नुभएको थियो,’ उनी भन्छिन्, ‘पछि उहाँले कुनै सहयोग गर्नुभएन, छोराछोरीलाई पढाउन र बिहान–बेलुका छाक टार्न पनि गाह्रो भयो, अनि बिदेसिने निर्णय गरेकी हुँ, कमाउने सपना लिएर ओमन गएँ बन्दकमा परेँ, भागेर नेपाल फर्किएँ ।’ श्रीमानले आफू र छोराछोरीलाई हेर्न छाडेको ६ वर्ष भएको उनि बताउँछिन् ।
कुवेत जाने भनेर ओमन पठाए
काठमाडौंजस्तो सहरमा ज्यालादारीमा परिवार धान्न गाह्रो भएपश्चात् उनलाई खाडी मुलुक नै भए पनि जाने सोच पलायो । विदेश त जाने तर कहाँ जाने ? खाडी नै भए पनि कुन देश राम्रो हुन्छ त्यसबारे धेरै खोजिन्, बुझिन् । बुझ्दै जाँदा एकजना मेनपावर सञ्चालकसँग भेट भयो, सुरुमा कुवेत पठाउँछु भन्दै उनीसँग ५० हजार रुपैयाँ मागेका थिए । छमकुमारीले धेरै कुरा बुझेको हुँदा सुरुमा ३० हजार रुपैयाँ मात्र दिइन्, कम्पनीकै काम पाइने, तोकिएको तलब पनि पाइने भन्दै पासपोर्ट बुझाइन्, दुई–तीनपटक मेडिकलका लागि बोलाइयो । मेडिकल गरेको झन्डै १६ हजार रुपैयाँ खर्च भयो । ३० हजारमा १४ हजार मात्र उनले फिर्ता पाइन्, कुवेतको काम भएन, भिसा आएन । पछि ओमन पठाउँछु भन्यो । कामको प्रकृति पनि यस्तै हो भन्यो, छमकुमारी विश्वासमा पुगिन् र हस् भनिन् ।
कोठामा बन्धक बनाएर मोलमोलाइ भयो
ओमन जाने निधो भएपश्चात् मेनपावर सञ्चालकले ०८० फागुन ६ गते फोन गरे– भिसा लाग्यो, भोलि नै जानुपर्यो भने । छमकुमारी ओमन जान तयार भइन् । फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी ओमनका लागि उडिन् । ‘छोराछोरी छाडेर जानुपर्ने बाध्यता र मनमा पिर भए पनि मनमा चंगाजस्तै भएको थियो,’ उनले भनिन्, ‘किनकि धन कमाउने, रमाउने र छोराछोरी तथा परिवारलाई सुखसयलमा राख्ने मेरो सपना साकार हुने भयो भनेर, सहजै ओमन पुगियो । त्यहाँ पुगेपछि हामीलाई एउटा कोठामा लगियो । बन्धक बनाएर राखियो अनि हाम्रो मोलमोलाइ सुरु भयो । त्यसपछि बल्ल थाहा भयो कि कुनै कम्पनीले हामीलाई सम्झौता गरी घरायसी कामदारको रूपमा यहाँ ल्याएको रै’छ भनेर । तब मेरो मनमा डर र त्रास मात्र आयो, मेरा सबै सपना चकनाचुर हुन्छन् भन्ने लाग्यो ।’उनीसँगै १६ जना महिला घरेलु कामदारकै रूपमा त्यहाँ गएका थिए ।
कम्पनीको काम भनेर घरेलु कामदारको रूपमा फसाइयो
कम्पनीको काम भनेर नेपालबाट गएका घरेलु कामदारको रूपमा परेपछि उनीहरूले मेनपावर सञ्चालकलाई फोन गरे कराए, तर कसैले सुनेन । सामान्य लेखपढ मात्र गर्न जान्ने छमकुमारीले आफूहरूले केही पढ्न नजानकै कारण मेनपावर सञ्चालकले फसाइदिएको बताइन् । ओमन पुगेको केही दिनपश्चात् उनी एउटा घरमा काम गर्न गइन् । त्यो घरमा उनलाई राम्रै व्यवहार भएको थियो । एक महिनामा नै उनलाई काम लगाएको कम्पनीले पुनः अर्को घरमा पठायो । कम्पनीले जे भन्यो त्यो गर्नुबाहेक अर्को विकल्प थिएन, त्यहाँ सहजै बसिन्, काम गरिन् ।
साहुसाहुनीले दुव्र्यवहार र कुटपिटसम्म गरे
फागुनमा गएकी उनी असोजसम्म दोस्रो घरमा बसेर काम गरिन्, काम राम्रै थियो, सहज थियो । घरमा नियमित कुरा हुन्थ्यो । दिन राम्रै गरी चलेको थियो । उनलाई खाडी मुलुकमा घरेलु कामदारलाई सुरक्षित छैन भन्ने सुने पनि आफू त्यसवेलासम्म राम्रैमा परेको हुँदा कामको वेला कुनै चिन्ता भएको थिएन । अपसोच ! उनलाई दोस्रो घरबाट पनि तेस्रो घरमा कामका लागि लगियो । ‘सुरुमा पहिलो र दोस्रो घरमा जस्तै होला भन्ने लागेको थियो, तर त्यहाँ सोचेजस्तो रहेनछ । तेस्रो घर मुख्य सहरदेखि टाढा पनि थियो । छमकुमारीले भनिन्, ‘जब तेस्रो घरमा म पुगेँ त्यसपछि मलाई त्यहाँ बस्न नै मन लागेन, काम गर्दै जाँदा त्यहाँका साहुसाहुनीबाट दुव्र्यवहार हुन थाल्यो । कुटपिटसम्म गरे, म अब घर फर्किन्न भन्ने लागेको थियो ।’ घरमालिकले तैँले हामीले भनेको काम नगरे तँलाई यहीँ मारे पनि कसैले केही गर्दैन भन्दै बारम्बार थर्काउने गरेको छमकुमारी सम्झिन्छिन् । उनले काम गर्ने ठाउँ ओमनको मुख्य सहर र नेपालीदेखि नै धेरै टाढा थियो । बाहिर निस्कौँ, निस्कने वातावरण थिएन, नजिकै कोही चिनेको थिएन, साहुसाहुनीको गाली दैनिक व्यहोर्नुपथ्र्यो, उनले आफू बन्धकमा परेको बल्ल थाहा पाइन् ।
लुकी–लुकी घरपरिवारसँग बोल्दा मोबाइल नै खोसिदिने
छमकुमारी नेपालमा आफ्ना आमाबाबु र छोराछोरीसँग लुकी–लुकी फोनमा बोल्थिन्, घरमालिकले गाली गर्ने, मोबाइल नै खोसिदिने गर्र्थे, उनलाई कहिले आफ्नो घर फक्र्यौँ जस्तो भयो, तर आधार थिएन । ‘घरेलु कामदारको रूपमा कम्पनीले सम्झौता गरेको रहेछ, बाहिर निस्केर नेपाल फक्र्यौँ भने पनि सजिलो हेनछ । म धेरै रोएँ, कराएँ, तर कतै आधार भेटिएन, न त्यहाँ नेपाली थिए न कुनै निकाय पुग्थ्यो,’ छमकुमारीले भनिन्, ‘नेपाली दूतावासबाट त्यहाँ पुग्न पनि १२ घण्टा लाग्दोरहेछ ।’
उनले नेपाल हुँदा जिल्लाजिल्लामा वैदेशिक रोजगारका लागि सहायता कक्ष हुन्छ भन्ने सुनेकी थिइन् । आफू अलपत्र र बन्धक भएपछि माइतीघरमा बाबालाई बागलुङमा छ कि छैन भनेर बुझ्न लगाइन् । उनले गलकोटमा रहेका आफ्ना बाबुलाई नगरपालिकामा गएर कसरी आफू नेपाल फर्किन सकिन्छ त्यसबारे बुझ्न लगाएको बताइन् । ‘म अलपत्र परेर रोएको सहन नसकेर बाबा नगरपालिका जानुभएछ, नगरपालिकाको सामीमा नै काम गर्ने रजनालाई भेट्नुभएछ,’ छमकुमारीले विलौना गर्दै थपिन्, ‘उहाँले जिल्ला प्रशासनमा रहेको आप्रवासी स्रोत केन्द्रमा पठाउनुभयो, केन्द्रमा उजुरी आएपछि त्यहाँ काम गर्ने गंगा मेडमले मलाई ‘इमो’मा सम्पर्क गर्नुभयो ।’ आप्रवासी स्रोत केन्द्र बागलुङमा कार्यरत सूचना तथा परामर्शकर्ता गंगा शर्मा रिजालसँग सम्पर्कमा आएपछि बल्ल नेपाल फर्किने आशा पलाएको उनले बताइन् ।
सामीकै सक्रियतामा नेपाल ल्याइयो
