
अर्जेन्टिनी कप्तान लिओनल मेसीले मेजर लिग सकर (एमएलएस)मा नयाँ रेकर्ड राखेका छन् । मेसीले लगातार पाँचौँ खेलमा एकभन्दा बढी गोलको कीर्तिमान बनाएका हुन् । यसअघि उनले लगातार चार खेलमा एक गोलभन्दा बढी गोलको रेकर्ड राखेका थिए ।
उनले आफ्नै रेकर्ड तोडेका छन् । मेसीकै उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले न्यासभिललाई २–१ ले पराजित गर्यो । सो खेलमा उनले दुई गोल गरेका थिए । खेलको १७औँ मिनेटमा मेसीले सटीक फ्रिकिक गोल गरेका थिए । खेलको ६२औँ मिनेटमा उनले मियामीका लागि विजयी गोल ठोके ।
लिगमा उनले १६ खेलमा १६ गोल गर्दै एमएलएसको सर्वाधिक गोलकर्ताको सूचीमा न्यासभिलकै साम सरिजसँग बराबरीमा छन् । मेसीले कीर्तिमानी बनाउने क्रममा पाँचै खेलमा समान दुई गोल गरेका छन् । यो जितसँगै मियामी पूर्वी क्षेत्रको अंकतालिकाको अग्र स्थानमा छ ।