
रोल्पाको त्रिवेणी गाउँपालिका–२, सेराबाङका मनिराम घर्तीमगर व्यावसायिक बंगुरपालनबाट राम्रो आम्दानी हुन थालेपछि थप हौसिएका छन्। एक करोड रुपैयाँ बढी एकल लगानी रहेको उनको ‘सेराबाङ बंगुरपालन फर्म’ अहिले जिल्लामै नमुना फर्मको रूपमा परिचित छ। मनिरामकी आमाले परम्परागत रूपमा बंगुरपालन गर्दै आएकी थिइन्। बजारको अध्ययन, प्राविधिक सिप तथा ज्ञान आर्जन गरेर व्यावसायिक फर्म सुरु गरेका मनिराम ‘गरे सम्भव छ’ भन्ने राम्रो उदाहरण बनेका छन्। करिब १० वर्षयता व्यावसायिक बंगुरपालन व्यवसाय गर्दै आएका उनले बजारको अवस्था हेरेर आफैँ अघि बढाउने सोचेको बताउँछन्।
वार्षिक २५ लाख आम्दानी
जिल्लाकै अगुवा कृषकका रूपमा रहेका मनिरामको फर्ममा अहिले ५० वटा माउ बंगुर छन् भने चारवटा भाले बंगुर र सयौँ पाठापाठी छन्। ‘मसँग अहिले कति पाठापाठी छन् भन्ने यकिन छैन,’ मनिराम भन्छन्, ‘दैनिक थपिने, घट्ने भइरहने भएकाले गन्ती नै गरिँदैन।’ फर्मबाट वार्षिक रूपमा करिब ९ सय पाठापाठी बिक्री गर्ने गरेको उनको भनाइ छ। जसमा प्रतिपाठापाठी ६ हजारका दरले बिक्री हुन्छन्। केही साताअघि मात्र चारवटा ठुला बंगुर बेचेका उनले वार्षिक ६० लाखको कारोबार गर्छन्।
‘मेरो वार्षिक कारोबार ६० लाखभन्दा बढी छ,’ मनिरामले भने, ‘त्यसमध्ये २० देखि २४ लाख मेरो चोखो आम्दानी (नाफा) हुन्छ, अन्य रकम खोर व्यवस्थापन, दाना किन्नेलगायतमा खर्च हुन्छ।’ ल्यान्डेस र ड्युरो जातका बंगुर पालेका उनलाई अहिलेसम्म कुनै रोगव्याधी तथा समस्या परेको छैन। शिक्षण पेसामा समेत संलग्न उनको फर्ममा उनकी श्रीमतीसहित अर्का एकजना तलबमा कर्मचारी छन्।
आधा बंगुर जिल्लामै खपत
बंगुरको मासु तथा पाठापाठीहरू आधा जिल्लाभित्रै खपत हुन्छ भने आधा जिल्लाबाहिर निर्यात हुन्छ। फर्म सञ्चालक मनिराम घर्तीमगरका अनुसार काठमाडौं, पोखरा, बुटवल, नवलपरासी, दाङलगायतका ठाउँहरूमा बंगुर तथा पाठापाठी पुग्ने गरेका छन्। ‘मुख्यतः मैले पाठापाठी उत्पादनमै जोड दिएको छु, राम्रो पाठापाठी उत्पादन गर्न सकिए खपतको समस्या हुँदैन,’ उनले भने।
गर्भवती, सुत्केरी, पाठापाठीसँग माउको वार्डलगायत विभिन्न अवस्थाका बंगुर बस्ने छुट्टाछुट्टै खोरको व्यवस्था गरिएको छ। जसका कारण पाठापाठी हुर्कन र माउको व्यवस्थापनमा सहज हुने गरेको छ। बंगुरको पाठापाठी ४५ दिनमा बिक्रीका लागि तयार हुन्छन्। बंगुरपालक व्यवसायीहरूले आफ्नो खोरबाटै पाठापाठी लैजाने गरेको उनको भनाइ छ। उनले जिल्लाभित्र त्रिवेणी, परिवर्तन, थबाङसँगै आफ्नै छरछिमेकमा पनि पाठापाठी बिक्री गर्ने गरेका छन्।
उत्कृष्ट कृषकका रूपमा पुरस्कृत
मनिरामलाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाकै उत्कृष्ट कृषकका रूपमा पुरस्कृत गरेको छ। जिल्लाकै ठुलो बंगुर फर्मको रूपमा रहेको सेराबाङ बंगुरपालन फर्मलाई थप प्रोत्साहनका लागि पुरस्कृत गरिएको विज्ञ केन्द्रका प्रमुख डा. शंकर न्यौपानेले बताए।
सुरुमा युट्युबमा हेरेर व्यवसाय थालनी गरेका उनलाई जिल्लास्थित साबिकको पशुसेवा कार्यालयले १० लाख आर्थिक सहयोग गरेको थियो। त्यसपछि पशुसेवा विज्ञ केन्द्र स्थापना भएपछि २ लाखको पूर्वाधार निर्माणमा सहयोग गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. शंकर न्यौपानेले बताए। गत वर्ष मात्रै केही खोप कार्यक्रम, प्रविधि प्रदर्शन तथा केही औषधीहरू सहयोग गरेको उनको भनाइ छ। त्यसका साथै १ लाखबराबरको अटोमेटिक फिडर, ड्रिंकर र औषधि उपलब्ध गराएको न्यौपानेले बताए।
जिल्लामा ८४ वटा व्यावसायिक बंगुर फर्म दर्ता छन्। आर्थिक वर्ष ०८१/८२ को तथ्यांकलाई हेर्दा बंगुरको संख्या १४ हजार ४३६ वटा रहेको छ। उक्त आर्थिक वर्षमा ६२ वटा बंगुरको बिमा भएको छ।