मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८२ श्रावण ७ बुधबार ११:५६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१५ खर्ब २७ अर्ब व्यापार घाटा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार ११:५६:oo

कोभिडयता पहिलोपटक आयातमा सुधार, निर्यातमा पनि फड्को, तर वैदेशिक व्यापार घाटा चुलिने क्रमले पायो निरन्तरता, आयातित वस्तुको सूचीमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा धेरै, धान–चामलसमेत उच्च आयात हुँदा व्यापार घाटा उच्च

  • एक वर्षमा आयात दुई खर्ब ११ अर्बले बढेर कुल व्यापार २० खर्ब नाघ्यो 
  • निर्यात एक खर्ब २४ अर्बले बढ्यो, व्यापार घाटामा ६% को वृद्धि

कोभिडयता आर्थिक क्रियाकलाप बढ्न नसक्दा सुस्त रहेको वैदेशिक व्यापार गत आर्थिक वर्ष ०८१/८२ मा भने सुधारिएको छ । भन्सार विभागका अनुसार गत आवमा १८ खर्ब चार अर्ब १२ करोडको वस्तु तथा सेवा आयात भएको छ, जुन अघिल्लो आव ०८०/८१ को तुलनामा १३.२५ प्रतिशतको वृद्धिदर हो ।

तर, आयात चुलिएसँगै व्यापार घाटा पनि बढेको छ । निर्यातको हिस्सा न्यून भएकाले गत आवमा १५ खर्ब २७ अर्ब व्यापार घाटा भएको भन्सार विभागको तथ्यांक छ, जुन अघिल्लो आव ०८०/८१ को तुलनामा ६ प्रतिशत बढी हो । उक्त आवमा १४ खर्ब ४० अर्ब व्यापार घाटा भएको थियो । 

विभागका अनुसार गत आवमा वस्तु आयात अघिल्लो वर्षको तुलनामा दुई खर्ब ११ अर्ब १३ करोड रुपैयाँले बढेको हो । अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

आयातको तुलनामा निर्यातले फड्को मारेको छ । गत आव ०८१/८२ मा दुई खर्ब ७७ अर्बको वस्तु निर्यात भएको छ । अघिल्लो आव ०८०/८१ मा एक खर्ब ५२ अर्बको मात्रै निर्यात भएको थियो । अर्थात् एक वर्षमा एक खर्ब २४ अर्ब (८१.८ प्रतिशत)ले निर्यात बढेको हो ।

भारतसँग निर्भर छ आयात–निर्यात
गत आवमा भारतबाट मात्रै १० खर्ब ७१ अर्बको वस्तु आयात भएको छ । यो कुल आयातको ५९ प्रतिशत हिस्सा हो । नेपालबाट निकासी हुने वस्तुको बजारमा पनि भारतको हिस्सा ८१ प्रतिशत छ । कुल दुई खर्ब ७७ अर्बको निर्यातमा भारततर्फ मात्रै दुई खर्ब २४ अर्बको व्यापार भएको छ । अर्को ठुलो छिमेकी चीनबाट गत आवमा तीन खर्ब ४१ अर्बको आयात भएको छ । चीनतर्फ निर्यात भने दुई अर्ब ६३ करोड मात्रै छ । 

१.२८ खर्बको डिजेल आयात, सर्वाधिक निर्यातमा भटमासको तेल
नेपालले एक वर्षमा सर्वाधिक एक खर्ब २८ अर्ब रुपैयाँको डिजेल आयात गरेको छ । १४ लाख ६६ हजार दुई सय ८५ किलोलिटर डिजेल भित्रिएको हो । ७१ करोड ८१ लाख लिटर कच्चा भटमासको तेल आयात गर्दा एक खर्ब आठ अर्ब बाहिरिएको छ ।

सात लाख ४६ हजार चार सय २० किलोलिटर पेट्रोल आयात भएको छ । मूल्यमा ६४ अर्ब १२ करोडको पेट्रोल आयात भएको हो । ६२ अर्ब १२ करोड रुपैयाँको खाना पकाउने ग्यास आयात भएको छ । ५५ करोड ४६ लाख किलोग्राम ग्यास आयात भएको भन्सार विभागको तथ्यांक छ । ३५ अर्ब ५४ करोडको स्मार्ट फोन आयात भएको छ । यसमा २१ लाख ८४ हजार ६ सय ९४ वटा स्मार्ट फोन नेपाली बजारमा भित्रिएका छन् । दुई खर्ब ७७ अर्बको कुल निर्यातमा भटमासको तेल मात्रै एक खर्ब ६ अर्बको बाहिरिएको छ ।