मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
२o८२ श्रावण १ बिहीबार १३:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिपी राजमार्ग साउनभर साँझ पाँच बजेदेखि बिहान पाँच बजेसम्म बन्द हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८२ श्रावण १ बिहीबार १३:३३:oo

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली सीमा नेपालथोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ । 

कार्यालयले सार्वजनिक अपिल गर्दै मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपतजन्य घटना हुन सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा आजदेखि साँझ पाँच बजेदेखि बिहान पाँच बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको हो । काठमाडौंबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। 

उनका अनुसार मनसुनजन्य विपतबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६:३० बजेदेखि बिहान पाँच बजेसम्म करिब १० घण्टा १५ दिन तथा थप असार मसान्तसम्म सोही समयमा सडक सञ्चालनमा रोक लगाइएको थियो । यस अवधिमा काठमाडौंबाट जाने सवारीलाई काभ्रेको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो । 

 बितेका एक हप्ताको समयमा बाढीपहिरोले करिब चारपटक उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा सडक अवरुद्ध भइसकेको छ । गत साल असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ ।