
बाढी पहिरोका कारण शनिवार देशभरका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढी पहिरोका कारण पाँच वटा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने चार सडक खण्ड एकतर्फी सुचारु भएको छ ।
सङ्खुवासभामा कोशी राजमार्ग, रसुवामा चीनको नाका जोड्ने पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग तथा रुकुम पश्चिम र डोल्पामा भेरी करिडोरका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन्।
यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही सडक खण्डमा भने पहिरो पन्छाएर एकतर्फी यातायात सुचारु गरिएको छ। बागलुङ र गुल्मी भएर जाने कालीगण्डकी करिडोर तथा रोल्पाको शहीद राजमार्गमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्।
प्रहरीले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी राखेको र यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।