
श्रीमानको हत्या गरी फरार भएकी श्रीमतीलाई प्रहरीले २३ महिनापछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ८ कटेज नमुनाटोल बस्ने रञ्जिता लामिछाने रहेकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए। रञ्जिताले २२ वैशाख २०८० मा वालिङ ०८ कटेज नमुनाटोल बस्ने ४९ वर्षीय खुमानन्द लामिछानेको हत्या गरेको आरोपमा पक्राउ गरेको चौधरीले बताए।
अनुसन्धानका क्रममा हत्यामा श्रीमतीको समेत संलग्नता हुन सक्ने देखिएकाले स्याङ्जा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले वालिङ ८ वालिङमोडमा लुकिछिपी रहेको अवस्थामा रञ्जितालाई बिहीबार पक्राउ गरेको हो।
पक्राउपछि कर्तव्य ज्यान मुद्दामा बिहीबारै स्याङ्जा जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान कार्य सुरु गरेको जनाएको छ।