छमकुमारीलाई उद्धार गरेर नेपाल ल्याउन सामीसँगै गलकोट नगरपालिका, जिल्ला प्रशासन कार्यालय बागलुङ र ओमनमा रहेको नेपाली दूतावासमार्फत ठुलो सहयोग भएको केन्द्रकी सूचना परामर्शकर्ता शर्माले बताइन् । ‘छमकुमारी कुवेतमा अलपत्र परेको थाहा पााएपश्चात् उहाँलाई हामीले ‘इमो’मार्फत जोड्यौँ, उहाँसँग सम्पर्क गर्न र कुरा गर्न प्रयास गरियो, मालिक घरमा नै भएको वेला उहाँ बोल्न सक्नुभएन,’ शर्माले भनिन्, ‘नेपाली समयअनुसार रातको १२ बजे उहाँले रुँदैै हामीलाई फोन गर्नुभयो, हामीले धेरै सम्झायौँ, बुझायौँ, जसरी हुन्छ मलाई नेपाल फर्काउनु भन्नुभयो, भोलिपल्ट दूतावासमा खबर गरियो । सामीमार्फत नेपाल ल्याउने आधार र प्रक्रिया सुरु भयो ।’
शर्माका अनुसार छमकुमारीलाई नेपाल ल्याउनका लागि दूतावासले धेरै ठुलो संघर्ष गर्नुपरेको थियो । मुख्य सहरदेखि टाढा भएको र उनले आफ्नो लोकेसन सेयर गर्न नसक्दा उनी कुन ठाउँमा कसरी बसेकी छिन् भन्ने कुरा पत्ता लगाउनकै लागि धेरै समय लागेको उनले बताइन् । ‘दैनिकजसो उहाँले फोनमा नेपाल जसरी नि फर्काउनु नत्र म यहीँ मर्छु भन्दै रुँदै फोन गर्नुहुन्थ्यो, न उहाँले आफ्नो लोकेसन सेयर गर्न नै सक्नुहुन्थ्यो,’ शर्माले भनिन्, ‘हामीले र दूतावासका प्रतिनिधिले उहाँलाई मोबाइलमा ‘ह्वाटसएप’ डाउनलोड गर्न सिकायौँ, त्यहीमार्फत आफ्नो लोकेसन पनि सेयर गर्न पनि सिकायौँ । तब मात्र सफल भइयो कि छमकुमारी कुन सहरमा हुनुहुँदो रहेछ, कहाँ हुनुहुँदो रहेछ । जब छमकुमारी काम गर्ने ठेगाना र घर पत्ता लाग्यो दूतावासले उनको उद्धारका लागि दुईजना नेपाली पठायो । त्यहाँबाट उद्धार गरियो । यस्ता उद्धार अभियान सहज छैनन् । मालिक र एजेन्टले महिलालाई घर छोड्न दिन चाहँदैनन् । धेरैपटक प्रहरी र अदालतको पनि सहयोग लिनुपर्छ ।’
खालीखुट्टा भागेर नेपाल फर्किन सफल
‘म अलपत्र र बन्धकमा थिएँ, दूतावासले पठाएका दुईजना दाइले यसरी भागेर निस्कनु भन्नुभयो, म खालीखुट्टा नै भागेर निस्किएँ,’ छमकुमारीले भनिन्, ‘त्यसवेला साहुसाहुनी बजार गएका थिए, छोराहरू सुतेका थिए । म भागेर बाहिर निस्किएँ, दुई नेपाली दाजुभाइ प्रकाश र शीतलले मलाई लिएर १२ घण्टामा नेपाली दूतावास पुर्याउनुभयो ।’
आफू नेपाली दूतावासमा पुगेपछि बल्ल सुरक्षित भएको महसुस भएको छमकुमारी बताउँछिन् । उनको आवश्यक सबै कागजात पूरा नभएर झन्डै एक महिना दूतावासमा नै बस्नुपर्यो । गत चैत ३० गते मात्र उनी नेपाल फर्किइन् । आप्रावासी स्रोत केन्द्र सामीमार्फत आफ्नो उद्धार नभएको भए हालसम्म उतै जिन्दगी बर्बाद हुन सक्ने उनी बताउँछिन् । अहिले छमकुमारी काठमाडौंमा आफ्ना छोराछोरीसँगै छिन् । गलकोटमा आएर बाबुआमा पनि भेटिन् । उनले आफ्नो परिवारसँग रमाउन पाउँदा नयाँ जिन्दगी नै पाएको महसुस गरेकी छिन् ।
ओमन र अन्य खाडी मुलुकमा नेपाली महिलाको अवस्था सुधार्न कानुनी प्रक्रिया कडाइका साथ लागू हुनुपर्ने र सुरक्षित रोजगारको अभियान अझै प्रभावकारी हुन जरुरी रहेको छ । वैदेशिक राजगारीमा गएर अलपत्र र बन्धकमा परेका थप दुईजना महिलालाई सामीले उद्धार गरेको केन्द्रका जिल्ला संयोजक मीनप्रसाद उपाध्यायले बताए । सामीले वैदेशिक रोजगारीमा जानेका लागि सूचना परामर्श दिने र अलपत्र परेकालाई नेपाल ल्याउनका लागि सहजीकरणको काम गर्दछ ।