मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
Invalid date format o८:१८:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्रमा उच्च योगदान पुर्‍याउने ३० व्यवसायीलाई सिआइपी अवार्ड

धेरै निर्यात गर्ने महिला निर्यातकर्ता रइसा टिवडेवाललाई पनि अवार्ड

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१८:oo

सरकारले उद्योग–व्यवसायमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएबापत ३० जना व्यवसायीलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ अर्थात् (सिआइपी) सम्मान तथा सुशोभन प्रदान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा बुधबार काठमाडौंमा भएको विशेष कार्यक्रममा विभिन्न विधाका ३० जना व्यवसायी तथा प्रतिष्ठानलाई सिआइपी सम्मान प्रदान गरिएको हो । 

सरकारले ०७६ यता हरेक दुई वर्षमा व्यवसायीहरूलाई यस्तो सम्मान प्रदान गर्दै आएको छ । विगतमा २५ जनालाई यस्तो सम्मान गरिएकोमा यसपालि स्टार्टअपलाई समेत समावेश गरेर ३० जनालाई सिआइपी सम्मान गरिएको छ ।  

व्यवसायीका प्रतिनिधिमूलक संस्थातर्फ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल रहेका छन् । 

यस्तै, नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरे, नेपाल छुर्पी व्यवसायी संघका अध्यक्ष रेशमबहादुर पोखरेल, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे र नेपाली ऊनी फेल्ट उत्पादक तथा निर्यातकर्ता संघका नरेशलाल श्रेष्ठलाई सिआइपी सम्मान दिइएको छ । 

यस्तै, निर्याततर्फ थर्ड आई इन्टरनेसनलका प्रोपाइटर छेवाङ डन्डुल लामा, नेपाल फेसन प्रालिका पबन्ध निर्देशक हरिप्रसाद भट्ट, नेसलन एक्पोर्टस् प्रालिका सञ्चालक चन्द्रबहादुर थापा, मनराम हिमालयन हेन्डिक्राफ्ट प्रालिका प्रबन्ध निर्देशक सुरजकुमार श्रेष्ठ र ट्राइकोट इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक शक्तिकुमार गोल्यानलाई पनि सिआइपीमा सम्मान दिइएको छ । 

भारततर्फ धरै निर्यात गर्ने डावर नेपाल प्रालिका व्यापार प्रमुख हरकिरतसिंह वेदी, दोस्रोमा आरती स्ट्राइप्सका सिनियर महाप्रबन्धक दिव्यराज सापकोटा र तेस्रोमा रिलायन्स स्पिनिङ मिल्सका प्रबन्ध सञ्चालक अक्षय गोल्यानलाई सिआइपी सम्मान प्रदान गरिएको छ । 

यस्तै, चीनतर्फ धेरै निर्यात गरेका आधारमा पहिलोमा छोमेन ट्रेडर्सका प्रोपाइटर पासाङ शेर्पा, दोस्रोमा फिन्जो सोनाम इन्टरप्राइजेजका मेनेजर कर्मा छोडुप गुरुङ र तेस्रोमा अष्ठमंगलका प्रोप्राइटरका उर्गेन लामालाई पनि सिआइपी सम्मान प्रदान गरिएको छ ।

यस्तै, हस्तकला वस्तुको धेरै निर्यात गर्ने गिफ्टल्यान्ड इन्टरप्राइजेज प्रालिका सञ्चालकका पद्मरत्न धाख्वालाई पनि सिआइपी सम्मान प्रदान गरिएको छ । जडीबुटीतर्फ धेरै निर्यात गर्ने नेपाल एभरेस्ट कार्डामम प्रडक्सनका अध्यक्ष ओमकृष्ण विमिल र एबी हर्बल ट्रेडर्स एन्ड सप्लायर्सका प्रोप्राइट जनकराज अवस्थीलाई पनि सम्मान गरिएको छ । 

यसैगरी, सबैभन्दा निर्यात गर्ने महिला निर्यातकर्तातर्फ जनकपुर रिफाइनरीका सञ्चालक रइसा टिवडेवाललाई सम्मान गरिएको छ । 

यस्तै, तेस्रो मुलुकतर्फ एक अर्ब रुपैयाँभन्दा बढीको निर्यात गर्ने द सांग्रिला कार्पेट एन्ड ह्यान्डिक्राफ्ट इन्डस्ट्रिजका अध्यक्ष दोर्जे ग्याल्छेन लामा, एभरेस्ट फेसनका प्रमुख कार्यकारी अधिकृत महेश्वर श्रेष्ठ र त्रिवेणी स्पिनिङ मिल्सका अध्यक्ष रामचन्द्र संघाईलाई पनि सिआइपी सम्मान प्रदान गरिएको छ । 

यस्तै, स्टार्टअपतर्फ माइन्डफुल क्राफ्ट प्रालिका प्रबन्ध निर्देशक कुवेर सापकोटा सम्मान गरिएको छ । रेमिट्यान्सतर्फ आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाल र पर्यटनतर्फ एभरेस्ट हस्पिटालिटी होटेलका प्रबन्ध सञ्चालक गौरव अग्रवाललाई सिआइपी सम्मान प्रदान गरिएको छ ।

