
नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन् । वाइल्डले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाउँदैे मुख्य प्रशिक्षकबाट राजीनामा दिएको जनाएका छन् । गत ३० असारमा एन्फाले उज्वेकिस्तानमा भएको घटनाको विवरण पठाउन भन्दै उनलाई स्पष्टीकरण सोधेको थियो । तर, वाइल्डले उज्वेकिस्तानको घटनाबारे केही उल्लेख नगरी एन्फालाई राजीनामापत्र पठाएका हुन् ।
एन्फाले उनको राजीनामा स्वीकृत गरेकौ छैन । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ अमेरिकामा छन् । नेम्वाङ आएपछि मुख्य प्रशिक्षकको राजीनामाबारे छलफल हुने एन्फा स्रोतले बताएको छ । ‘अध्यक्षज्यू अमेरिकामा हुनुहुन्छ । उहाँ आएपछि यसबारे छलफल हुन्छ,’ एन्फा स्रोतले भन्यो, ‘एक साताभित्र छलफल गरेर निर्णयमा पुग्छौँ ।’ एन्फाले मुख्य प्रशिक्षक वाइल्डलाई आफ्नो निर्णय पुनर्विचार गर्न एक साताको अवधि दिएको छ ।‘प्रशिक्षक वाइल्डलाई एक साताको समय दिएका छौँ । त्यसपछि के गर्ने भन्नेबारे एन्फा कार्यसमिति बैठकले औपचारिक निर्णय गर्नेछ,’ स्रोतले भन्यो, ‘उहाँसँग एक वर्षको सम्झौता छ ।’
कप्तान छनोटबारे विवाद
एएफसी एसियन कप छनोटअन्तर्गत उज्वेकिस्तानमा भएको खेलमा कप्तानीको विषयमा विवाद भएपछि एन्फाका अफिसियल र मुख्य प्रशिक्षक वाइल्डबिच विवाद भएको थियो । वाइल्डले कप्तानको नाम नदिँदा नेपाली टोलीका अफिसियलले आयोजकलाई रेनुका नगरकोटीलाई कप्तानसहित टोलीको नाम दिएका थिए । लाओसविरुद्धको पहिलो खेलमा नेपाली टोली मैदानभित्र प्रवेश गर्दा मुख्य प्रशिक्षक वाइल्डले स्ट्राइकर सावित्रा भण्डारीलाई कप्तानीको जिम्मेवारी दिए ।
यसै विषयमा मुख्य प्रशिक्षक र अफिसियलबिच विवाद भएको हो । नेपाली टोली फर्केपछिको एन्फाका अफिसियल र टोलीले पत्रकार सम्मेलन गर्दै उज्वेकिस्तानमा भएको घटनाको सबै दोष मुख्य प्रशिक्षक वाइल्डलाई लगाए । उज्वेकिस्तानमा पुगेको नेपाली टोलीकी हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ, व्यवस्थापक विन्द्रा देवान र सहायक प्रशिक्षक राजेन्द्र तामाङसहितले पत्रकार सम्मेलनमा वाइल्डले लगाइएका आरोपलाई खण्डन गरेका थिए ।
२२ जेठमा नियुक्त
एन्फाले पहिलोपटक प्रो लाइसेन्सप्राप्त वाइल्डलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त दिएको थियो । एन्फा र उनीबिच एक वर्षको सम्झौता भएको छ । तर, पछिल्लो विवादका कारण उनले कार्यभार सम्हालेको दुई महिना बित्न नपाउँदै पदबाट राजीनामा दिएका छन् । अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउन नसकेपछि नेपाली टोली घर फर्किंदा वाइल्ड आएनन् । उनी उज्वेकिस्तानबाटै बेल्जियम फर्केका थिए ।