
आर्थिक वर्ष ०८१/८२ मा प्रहरीले कोशी प्रदेशका विभिन्न जिल्लाबाट तस्करीका ८९ सवारीसाधन र ८५ जना तस्करलाई पक्राउ गरेको छ। प्रहरीले २० करोड ४२ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको जनाएको छ।
कोशी प्रहरी कार्यालय विराटनगरका अनुसार गत वर्ष झापाले सात करोड तीन लाख मोरङले पाँच करोड ५६ लाख, सुनसरीले चार करोड २३ लाख, ताप्लेजुङले एक करोड चार लाख, उदयपुरले ९६ लाख र इलामले ७० लाख रुपैयाँभन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ।
भन्सार छली, चोरी तथा तस्करी नियन्त्रणमा कडा निगरानीसहितको अभियान सञ्चालन गर्दै गत एक आर्थिक वर्षमा अघिल्ला वर्षहरूको भन्दा धेरै प्रगति गर्न सफल भएको कोशी प्रदेश प्रहरी प्रवक्त्ता एसपी दीपक पोखरेलले बताए। उनले भने, ‘खुला सिमानाका कारण भन्सार छली र चोरी–तस्करीका घटनाहरू बढ्दै गएपछि नाकाहरूमा चेकजाँच कडा बनाउँदै सुरक्षा सञ्जाल बलियो बनाएका छौँ। यसैले राम्रो परिणाम आउन थालेको छ।’
भन्सार छली तथा तस्करी नियन्त्रणमा प्रविधिको प्रयोग, सूचनाको गोप्य निगरानी तथा चेकजाँचमा कडाइ गरी कोशी प्रदेश प्रहरीले सक्रियता बढाएको हाे।
कोशीमा धेरैजसो भारतसँग सिमाना जोडिएका जिल्लाहरू झापा, मोरङ र सुनसरी जिल्लामा चोरी तस्करी हुँदै आएको छ।