
बागमती प्रदेश सरकारमा सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिंदै गएको छ। प्रदेश सभामा कांग्रेस संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि निवर्तमान युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले नैतिकताको आधारमा मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुपर्ने धारणा राखेका छन्।
महर्जनले शुक्रबार दिउँसो मन्त्री पदबाट राजीनामा दिएका थिए। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा मुख्यमन्त्री लामाको राजीनामाको माग गरेका हुन्। उनले २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पार्टीभित्रैको असहमतिको कारण देखाउँदै राजीनामा दिएको उदाहरण प्रस्तुत गरेका छन्।
‘२०५६ सालको निर्वाचनपछि किसुनजी प्रधानमन्त्री बन्नुभयो। तर, ११ महिनामै पार्टीकै सांसदले अविश्वास प्रस्ताव ल्याएपछि उहाँले नैतिकता देखाउँदै राजीनामा दिनुभयो,’ महर्जनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मुख्यमन्त्री लामाले पनि त्यस्तै मार्ग अवलम्बन गर्नुपर्छ।’
महर्जनसहित २१ जना कांग्रेस सांसदले शुक्रबार मुख्यमन्त्री लामालाई दलको नेताबाट हटाउन माग गर्दै अविश्वास प्रस्ताव दर्ता गराएका थिए। त्यसपछि महर्जनले मन्त्री पदबाट राजीनामा दिँदै आफ्नो स्पष्ट असन्तुष्टि व्यक्त गरेका हुन्। मुख्यमन्त्री लामाविरुद्ध लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका महर्जनले संसदीय दलको नेतृत्व कमजोर भएको आरोप लगाउँदै आएका छन्।
उनले नेतृत्व परिवर्तन नगरे दलभित्र थप संकट गहिरिने चेतावनीसमेत दिएका छन्। अर्कातर्फ, मुख्यमन्त्री लामा भने निर्वाचन प्रक्रियाबाट दलको नेता बनेको हुँदा आफू तत्काल राजीनामा दिने अवस्थामा नरहेको र दलभित्रको मतभेद संसदीय प्रक्रियाबाटै फेस गर्ने बताएका छन्। अविश्वास प्रस्तावबारे पार्टीका शीर्ष तहमा पनि छलफल सुरु भएको कांग्रेस स्रोतले जनाएको छ।