मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३ शनिबार
  • Saturday, 19 July, 2025
२o८२ श्रावण ३ शनिबार १३:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ऐनापहरामा ‘स्काई वाक’ सञ्चालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ३ शनिबार १३:१२:oo

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा साहसिक स्काई वाक आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । 

गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएको थियो । स्काई वाकका लागि प्रतिव्यक्ति रु. २५० शुल्क तोकिएको छ । 

ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित गाउँपालिकाले स्काई वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। रु. १५ लाखको लगानीमा स्काई वाक निर्माण गरिएको हो ।

कुल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काई वाकको प्रत्येक पाइला बिचमा एक फिटको खाली स्थान राखिएको छ । उनले भने, 'स्काई वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बिचमा एक अनौठो साहसिक अनुभव गर्न सकिनेछ। सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन।'

यस ठाउँ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेको रहेकाले यहाँ पूर्वाधार थप गरिएको उनको भनाइ छ । स्काई वाकले यहाँको पर्यटन विकास र साहसिक गतिविधिका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । 

पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँ पर्यटकको घुम्ने गन्तव्यको रूपमा विकास भएको छ । बिदा र शनिबार दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी गाउँपालिका–२ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए ।  

ढुंगामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको उनले बताए । उनले भने, 'गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा अगाडि बढाएको छ । राजमार्गसँगै जोडिएकाले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ ।'

ऐनापहराबाट गाउँपालिकाले रु. ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ । राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलको रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ ।

यहाँ झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरनानजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृंखला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । 

ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न आयोजनाको विस्तृत प्रतिवेदनअनुसार रु. १० करोड बजेट आवश्यक पर्छ । प्रतिवेदनअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ।