मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o५:५५:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : मृत्युपछिको चिन्ता किन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५५:oo

एकपटक बुद्ध आफ्ना शिष्यका साथमा संवादमा व्यस्त थिए । उनीहरू बुद्धसित अनेक प्रश्न सोधिरहेका थिए । बुद्ध पनि यथोचित उत्तर दिएर उनीहरूको जिज्ञासा शान्त बनाइरहेका थिए । यसै क्रममा एक शिष्यले उनलाई सोधे– भगवान्, तपाईंले आजसम्म हामीलाई धेरै कुराको ज्ञान दिएर बाटो देखाउनुभएको छ । हामी पनि हजुर जस्तो महान् गुरुका शिष्य बन्न पाउँदा धन्य भएका छौँ । तर, हजुरले आजसम्म हामीलाई मानिसको मृत्युपश्चात् के हुन्छ भन्ने विषयमा केही पनि बताउनुभएको छैन । यस विषयमा केही जान्न पाए हुन्थ्यो प्रभु !

उनको जिज्ञासा सुनेर बुद्ध मन्दमन्द मुस्कुराए । एकैछिन मौन रहे । एकछिनपछि गम्भीरतापूर्वक उनले भने– हो त हगि, मैले यसबारे तिमीहरूलाई केही पनि बताएको छैनँ । ठिकै छ आज म तिमीहरूलाई यसबारे बताउँछु । तर, यसबारे बताउनुअघि तिमी मेरो एक प्रश्नको जवाफ देऊ है ! उनका शिष्यले भने– आज्ञा होस् प्रभु !

बुद्धले भने– एकजना मानिस सुनसान जंगलको बाटो कतै जाँदै थियो । अचानक कतैबाट आएर एउटा विषालु वाण उसको शरीरमा घुस्यो । यस्तो अवस्थामा उसले तत्काल के गर्नु उचित हुन्छ ? पहिले शरीरमा घुसेको वाण हटाउनु ठिक हुन्छ कि त्यो वाण कसले चलाएको थियो, कताबाट आएको थियो र कसलाई लक्ष्य गरेर चलाइएको थियो, त्यो पत्ता लगाउनु उचित हुन्छ ? प्रश्नकर्ता शिष्यले जवाफ दिए– उसले सबैभन्दा पहिले शरीरमा घुसेको वाण निकाल्नुपर्छ । अन्यथा, वाणको विष पूरै शरीरमा फैलिएर उसको ज्यानै पनि जान सक्छ । 

शिष्यको जवाफ सुनेपछि मन्द मुस्कुराउँदै बुद्धले भने– तिमीले बिल्कुलै ठिक भन्यौ । अब तिमी मलाई अर्को एउटा प्रश्नको जवाफ देऊ । हामीले सबैभन्दा पहिले यस जीवनका दु:खको निवारणको उपाय खोज्नु ठिक हुन्छ कि मृत्युपछि के हुन्छ भनेर टाउको दुखाउनु ठिक होला ? बुद्धको प्रश्न सुनेपछि शिष्यको जिज्ञासा शान्त भयो ।