
कोशी प्रदेशमा गत आर्थिक वर्ष ०८१/८२ मा सडक दुर्घटनामा परी ४१८ जनाको ज्यान गएको छ भने ७११ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा आठ हजार ५३० जना सामान्य घाइते भएका कोशी प्रदेश प्रहरीले जनाएको छ।
लापरबाहीपूर्वक सवारीसाधन चलाई ट्राफिक नियम उल्लंघन गर्ने दुई लाख १३ हजार ६९५ वटा सवारीसाधन कारबाहीमा परेका प्रहरीले जनाएको छ। जसबाट १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैयाँ राजस्व संकलन भएको छ।
कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेशका १४ जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित ९६ वटा ट्राफिक प्रहरी एकाइहरूले ट्राफिक नियम पालना गराउँदै आएका छन्।
कोशीमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन मुख्य तथा सहायक मार्गहरूमा ९३२ स्थानमा सिसिक्यामेरा जडान गरिएको छ। पूर्व–पश्चिम एसियन हाइवेमा झापाको झिलझिले र उत्तरदक्षिण कोशी हाइवेमा विराटनगरको दुधफारम र खार्जीमा नम्बरप्लेट डिटेक्टरसहितका सिसिक्यामेरा जडान गरिएको छ।
कोशीमा लामो दूरीको सवारीसाधन तथा भारतीय नम्बरप्लेटको सवारी जाँचका लागि ६ स्थानमा ट्राफिक कम्युनिकेसन एपसहितको चेकजाँच, सार्वजानिक सवारीसाधनको गति नियन्त्रणका लागि २१ स्थानमा टाइमकार्ड इन्ट्रीको व्यवस्था गरिएको छ। यसैगरी लापसे, मापसे र तीव्र गतिबाट हुने दुर्घटना न्यूनीकरण गर्न राडर गनसहितको चेकजाँच पनि हुँदै आएको बताइएको छ।
ट्राफिक प्रहरीले कोशीका विभिन्न जिल्लामा सवारी निययम उल्लंघन गर्ने सवारीलाई कारबाही तथा दुर्घटना न्यूनीकरणका लागि दैनिक २३९ भन्दा बढी स्थानमा संयुक्त तथा एकल रूपमा चेकजाँच गरिँदै आएको छ।
ट्राफिक प्रहरीले कोशीमा गत आर्थिक वर्षमा प्रदेशका विभिन्न स्थानमा २६ हजार २९३ पटक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जसबाट ६ लाख १६ हजारभन्दा बढी सवारीचालक, सडक प्रयोगकर्ता तथा विद्यार्थी लाभान्वित भएका छन्।
दुर्घटनाको मुख्य कारण लापरबाही
कोशीमा सवारी दुर्घटना हुनुमा मुख्य जिम्मेवार चालक लापरबाही नै भएको प्रहरीको विश्लेषण छ। यसबाहेक सवारी चलाइरहेको वेला मोबाइल फोनको प्रयोग गर्नु, सिट क्षमताभन्दा बढी यात्रु राख्नु, भारवहन क्षमताभन्दा बढी सामान ढुवानी गर्नु, हेलमेटको फिता नबाँध्नु, सिटबेल्ट नलाउनुलगायतले पनि दुर्घटना भइरहेका छन्।
मादक पदार्थ तथा लागुपदार्थको प्रयोग गरेर सवारीसाधन चलाउनु, थकित अवस्थामा सवारी चलाउनु, यान्त्रिक अवस्था ठिक नभएको सवारी चलाउनु, सवारीचालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउनु, सडक प्रयोगकर्ताले जथाभावी बाटो काट्नु आदि कारणले पनि सडक दुर्घटना भइरहेका बताइएको छ।