
सिंहदरबार परिसरभित्र डेंगी सार्ने प्रजातिको लामखुट्टेको लार्भा नष्ट गरिएको छ । आइतबार स्वास्थ्य सेवा विभागबाट खटिएको टोलीले सिंहदरबारको अगाडि फाउन्टेनसहितको जलाशय र अन्य विभिन्न स्थानमा जमेको पानीमा डेंगी फैलाउने एडिस प्रजातिको लामखुट्टेका लार्भाहरू नष्ट गरेको हो।
ती लार्भा डेंगी फैलाउने अवस्थामा रहेकोले नष्ट गरिएको विभागले जनाएको छ। खाली टायर, ड्रम, गमलाका पिँधमा राखिएका कचौरा, प्लास्टिकका कप, भाँडाकुँडा तथा खाली स्थानमा पानी जमेपछि त्यसमा लामखुट्टेले फुल पार्ने र लार्भा निकाल्ने गर्दछ।
त्यसलाई नष्ट नगरे डेंगी भयावह हुन सक्ने चिकित्सकहरूले बताएका छन्। सरकारले साउन महिनालाई डेंगी नियन्त्रण महिनाका रूपमा समेत घोषणा गरिसकेको छ। तर, पछिल्लो समय डेंगी संक्रमित हुनेको संख्या बढ्दो छ। जनचेतना तथा सरकारी तवरबाट प्रभावकारी रूपमा डेंगी नियन्त्रण अभियान नचाल्दा डेंगी संक्रमणदर बढिरेहेको चिकित्सकहरूले बताउँदै आएका छन्।
एपिडिमियोलोजी तथा रोग नियन्त्रण विभाग (इडिसिडी)का अनुसार पछिल्लो समय डेंगी संक्रमणदर बढ्दो छ । २७ जनवरीसम्म दुई हजार ४५० भन्दा बढीलाई संक्रमण भएको छ। डेंगी संक्रमणका कारण गम्भीर लक्षण तथा जोखिम हुने भएकोले चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट बच्न सुझाउँदै आएका छन्।