
रसुवाको गोसाइँकुण्डमा नुहाउने क्रममा डुबेर मृत्यु भएका दुईजना युवा मोरङको बेलबारी र विराटनगरका भएको खुलेको छ ।
मोरङका सिडिओ इन्द्रदेव यादवका अनुसार विराटनगर महानगरपालिका– ३ का २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका– ११ का २८ वर्षीय मनोज न्यौपानेको गोसाइँकुण्ड नुहाउने क्रममा आइतबार डुबेर मृत्यु भएको पुष्टि भएको हो।
आइतबार नुहाउने क्रममा गोसाइँकुण्डमा डुबेपछि प्रहरीले उनीहरूको खोजतलास गर्दा सोमबार बिहान १० बजे शव फेला पारेको रसुवाका डिएसपी हेमबहादुर शाहीलाई उद्धृत गर्दै सिडियो यादवले जानकारी दिए ।
सोमबार उनीहरूको शवलाई गोसाइँकुण्ड गाउँपालिका– ५ मा बाट धुन्चे ल्याएपछि मृतकका परिवारसँग सम्पर्क गरेर बुझाउने तयारी भइरहेको छ ।
शनिबार मृतक ढकाल र न्यौपानेसहित १३ जना युवा साउने तीर्थका लागि काठमाडाैंबाट रसुवा आएका थिए । ११ साउन आइतबार विहान उनीहरू रसुवाबाट गोसाइँकुण्ड पुगेका थिए । उनीहरू कुण्डमा नुवाउने क्रममा डुबेपछि बाँकी रहेका साथीहरूले घटनाबारे आफन्त र साथीहरूलाई जानकारी गराएका थिए ।