सिआइपी अवार्ड व्यवसायीहरूलाई प्रोत्साहन गर्न विश्वका अधिकांश मुलुकमा प्रदान गरिँदै आएको छ । नेपाल सरकारले ०७६ यता दुई–दुई वर्षमा यस्तो सम्मान निजी क्षेत्रका व्यवसायीलाई प्रदान गर्दै आएको छ । यस्तो सम्मान पाउने व्यक्तिले विभिन्न सुविधा पाउँछन् । दिवेशी मुलुकमा यस्ता व्यक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलमा डेडिकेटेड लाउन्ज (कक्ष) बनाइएको हुन्छ । हवाई टिकट ‘इकोमिक क्लास’ भए पनि बोर्डिङ पास लिने वेलामा ‘बिजनेस क्लास’सरहको सुविधा दिइन्छ । बिजनेस क्लास सिट खाली भएको अवस्थामा पनि सिआइपी अवार्ड पाएका व्यक्तिहरूलाई राखिन्छ । साथै, सरकारी सेवा–सुविधा पनि विभिन्न सुविधा दिइन्छ । यसले निजी क्षेत्रलाई व्यापार–व्यवसायमा थप प्रोत्साहन गरेको हुन्छ । 

नेपालको हकमा सिआइपी सम्मान पाएका व्यक्तिलाई भने सुविधा सीमित छन् । उनीहरूलाई नेपालको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबारमा प्रवेश गर्न रोकतोक हुँदैन । अन्तर्राष्ट्रिय विमानस्थलको आगमनमा छुट्टै डेडिकेटेट लाउन्ज बनाइएको छ । सरकारले यीलगायतका विभिन्न सुविधा सिआइपीबाट सम्मानित व्यक्तिहरूलाई दिँदै आएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिआइपी सम्मानले व्यापार–व्यवसायमा निजी क्षेत्रलाई थप प्रोत्साहन मिल्ने बताए । उद्योग तथा व्यापारलाई थप प्रवर्द्धन गर्न सरकार र निजी क्षेत्रसँगसँगै अघि बढ्ने उनको भनाइ छ । 

‘यो केवल सम्मान मात्रै होइन, । अबको दायित्व र जिम्मोवारीको प्रयास पनि हो । उद्योग व्यापार क्षेत्रको विस्तार बढाउनका लागि पनि हो,’ उनले भने, ‘साथै, काम गर्दा राज्यले सहयोग, सम्मान र सहकार्य गर्छ भन्ने सन्देश पनि यसले दिएको छ । यसले व्यवसायी गर्न थप प्रोत्साहन मिल्छ । यो सफलता व्यवसायीहरूको मात्रै नभएर समग्र मुलुकको पनि हो ।’

यस्तै, अर्थतन्त्रमा देखिएका वर्तमान समस्या समाधान गर्ने गरी सरकार अघि बढेको उनले बताए । यस्तै, मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले अबका दिनमा सरकार र निजी क्षेत्रको समन्वयन तथा सहकार्य अघि बढाउने बताए । ‘निजी क्षेत्रको योगदानविना समृद्धि सम्भव छैन । निजी क्षेत्रलाई थप प्रोत्साहन गर्दे अघि बढ्नेछौँ,’ उनले बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो सम्मानका कारण निजी क्षेत्रलाई प्रोत्साहन मिल्ने बताए । ‘यसलाई अझ व्यवस्थित बनाउन सरकारले सिआइपी डे नै घोषणा गर्नुपर्छजस्तो लाग्छ । निजी क्षेत्रलाई सहयोग गर्न सरकारले कन्जुस्याइँ गर्नुहुन्न । व्यावसायिक गतिविधि बढाउन प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘त्यसको नतिजा सकारात्मक नै आउनेछ । त्यो भयो भने आगामी दिनमा सिआइपी सम्मान पाउने व्यक्तिको संख्या पनि बढ्ने छ ।’

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले यो पुरस्कारले निजी क्षेत्रलाई प्रोत्साहन मिल्ने बताए । ‘०७६ यता सरकारले यो कार्यक्रम गर्दै आएको छ । यसले उत्पादन, निर्यात बढाउन सहयोग पुग्छ । यो कार्यक्रम गर्न लागेपछि निर्यात बढेको अवस्था पनि छ,’ उनले भने, ‘समग्रमा यसले निजी क्षेत्रको मनोबल बढाएको छ ।

यो सम्मान मात्रै होइन, जिम्मेवारीको प्रयास पनि हो : दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री
यो केवल सम्मान मात्रै होइन, दायित्व र जिम्मेवारीको प्रयास पनि हो । उद्योग–व्यापार क्षेत्रको विस्तार बढाउनका लागि पनि हो, साथै काम गर्दा राज्यले सहयोग, सम्मान र सहकार्य गर्छ भन्ने सन्देश पनि यसले दिएको छ । यसले व्यवसाय गर्न थप प्रोत्साहन मिल्छ । यो सफलता व्यवसायीहरूको मात्रै नभएर समग्र मुलुकको पनि हो ।