
दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ (राजागन्ज) फ्रान्सको ६२ वटा सिनेमा घरमा २३ जुलाईदेखि रिलिज भएको छ। सिनेमाको अन्तर्राष्ट्रिय केन्द्र मानिने फ्रान्समा पहिलोपटक नेपाली फिल्म ठुलो संख्यामा एकैपटक रिलिज भएको हो।
निर्देशक रौनियारले फिल्मलाई फ्रान्सेली वितरण कम्पनी ‘एआरपी सेलेक्सन’ले वितरण अधिकार किनेको बताए। फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनकी मिसेल हाल्बर्स्टाडले फिल्म प्रदर्शनका लागि सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताएकी छिन्। एआरपी सेलेक्सनकी मिसेल हाल्बर्स्टाडले भेराइटीसँग भनेकी छिन्, ‘पूजा, सर’ एउटा यस्तो फिल्म हो, जसले हामीलाई रहस्य, संस्कृति र दृश्यहरू सिधै लैजान्छ। यस अर्थमा, यो फिल्म अप्रत्याशित र आकर्षक छ। हामी फ्रान्सका दर्शकहरूमा यो फिल्म प्रदर्शन गर्न पाउँदा खुसी छौँ।’
यस्तै, चलचित्रलाई स्थानीय सञ्चारमाध्यम तथा समीक्षकहरूले ‘पूजा, सर’लाई प्रशंसा गरेका छन्। यसअघि ‘पूजा, सर’ स्विट्जरल्यान्डमा रिलिज भइसकेको छ। निर्देशक रौनियारका अनुसार तीन महिनादेखि स्विट्जरल्यान्डको पाँचवटा सहरहरूमा प्रदर्शन जारी छ।
निर्देशक रौनियारले अस्ट्रेलिया र न्युजिल्यान्डमा प्रदर्शनका लागि वितरण कम्पनीसँग सम्झौता गरिसकेको बताए। अस्ट्रेलियाको स्क्रिनक्सकोप कम्पनीले वितरण अधिकार किनेको उनको भनाइ छ।
त्यस्तै, ‘पूजा, सर’को ब्याकग्राउन्ड स्कोर (साउन्ड ट्रयाक)समेत २४३ देशमा रिलिज भएको छ। फिल्मको ‘साउन्ड ट्रयाक’ अमेजन प्राइम, स्पोटिफाई, युट्युबजस्ता प्लाटफर्ममा रिलिज भएको हो। फिल्मलाई बेलायतको च्यानल फोरले समेत प्रदर्शनका लागि वितरण अधिकार किनिसकेको छ। फिल्ममा आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मण्डल, घनश्याम मिश्रा, ऋचा शर्मा, गौमाया गुरुङलगायतका कलाकारहरूको अभिनय छ।
यो ‘पूजा, सर’ चलचित्र विश्वका प्रतिष्ठित भेनिस, बुसान, मुम्बईजस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा प्रदर्शन भइसकेको छ। सिड्नी, टालिन बाल्क नाइट्स, गोथेनबर्गलगायत फिल्म फेस्टिभलहरूमा समेत प्रदर्शन भइसकेको छ। नेदरल्यान्डको पिंक फिल्म डे महोत्सवमा ‘फ्रि टु बी मी’ अवार्डसमेत जितिसकेको छ।
निर्देशक राैनियारको ‘पूजा, सर’ तेस्रो फिचर फिल्म हो। यसअघि उनको फिचर ‘हाइवे’ र ‘सेतो सूर्य’ले अन्तर्राष्ट्रिय प्रशंसा बटुलिसकेको छ। प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो। ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रूपमै रौनियारको प्रशंसा गरेका थिए।