
मध्यपुर थिमि नगरपालिका–५ का ३९ वर्षीय लक्ष्मीभक्त भासिमा कलाकार हुन्। १६ वर्षको उमेरमै स्पाइनल ट्युमरका कारण उनी अपांगताको सिकार बने । हिँडडुल गर्न नसक्ने भए पनि उनले हरेस खाएनन् र थांका चित्र बनाउने कलामा पारंगत बने। अपांगतालाई चुनौती दिँदै उनी अहिले सक्रिय श्रमजीवी जीवन बिताइरहेका छन्।
अपांगताका बाबजुद समाजमा उदाहरणीय बनेका भासिमालाई सोमबार मध्यपुर थिमि नगरपालिकाले तीनपांग्रे स्कुटर दिएको छ। २५ प्रतिशत मूल्य भासिमाले र ७५ प्रतिशत नगरपालिकाले व्यहोरेर खरिद गरिएको स्कुटर सोमबार भासिमालाई हस्तान्तरण गरिएको हो।
स्कुटर पाएपछि भासिमा दंग देखिए। ‘नगरपालिकालाई नजिकको सरकार भनेको सुनेको थिएँ, आज व्यवहारमा अनुभूति भयो,’ उनले भने।
सोमबार भासिमासँगै मध्यपुर थिमिका अन्य अपांगता भएका नगरवासीलाई पनि सहायक सामग्री हस्तान्तरण गरिएको छ । १० वटा ह्विल चियर, नौवटा कम्बोड चेयर, दुईवटा कृत्रिम खुट्टा त्यसैगरी जेली कुसन, विशेष जुत्ता, सेतो छडी, एयर म्याट्रेस पनि उपलब्ध गराइएको नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले बताए।
‘नगरपालिकाको आन्तरिक स्रोतबाट करिब ६ लाखबराबरको सहायक सामग्री खरिद गरी हस्तान्तरण गरिएको हो,’ महाशाखा प्रमुख भट्टले भने। यसअघि ११ लाख रुपैयाँको सहायक सामग्री वितरण गरिएको थियो।
अपांगता भएकाहरूलाई सहायक सामग्री हस्तान्तरण गर्दै नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले मानव विद्या गृह, सिद्धिकालीस्थित विशेष विद्यालयमा अपांगता भएकालाई सिपमूलक तालिम दिइरहेको जानकारी दिए।
‘अपांगता भएकालाई झोल साबुन र खाम बनाउने तालिम पनि दिइरहेका छौँ,’ उपप्रमुख श्रेष्ठले भने, ‘उत्पादित सामग्री नगरपालिकाले खरिद गर्ने व्यवस्था मिलाएका छौँ।’
सो अवसरमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले अपांगता भएकालाई नगरपालिकाले विशेष सुविधा प्रदान गरिरहेको बताए। अपांगताको पहिचान र परिचयपत्र वितरणलाई प्रभावकारी बनाइएको उनको भनाइ छ।
सो अवसरमा वडाध्यक्ष बाबुकाजी डंगोल, न्यायिक समिति सदस्य तुलसीराम प्रजापति, नगरपालिकाको सूचना अधिकारी केशव सिलवाललगायतको उपस्थिति रहेको थियो।
मध्यपुर थिमिमा अपांगता भएकाको संख्या तीन सय नौजना रहेको छ। त्यसमध्ये एक सय ३३ जना पूर्ण रूपले अशक्त रहेका छन्।