
भारत हुँदै घरेलु कामदारको रूपमा कुवेत जान लागेका ९४ जना नेपाली महिलालाई भारतीय प्रहरी र नेपाली राजदुतावासको प्रयासमा नेपाल फर्काइएको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार कुवेत जान लागेका ४७ जनाको समूहलाई नेपालतर्फ डिपोर्ट गरिएको थियाे । बुधबार पनि ४७ जनाको अर्को समूहलाई दिल्लीस्थित विमानस्थलबाट बाहिर निकालेर बसमा रुपन्देही पठाइएको जारी विज्ञप्तीमा उल्लेख छ ।
कुवेत जाने प्रयोजनका लागि दुवै समूह दिल्ली पुगेको थियो । दुतावासद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार उनीहरूले कुवेत जाने नक्कली ‘नो अब्जेक्सन लेटर’ (एनओसी) बोकेको फेला परेको छ । सोमबार उनीहरूसँग कुवेत जान आवश्यक पर्ने एनओसी नक्कली भएपछि स्वदेश फर्काइएको छ ।
राजदूतावासका अनुसार गैरकानुनी रूपमा विदेश जाने नेपालीको संख्या बढ्दै गएको छ । मानव तस्करीसँग सम्बन्धित हुनसक्ने चिन्ता बढेको भन्दै दुतावासले एनओसी यकिन भएर मात्रै विदेश यात्रा गर्न अनुरोध गरेको छ । दुतावासले नेपाल सरकारको नीतिअनुसार पासपोर्ट, भिसा र एनओसी जस्ता कागजात देखाएर मात्र विदेश जान आग्रह गरेको छ ।
राजदूतावासले स्वीकृत कानुनी प्रक्रिया पूरा नगरी विदेश जान खोज्नेहरू जोखिममा पर्न सक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ ।